कोरोना संक्रमणका कारण अनिश्चित बनेको ललितपुरको रातो मच्छिन्द्रनाथ (करूणामय) को रथयात्रा हुने भएको छ। सरकारले लकडाउन खुकुलो गरेपछि रथ निर्माण कार्य करिब दुई महिनापछि अर्थात असार १० गतेबाट सुरू भएको हो।
मच्छिन्द्रनाथ महास्नानको भोलिपल्टदेखि रथ बनाउने चलन छ। गत चैतको २७ गते मच्छिन्द्रनाथकाे निर्माण स्थान ताेकिए पनि लकडाउनका कारण काम हुन सकेको थिएन। लकडाउन खुकुलो भएसँगै नयाँ साइत निकालेर क्षमा पूजा गरेपछि पुल्चाेकमा निर्माण सुरू गरिएको हाे।
‘जेठको ९ गते नगरपालिकामा सर्वदलीय बैठक बसेको थियो। नगरप्रमुख, ज्यापु समाज, गुठी संस्थान तथा रथ बनाउने रकमीहरूसँग छलफल गरेर जात्रा गराउने कुरा भयो,’ रथ निर्माणका नाइके दिलकुमार बाराहीले भने, ‘अरू जात्रा जस्तो यो जात्रा यही मितिमा सुरू गर्नुपर्छ भन्ने छैन। दसैंअगाडि भने बुंगमतिमा पुर्याउनुपर्छ।’
बाराहीका अनुसार १५ दिनभित्र रथ निर्माण सक्ने परम्परा छ। काम छिटाे गरेर त्याेभन्दा चाँडै सम्पन्न गर्ने लक्ष्य राखिएकाे उनले बताए। शुक्रबारसम्ममा रथकाे दुई तला निर्माण भइसकेको छ। रथ यात्राकाे लागि पनि छुट्टै बैठक बसेर साइत निकाल्नु पर्ने उनले जानकारी दिए।
'काेराेना महामारीकाे कारण सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले पहिलेजस्ताे रमाइलाे भने नहाेला। तर अहिलेकाे समयमा जात्रा सम्पन्न गर्नु नै ठूलाे कुरा हाे,' उनले भने।
मच्छिन्द्रनाथलाई अन्न र सहकालका देवता मानिन्छ। वर्षकै लामो रथयात्रा मानिने यो जात्राले करिब १४ सय वर्ष पुरानो इतिहास बोकेको छ।
जात्रामा रथयात्रा गराइने मच्छिन्द्रनाथलाई भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त र ललितपुरका एक ज्यापूले भारतको आसामदेखि ल्याइएको किम्बदन्ती छ।
मच्छिन्द्रनाथको रथ ३२ हात (४८ फिट) अग्लो हुन्छ। यसमा ३२ वटा भगवान रहेका विश्वास गरिन्छ।