मान्छेलाई तन्दुरूस्त र फुर्तिलो राख्न सघाउने व्यायामशालाहरू हिजोआज आफैं कुँजिएका छन्। कोरोना सर्ने डर बढेपछि मान्छे जिम जान छाडे। मान्छे नै नआएपछि सरकारले भन्नुअगाडि नै अघोषित लकडाउनमा परे फिटनेस सेन्टरहरू।
केही दिनयता लकडाउन खुकुलो भएपछि काठमाडौंमा व्यापार-व्यवसाय विस्तारै सामान्य अवस्थामा फर्कन थालेका छन्। सार्वजनिक यातायात र ट्याक्सी सेवा पनि चलिसके। सहरभित्रकै जिमखानाजस्ता सेवाले भने अझै खुल्ने अनुमति पाएका छैनन्।
लगभग आधा वर्ष नै व्यवसाय बन्द हुने भएपछि अब फिटनेस सेन्टरहरू सधैं बन्द गर्नुपर्ने हो कि भन्ने चिन्ता सञ्चालकहरूलाई छ।
यिनैमध्ये एक हुन्, प्रकाश प्रजापति।
ताहाचलमा 'कम्फर्ट जिम' सञ्चालन गर्दै आएका प्रकाशलाई लकडाउनकै कारण आफ्नै फिटनेस सेन्टर बोझ हुन थालेको छ।
'फागुनबाट सिजन सुरू भएर बल्ल जिम चल्न थालेको थियो, एक महिनामै बन्द गर्नुपर्यो। कहिलेसम्म बन्द गरिराख्ने हो थाहा छैन,' प्रकाशले समस्या सुनाउँदै भने, 'अस्ति एकदिन त सधैंलाई बन्द गरिदिनुपर्यो भनेर पनि सोचेँ।'
२५ वर्षभन्दा बढी समय जिम उपकरणसँगै बिताएका प्रकाशले आफैं व्यवसाय सुरू गर्ने निर्णय गरेर पाँच वर्षअघि ताहाचलमा जिम खोलेका हुन्। तर, चार महिनायताको लकडाउनले उनको व्यावसायिक लय बिथोलिदियो।
खुल्ने समय निश्चित नभएपछि व्यवसाय पूर्ण बन्द गर्ने कि यसै घरभाडा तिरिरहने, प्रकाशले निधो गर्न सकेका छैनन्। २५ औं वर्ष काम गरिरहेको व्यवसाय छाडेर अगाडि के गर्ने भन्ने योजना उनीसँग छैन।
'२५ वर्ष यही क्षेत्रमा काम गरियो। कति अर्काको काम गर्ने भनेर आफ्नै पनि खोलियो। समस्या पर्दा बन्द गरिहाल्न पनि सुहाउँदैन भनेर आफैंलाई सम्झाएँ,' प्रकाश भन्छन्, 'आपत पर्यो भन्दैमा बन्द गर्ने हो भने त देश-विदेश गएर सिप सिकेको मतलबै भएन नि।'
गर्मी महिनाका ६ महिना जिम सञ्चालनको 'पिक सिजन' मानिन्छ। दसैं-तिहारसँगै चिसो मौसम सुरू हुनाले जिम जानेको संख्या घट्ने प्रकाश बताउँछन्। सिजन आउनासाथ रोकिएको व्यायामशाला सिजन सकिने बेलासम्म पनि चलाउन नपाउँदा चिन्ताले छोपेको छ उनलाई।
एकाध सेवाग्राहीको मागपछि उनले लकडाउनबीच केही दिन जिम खोलेका थिए। तर, छिमेकीले प्रहरीलाई खबर गरिदिएकाले तुरुन्तै बन्द गरेको उनी बताउँछन्। यसका बाबजुद साता दिनयता उनका नजिकका साथीभाइ जिम आउन थालेका छन्।
'अस्ति दुई-चार दिन खोलेको, प्रहरीले थर्काइहाल्यो। अहिले हप्ता दिन भयो, आठ-दस जना आउँछन्,' प्रकाश व्यावसायिक स्थिति बताउँछन्, '४० जनाको क्षमता भएको हलमा १० जना आउन थालेपछि के बिजनेस गराई भयो र! यो त बन्द बराबर नै हो।'
उनी थप्छन्, 'चाडपर्व आउँछ, मान्छे गाउँ जान्छन्, यहाँ भएका व्यस्त हुन्छन्। लगत्तै जाडो माहिनामा जिम आउन रूचाउँदैनन्। सिजनमा चलाउन नपाएपछि यसै पनि घाटा पर्छ। अब फेरि अफसिजन सुरू हुन लाग्यो। कति भाडा मात्र तिरिरहने?'
फिटनेस सेन्टर सञ्चालनमा प्रकाशले मासिक ५० हजारभन्दा धेरै भाडा तिर्दै आएका छन्।
सामान्यतया जिमका सेवा-सुविधाअनुसार ग्राहकसँग मासिक एक हजारदेखि चार हजार रूपैयाँसम्म शुल्क लिइएको हुन्छ। धेरै सेवाग्राहीको भरमा थोरै शुल्कले पनि भाडा तिर्ने र जिम व्यवस्थापन गर्ने सोच बुनिएको हुन्छ। बन्द गर्नुपरेपछि यो समस्याले धेरै जिम सञ्चालकलाई सताएको छ।
प्रकाशको भन्दा फरक समस्या झेलिरहेका छन्, 'द फिजिक वर्कसप' का सञ्चालक सुशान्त प्रधान।
सात वर्षअघि कुमारीपाटीमा उनले फिटनेस सेन्टर सञ्चालनमा ल्याए। व्यवसाय राम्रो हुँदै जाँदा सुशान्तले पाँचवटा जिम सेन्टर चलाइरहेका छन्। तर चलाइरहेको भन्न गाह्रो भएको उनी बताउँछन्।
'चलाइरहेको छु पनि के भन्नु, चार महिनादेखि बन्द छ,' सुशान्तले भने, 'सञ्चालनको पहिलो वर्ष नै बन्द गर्नुपर्ने अवस्था आएपछि तनावमा छु।'
व्यवसाय राम्रो हुँदै गएपछि गत वर्ष उनले तीन ठाउँ शाखा विस्तार गरेका थिए। तर यति ठूलो जोखिम मोल्नुपर्ला भन्ने सोचेकै थिएनन्। लगानी ठूलो चाहिने भएकाले फिटनेस सेन्टर खोल्नु आफैंमा जोखिमपूर्ण व्यवसाय भएको उनी बताउँछन्।
'यो व्यवसाय आफैंमा चुनौती हो। औजार र उपकरणमा धेरै खर्च हुन्छ। हल पनि ठूलो चाहिन्छ। साथै बिजुली-पानी निर्वाध चालु हुनुपर्छ,' सुशान्त भन्छन्, 'व्यवसायको पहिलो वर्ष यसै पनि घाटा हुन्छ, अहिले त झन् बन्दै गर्नुपर्यो।'
योजना बनाएर व्यवसाय सुरू गरेकाले लकडाउनको नोक्सानीमा सुशान्त त्यति आत्तिएका भने छैनन्। तर यसरी नै अनिश्चित बन्द भइरहने हो भने पलायन हुनुपर्ने अवस्था आउने उनले बताए।
'कहिलेसम्म बन्द गरिरहने भन्ने हो। यी चार-पाँच महिनाको भर्पाइ हुन कम्तिमा दुई वर्ष लाग्छ,' सुशान्तले भने, 'जति नोक्सानी हुनु भइसक्यो, अब हामीलाई सरकारको ठोस निर्णय र समयको आवश्यकता छ।'
समास्या समाधानको बाटो खोज्दै उनले थपे, 'व्यवसायीलाई छुट दिन नसके पनि कर, बैंकको किस्ता, ब्याज, घरभाडा तिर्ने समय लम्ब्याउँदा हामीलाई ठूलो राहत हुन्छ।'
सबैखाले व्यापार-व्यवसाय सञ्चालनमा आइसकेपछि निश्चित क्षेत्रलाई मात्रै बन्देज लगाउनु अन्याय हुने उनको भनाइ छ। व्यक्ति आफैं सचेत नभएसम्म कुनै समस्या समाधान हुन सक्दैन। आफू सुरक्षित रहेर अरूलाई सुरक्षा दिन सकिने बाटो अपनाउनु अहिलेको आवश्यकता भएको सुशान्त बताउँछन्।
'हामी सबैलाई थाहा छ, लकडाउन दीर्घकालीन समाधान होइन। यो त आगामी योजना बनाउन लिइएको समय हो,' उनी भन्छन्, 'जिम सञ्चालन गर्ने समय थाहा नहुँदा सेवाग्राहीलाई दिने जवाफ पनि हामीसँग छैन। कुन योजनाले अघि बढ्ने?'
महामारीको समयमा व्यवसायी मात्र होइन, सेवाग्राही आफैं सचेत हुनुपर्ने सुशान्तको भनाइ छ। भन्छन्, 'कुनै एक पक्षको पहलमा मात्रै महामारी रोक्न सम्भव छ र? छैन भने हामीलाई मात्रै किन बन्द गरेको।'