शंखमुल चोक अचेल अर्कै देखिन्छ। न यात्रु कुर्ने टेम्पोको लश्कर, न टेम्पो कुरेका यात्रुको भिड। लकडाउनयताका तीन महिना शंखमुल पुल नजिकैको टेम्पो स्ट्यान्डले सवारीसाधन, चालक र यात्रु 'मिस' गरिरहेजस्तो देखिन्छ।
लकडाउनअघि यो बाटोमा सयभन्दा बढी टेम्पो गुड्थे। नयाँ बानेश्वर चोक हुँदै जोरपाटी-आरुबारीसम्म पुगेर फर्कन्थे। ती टेम्पोका पाङ्ग्राले सयौं कामदारको जीविका चलाएको थियो।
सबेर ५ नबज्दै उठेर साँझ अबेरसम्म टेम्पो चलाएर परिवारको खर्च टार्नेमध्ये एक हुन्, लक्ष्मी थापा मगर।
टेम्पो स्ट्यान्ड नजिकै बस्ने उनी बिहान सधैं आधा घन्टा हिँडेर शान्तिनगर पुग्थिन्। त्यहाँको ग्यारेजमा राखेको आफ्नो ५३३४ नम्बरको टेम्पो निकाल्थिन्। त्यसपछि सुरु हुन्थ्यो, शंखमुलबाट एक दिन जोरपाटी र अर्को दिन आरुबारी हुँदै फेरि शंखमुलसम्मको यात्रा।
सानातिनो बिमार पर्दासमेत बल गरेर टेम्पो चलाउने उनी भन्छिन्, 'घरमा समय दिन भ्याइ-नभ्याइ हुन्थ्यो। दिनको दस ट्रिपसम्म गरिन्थ्यो।'
महिनामा औसत २५-३० हजार रूपैयाँसम्म कमाइ हुन्थ्यो।
उनको परिवारमा तीन छोरा, श्रीमान र ससुरा छन्। छ जनाको जहान चलाउने मुख्य आधार त्यही टेम्पोको कमाइ भएको उनी बताउँछिन्।
'कामधन्दा ठप्प छ। आम्दानीको अर्को बाटो छैन। कहिलेसम्म धान्न सकिएला खै,' चिन्ता पोखिन्।
नियमित खाने-बाँच्ने खर्चको पिर एकातिर छँदैछ। अर्कोतिर योभन्दा ठूलो समस्याले उनको मनमा ढ्यांग्रो ठोकिरहेको छ, साढे सत्र लाख ऋणको भार।
यो उनले एक वर्षभित्र लिएको ऋण हो। एक वर्षअघि टेम्पो किन्न सात लाख र पाँच महिनाअघि ब्याट्री किन्न साढे दस लाख।
'टेम्पो नचले पनि हरेक दिनको ब्याज तिर्नुपर्छ। काम नगरी कसरी तिर्ने, कहिले तिर्ने,' उनले दुःख पोखिन्।
सामान्य अवस्थामा यो ऋण ढिलोछिटो तिर्नसक्नेमा उनी ढुक्क थिइन्, 'तर लकडाउन कि के भन्छन् नि, त्यसले बर्बाद गर्यो।'
उनले दस वर्षभन्दा बढी साहुको टेम्पो चलाएपछि आफ्नै टेम्पो किनेकी हुन्। आफ्नै हुँदा काम गर्न सजिलो र आम्दानी पनि बढाउन सकिने भएकाले ऋण लिने आँटेकी थिइन्। साहुको कचकच र नियन्त्रणबाट दिक्क उनमा आफैं टेम्पो धनी हुने स्वभाविक रहर पनि थियो।
'आफ्नै टेम्पो हुनु भनेको कमाएको सबै पैसा आफैंले पाउनु थियो। सञ्चो-विसञ्चो र साह्रो-गाह्रोमा आफ्नै निर्णय लिनु थियो,' उनले भनिन्।
सफा टेम्पोमा प्रयोग हुने सस्तो ब्याट्री वर्षमा एक-दुई पटक फेरिराख्नुपर्छ। उनले भने पाँच वर्ष ढुक्क हुने बढी 'ब्याकअप' सहितको ब्याट्रीमा लगानी गरिन्। यो रकम उनलाई टेम्पो राख्ने ग्यारेजका साहुले १८ प्रतिशत ब्याजमा खोजिदिएका थिए। टेम्पो किन्न ऋण लिएको सहकारीको ब्याज योभन्दा दुई प्रतिशत कम छ।
आफूलाई 'क' पनि नपढेको निरक्षर बताउने लक्ष्मीलाई टेम्पोले आत्मनिर्भर बन्न ठूलो आधार दिएको छ। महामारी त्यो आधार खोसिने बहाना बन्ने हो कि भन्ने उनलाई डर छ।
दुःखका कुरा पनि हाँस्दै सुनाउने उनले भनिन्, 'बन्द खुलेन भने टेम्पो नै लैजाऊ, ब्याट्री नै लैजाऊ भन्ने त होला।'
रामेछाप, सुनपाती गाउँपालिका-२ की लक्ष्मी काठमाडौं आएको बीस वर्ष पुग्न लाग्यो। उनी काठमाडौं आउँदा ठूलो छोरा एक वर्षका थिए। अहिले कलेज पढ्ने भइसकेका छन्। आफू स्कुल नगए पनि सानैदेखि आफ्नै सिपको काम गर्नुपर्छ भन्ने सोच्थिन् लक्ष्मी। तर कुनै सिप थिएन।
केही महिना उनले अरूका घरधन्दाको काम गरिन्।
'तर कताकता हेपिएको, इज्जत नपाएजस्तो भयो,' भनिन्, 'काम लगाएर महिनाको पाँच सय रुपैयाँ दिन पनि ज्वरो आउला जस्तो व्यवहार गरेको मन परेन।'
त्यस बेला उनी पुरानो बानेश्वर बस्थिन्। त्यहीँ नजिकै सिलाई-बुनाई तालिम लिन थालिन्।
'तर त्यसमा गुणा, भागा गर्नुपर्ने रहेछ,' सानोमा अभिभावकले आफूलाई स्कुल पढ्न नपठाउनुको घाटा सुनाइन्, 'नपढ्ने मान्छेले राम्रो काम पाउन सक्दैन भन्ने बुझेपछि टेम्पो सिक्छु भन्ने निधो गरेँ।'
झन्डै बाह्र वर्षअघि पुरुषको तुलनामा कम भए पनि उनले आफूजस्तै महिलाले टेम्पो चलाएको देखेकी थिइन्। पुरानो बानेश्वरमै बस्ने टेम्पो चालक 'चन्द्र दाइ' को सहयोगमा उनी पनि सिक्न थालिन्।
'अरुको टेम्पो भएकाले सिक्ने समय एकदमै थोरै हुन्थ्यो। त्यसैले एक महिनाभन्दा बढी लाग्यो,' उनले भनिन्। अभ्यास नगरे पनि फुर्सद निकालेर चालकले कसरी चलाउँछन् भनेर अवलोकन गरिराख्थिन् रे!
एक दशकभन्दा धेरै समय काठमाडौंमा टेम्पो गुडाएकी लक्ष्मीले सुनधारा-तिनचुली, सुनधारा-सिनामंगल, सुनधारा-पुरानो बानेश्वरसम्मको रुटमा टेम्पो चलाइसकेकी छन्।
लकडाउन बिर्सिदिने हो भने, टेम्पो चलाएर आउने आम्दानीबाट उनको खाने र छोराछोरी पढाउने खर्च चलेको छ, 'आफू नपढे पनि छोराछोरी पढाउन पाउनु नै मेरो सबभन्दा ठूलो सन्तुष्टि हो।'
पढ्न नजाने पनि लक्ष्मी अचेल गाडीको नम्बर याद गर्न सक्ने भएकी छन्। चढ्ने-उत्रने मान्छेको भाडा जोड्ने बेला एकैपटक दुई-चार जना भए हतारमा हिसाब निकाल्न गाह्रो हुन्छ। त्यस्तो बेला उनी ग्राहककै भरमा चल्ने बताउँछिन्।
सुरूमा गाह्रो लागे पनि अहिले मोबाइल चलाउन सिकेको उनी खुसी हुँदै सुनाउँछिन्। फोन चलाउन सिकेकाले टेम्पो चालक साथीहरूसँग अप्ठ्यारो समयमा सुखदुःख साट्न पाएकी छन्।
अक्सर फोनमा उनीहरू एकअर्कालाई यो प्रश्न गर्न छुटाउँदैनन्, 'कहिलेसम्म यसरी बस्ने?'
छोराछोरी सबै घरमा भएपछि छिनछिनमा खान खोज्ने उनको अनुभव छ, 'कमाइ होस् नहोस्, ओर्कोफोर्को जे भए पनि आमा पैसा चाहियो भन्छन्। अलिअलि भएको पनि सकिइसक्यो।'
राजधानी र राजधानीबाहिर टेम्पो चलाएर जीवन चलाउने लक्ष्मीजस्तै श्रमिक सयौं छन्। टेम्पोबाहेक अरू सवारीसाधन चलाउने चालक हजारौं होलान्। यति बेला उनीहरू लक्ष्मीजस्तै आफ्नो पुरानो दैनिकीमा फर्कन आतुर छन्।
उनी अहिलेको अवस्थामा २०-२५ हजार आम्दानी भए र ऋणको ब्याज तिर्नु नपरे मात्रै पनि ठूलो राहत मिल्ने बताउँछिन्।
'हामी सबै रोग नफैलिओस् भनेर घरमा बसेको होइन र? सरकारको कुरा मान्दा पनि रोग फैलिन्छ भने दोष हाम्रो कि सरकारको,' उनले प्रश्न गरिन्।
अब त अत्ति भयो भन्दै ज्यालादारीमा भए पनि काम खोजिरहेकै बेला लकडाउन केही खुकुलो भयो। सामान्य चिया खाजाका पसल खुल्न थाले। उनी बस्ने छेउमै काका-काकी रामेछाप गएकाले उनीहरूको खाजाघर बन्द थियो।
अर्को विकल्प नहुन्जेल गत हप्तादेखि उनी यही खाजाघर खोल्न थालेकी छन्।
थोरै भए पनि आम्दानी हुने र समय काट्ने बहाना भेटाएकी उनले हाँस्दै सुनाइन्, 'अर्को विकल्प नहुन्जेल यो काम गरिराख्न पाए हुन्थ्यो।'
सरकारले फेरि कडाइ गर्दै लकडाउन लम्बाउन सक्छ भन्ने गाइगुइँ उनको कानसम्म पुगेको छ। त्यसैले अल्पकालीन यो विकल्पले राहत दिए पनि मुख्य चिन्ता कहिलेदेखि टेम्पो चलाउन पाइन्छ भन्नेमै छ।
लक्ष्मीले भनिन्, 'टेम्पो छुन नपाएर हातगोडा सक्सकाइसक्यो।'
सबै तस्बिरः प्रभाकर गौतम/सेतोपाटी