उर्जा विकास कार्यालय दैलेखका प्रमुखसहित चार जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।
बुधबार आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले कार्यालय प्रमुख इन्जिनियर टोपेन्द्र सुन्दर मल्ल, सव इन्जिनियर विरेन्द्र चन्द, रञ्जित श्रेष्ठ र सुपरभाईजर लक्ष्मी पाण्डेलाई नियन्त्रणमा लिएको हो।
दैलेखको भगवतिमाई गाउँपालिका–३ सानटडा खोलामा निर्माण भएको तटबन्धन योजनाको भुक्तानीमा सहजीकरण गरिदिने भन्दै घुस मागेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
निमित्त प्रमुख इन्जिनियर मल्ल र सव इन्जिनियर चन्दले घुस रकम माग गरेको उजुरी परेको थियो।
मल्ल र चन्दलाई नियन्त्रणमा लिएपश्चात गरिएको खानतलासीका क्रममा मल्लको आवासबाट २ लाख ४१ हजार १६ रुपैयाँ नगद बरामद गरिएको आयोगले जनाएको छ।
यो विषयमा अनुसन्धान गर्ने क्रममा सव इन्जिनियर रञ्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई पनि नियन्त्रणमा लिइएको आयोगको भनाइ छ।