आत्महत्यापछि कोरोना भाइरस पुष्टि भएका दैलेखका युवाको शुक्रबार बिहान दाहसंस्कार गरिएको छ। नेपाली सेनाको सहयोगमा उनको शव गाडिएको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले जानकारी दिए।
जेठ ११ गते भारतको अहमदाबादबाट आएका दुल्लु नगरपालिका–१० का २१ वर्षीय ती युवकले मंगलबार आत्महत्या गरेका थिए। सोही दिन उनको स्वाब संकलन गरी पिसिआर गर्न सुर्खेत पठाइएको थियो। पिसिआर गर्दा उनमा कोरोना पोजेटिभ देखिएको मेयर भण्डारीले बताए।
भारतबाट आएलगत्तै दुल्लु नगरपालिकाको ज्वाला माविमा बनाइएको क्वारेन्टिनमा उनलाई १४ दिन राखिएको थियो। आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई जेठ २५ गते घर पठाइएको मेयर भण्डारीले बताए।
‘क्वारेन्टिनमा १४ दिन बसेपछि गरिएको आरडिटीमा कोरोना नेगेटिभ आएको थियो,’ मेयर भण्डारीले भने, ‘आत्महत्या गरेपछि गरिएको पिसिआरमा भने रिपोर्ट पोजेटिभ आयो, यसले समुदायमा पनि त्रास बढाएको छ।’
युवकले आत्महत्या गर्नुको कारणबारे भने केही खुल्न नसकेको उनले बताए।
छिमेकी ६० जनाको स्वाब संकलन गरिँदै
आत्महत्यापछि कोरोना पुष्टि भएका युवाको गाउँका ६० जनाको स्वाब संकलन गर्न लागिएको छ। ती युवा बस्ने वरपरका ६० जना छिमेकीको शनिबार स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि सुर्खेत पठाउन लागिएको मेयर भण्डारीले जानकारी दिए।
‘मृत्युपछि कोरोना पुष्टि भएका युवा बस्ने गाउँका ६० जनाको स्वाब संकलनको तयारी गरेका छौं,’ उनले भने, ‘शनिबार संकलन गरी परीक्षणका लागि सुर्खेतमा रहेको प्रयोगशालामा पठाउने हो, उनीहरुमा पोजेटिभ देखिए त्यस अनुसार अन्य व्यवस्था गर्नुपर्छ।’
समुदाय त्रसित
आत्महत्यापछि कोरोना पुष्टि भएका ती युवा बस्ने समुदायका मानिस त्रसित बनेका छन्। ती युवामा कोरोना पुष्टी भएपछि उक्त समुदायका मानिस आएर आफूलाई भेट्ने गरेको मेयर भण्डारीले जानकारी दिए।
‘त्यो गाउँका सय/डेढ सय मानिस आएर मलाई भेटेका छन्, यसले समुदायमा त्रास बढेको बुझ्न सकिन्छ’ उनले भने।