कोरोनाभाइरसको महामारीलाई देखाएर मिडिया मालिकले पत्रकारहरूलाई जागिरबाट निकालेको, तलब नदिएको, तलब कटौती गरेको विरोधमा पत्रकारहरूले शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन्।
नेपाल पत्रकार महासंघको आयोजनामा शुक्रबार दिउँसो बबरमहलमा जागिरबाट निकालिएका पत्रकार र पत्रकारका विभिन्न १३ संगठनहरूले प्रदर्शन गरेको पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए।
प्रदर्शनमा आएकाहरूले ‘मेरा सम्पादकको मुटु छ मर्म छैन’, ‘सञ्चार गृहले कमाएको अर्बौं मुनाफा खोई’, ‘कोरोना कालको पहिलो महिनामै पत्रकारको बिचल्ली’, ‘मालिक भोज र तडकभडकमा पत्रकार भोकै सडकमा’ जस्ता लेखिएका नाराहरू लेखेका प्लेकार्ड बोकेका थिए।
‘हामीले ५१ मिडियामा गरेको सर्वेक्षणमा १५ प्रतिशत पत्रकार र कर्मचारीको जागिर गरेको पाएका छौं। तलब नपाउने, तलब कटौती हुने त झन् धेरै हुनुहुन्छ,’ महासंघका अध्यक्ष आचार्यले भने,‘मिडिया सञ्चालकलाई त्यसो नगर्न दबाब दिन प्रदर्शन गरेका हौं।’
उनले अब पत्रकारलाई तलब नदिने र जागिरबाट निकाल्ने मिडिया हाउसमै गएर संवाद गर्ने बताए।
‘एकातिर तलबको समस्या छ अर्कातिर सार्वजनिक सवारी नचलेकाले कति पत्रकारले अफिस आएर काम गर्न सकेका छैनन्,’ आचार्यले भने,‘त्यस्तो समस्या भएका पत्रकारलाई पनि मिडिया हाउसले काम गर्ने वातावरण बनाउनु पर्छ।’
अहिलेसम्म १५ वटा मिडिया हाउसका पत्रकारले आफ्नो जागिरमा समस्या भएको भन्दै महासंघमा निवेदन दिएको उनले जानकारी दिए।
यसरी निवेदन दिनेमा राष्ट्रिय स्तरका दैनिक पत्रिका, रेडियो र टेलिभिजन रहेको आचार्यले बताए।
‘स्थानीय पत्रिकामा सञ्चालक आफैं पत्रकार हुने भएकाले जागिरबाट निकाल्ने समस्या छैन। सामुदायिक रेडियोमा पनि खासै समस्या देखिएन। प्रदेशस्तरमा पत्रिका र राष्ट्रिय मिडियामा धेरै समस्या देखियो,’ उनले भने।
हेर्नुस् तस्बिर :