कर्णाली प्रदेशमा पनि सलह देखिन थालेको छ। प्रदेशका सल्यान, रुकुम पश्चिम, जाजरकोट र सुर्खेतमा सलह कीरा देखा परेको कृषि मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ कृषि विज्ञ हरि पण्डितका अनुसार कर्णाली प्रदेश दाङ हुँदै कर्णाली प्रदेशका विभिन्न जिल्लामा सलह कीराको झुण्ड प्रवेश गरेको हो। सलहको सानो झुण्डले सुर्खेतको दशरथपुर क्षेत्रमा केही प्रभाव पार्न थालेको उनले बताए।
‘खासै धेरै छैन, आएको सानो झुण्ड सुर्खेत लगायतका केही जिल्लामा पुगेको छ,’ पण्डितले भने, ‘सुर्खेतको दशरथपुर क्षेत्रतिर थोरै प्रभाव देखिन थालेको छ, त्यति धेरै प्रभाव भने अहिलेसम्म देखिएको छैन।’
अहिले धानको ब्याड हुने भएकाले सलह कीराको जोखिम त्यसमा बढ्न सक्ने अनुमान गरिएको उनले बताए।
स्थानीयलाई थाली ठटाउने जस्ता क्रियाकलाप गरी सलह कीराबाट ब्याड बचाउन सुझाइएको उनले जानकारी दिए।
‘हाम्रो प्रदेशमा अरुभन्दा पनि धानको ब्याडमा सलहको प्रभाव पर्ने जोखिम छ,’ उनले भने, ‘हामीले कृषकहरूलाई थाली बजाएर ध्वनी निकाल्दै ब्याड बचाउन भन्ने सुझाव दिएका छौं, यसबारेमा अरु पनि हामीले छलफल गरिरहेका छौं।’
नियन्त्रणका लागि बजेट छुट्याउने तयारी
कर्णाली प्रदेशमा सलह कीराको प्रवेशसँगै यसको नियन्त्रका लागि बजेट छुट्याउने तयारी गरिएको छ। कृषि मन्त्रालयका प्रवक्ता पण्डितका अनुसार बजेट विनियोजन गर्ने विषयमा पनि छलफल भइरहेको छ।
‘यसको नियन्त्रणका लागि बजेट त छुट्याउनैपर्छ, तर कति कुन माध्यमबाट व्यवस्था गर्ने भन्ने बारेमा छलफल भइरहेको छ,’ पण्डितले भने।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले सलह धेरै आएमा क्विन्टलको परिमाण कीरा छोप्नेलाई पुरस्कृत गर्ने गरी छलफल भइरहेको बताइन्।
अहिले फाटफुट आएकाले ठूलै झुण्ड आएमा कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल चलिरहेको मन्त्री केसीले बताइन्।
‘एक किलो सलह छोपेवापत २० रुपैयाँ दिने सुदूरपश्चिमको जस्तो योजना हेर्दा खासै प्रभावकारी भएको देखिएन,’ उनले भनिन्, ‘हाम्रो प्रदेशमा सलह धेरै आइहालेमा बरु एक क्विन्टल भन्दा माथि कीरा जम्मा गर्नेलाई उचित पुरस्कार दिने कि भन्ने बारेमा छलफल चलिरहेको छ, छलफल सकिएको छैन।’
यस्तै किसानहरूलाई विषादी किनेर बालीहरूमा प्रयोग गर्न दिने, धानको ब्याडहरूमा झुल लगाउन दिने विषयमा पनि छलफल चलिरहेको मन्त्री केसीले जानकारी दिइन्।