ईश्वर शर्मा घर खर्च टार्न बेलाबेला पैंचो लिएर काम चलाउँथे। सापटी लिनुपरे पनि कमाएर तिर्न सक्छु भन्नेमा उनी निश्चिन्त थिए।
दुई वर्षदेखि फिल्म क्षेत्रमा 'स्पट ब्वाइ'का रूपमा काम गर्ने उनी यति बेला अत्तालिएका छन्। लकडाउनमा ऋणको भार बढ्दै जाँदा उनको चिन्ता थपिँदै छ।
'स्थिति सामान्य बनेर सुटिङको काम सुरू हुन अझै महिनौं लाग्न सक्छ,' उनी चिन्ता पोख्छन्, 'त्यतिन्जेल कसरी बाँच्ने?'
लकडाउनअघि उनी झरना थापाको निर्देशनमा बन्ने 'ए मेरो हजुर-४' को छायांकन स्थलमा व्यस्त थिए। फिल्म टोलीले पोखराको छायांकन सकेर पाटन दरबार स्क्वायरमा काम गर्दै थियो।
ईश्वरको अनुभवमा, एउटा फिल्म सकिएपछि अर्को काम पाइहाल्न उनीजस्ता नयाँ स्पट ब्वाइलाई फिल्म उद्योगमा सजिलो छैन। तर यसपटक अर्को फिल्ममा काम गर्ने कुरा मिलिसकेको थियो।
'लकडाउनले भइरहेको काम मात्रै रोकिएन। अब के होला भन्ने डर पनि थपिदियो,' उनी मन दुखाउँछन्।
पहिले पहिलेको खाली समय उनलाई रमाइलो लाग्थ्यो। अहिलेको खाली समयमा उनी अनिश्चय र अन्यौल मात्रै देखिरहेका छन्। भन्छन्, 'यो आराम महँगो भइसक्यो। काम बिनाको फुर्सद र आरामभन्दा कामसहितको थकान मीठो थियो।'
'मिस्टर भर्जिन' फिल्मबाट काम सुरू गरेका उनले 'साइँली', 'सेन्टी भाइरस', 'आमा', 'घर', 'सरौतो'लगायत एक दर्जन बढी फिल्ममा काम गरिसकेका छन्। उनीसँग एक-दुइटा फिल्ममा ड्रेसम्यान असिस्टेन्टका रूपमा काम गरेको अनुभव पनि छ।
एउटा फिल्मको छायांकन अवधि कम्तिमा एक महिनाको हुन्छ। ईश्वरले औसतमा दिनको हजार-बाह्र सय पाउँछन्। एउटा फिल्मबाट तीस-चालीस हजार कमाइ हुन्छ। उनी भन्छन्, 'त्योबाहेक केही कलाकारले कामबाट खुसी भएर दुई-चार हजार पकेट खर्च पनि दिनुहुन्छ।'
यसरी आएको कमाइले श्रीमतीसहित उनको ज्यान धानिएको थियो। बेलाबेला दाङ घरमा आमाबुवालाई पनि पैसा पठाउन पाएका थिए।
लकडाउन लम्बिँदै जाँदा उनीसँग भएको नगदले खाने समस्या टार्न मुश्किल हुन थाल्यो। उनी समस्या सुनाउँछन्, 'कोठाभाडा तिर्ने पैसा जुटाउन धौधौ परिरहेको छ।'
कौशलटारमा उनी बस्ने कोठाको भाडा मासिक पाँच हजार छ। तीन महिनाको घरभाडा खप्टिएपछि एक जना दिदीसँग सापट लिएर जसोतसो एक महिनाको पैसा तिरेका छन्। बाँकी दुई महिनाको कसरी तिर्ने, उनलाई थाहा छैन।
ईश्वरका अनुसार, स्पट ब्वाइ र प्राविधिक कलाकारहरू फिल्म क्षेत्रका सबभन्दा असुरक्षित समूह हुन्। धेरै खट्ने र कम पैसा पाउने उनीहरूलाई यो क्षेत्रमा हेर्ने नजर पनि पूर्वाग्राही छ।
उनी भन्छन्, 'पहिला काम सानो वा ठूलो हुन्छ जस्तो लाग्दैनथ्यो। तर यहाँका केही मान्छेले हामीजस्ता कलाकारलाई तेरो काम सानो हो भन्ने महशुस गराउने रहेछन्।' फिल्म सेटमा हुने दुर्व्यवहारकै कारण आफूले एउटा फिल्म नै छाडेको बताउँछन्।
'काम होस् वा संकट, दुवैले सुरूमा हामीजस्तालाई नै खोज्ने रहेछ,' उनी भन्छन्। उनलाई यति बेला आफ्नो धैर्य र मनोबल टुट्दै गएको हो कि भन्ने लाग्न थालेको छ। फिल्मको काम कहिले सुरू होला भनेर कुरिराख्ने वा नयाँ काम खोज्नतिर लाग्ने भन्ने, दुबिधामा छन्।
उनी दुबिधा पोख्छन्, 'फिल्मको काम कुरौं, अझै केही महिना लाग्न सक्छ। अर्को काम गरौं भने नयाँ काम पाउने माहोल छैन। हरेक क्षेत्र संकटमा छ।'
फिल्म क्षेत्रमा रत्तिइसकेका उनलाई यो क्षेत्र छोडिहाल्ने मन छैन। सजिलै छोड्न सकिएला भन्ने आत्मविश्वास पनि छैन। यो क्षेत्रमा धेरै स्थापित र नयाँ कलाकारसँग संगत गर्न पाएका उनको केही कलाकारसँग आत्मीय सम्बन्ध गाँसिएको छ।
उनी भन्छन्, 'सुरूका दिनमा कुलदीप अधिकारी, दीपक ओली, गौरव पहाडीजस्तै धेरैको साथ र माया पाएर यो क्षेत्रमा काम गर्न पाएँ। उहाँहरूपछि पनि धेरै राम्रा मान्छेसँग भेट भयो।'
अर्को काम खोज्दा यी सबै 'उपलब्धि' गुमाइने हो कि भन्ने डर छ।
सानै उमेरदेखि फिल्म क्षेत्रप्रति आकर्षण भएका ईश्वर यो ठाउँमा आइपुग्न लामो संघर्ष गर्नुपरेको बताउँछन्। आफ्नो पहिलो फिल्म 'मिस्टर भर्जिन'मा काम गर्दा उनी अलपत्र परेका थिए। त्यो बेला होटलबाहिर रात बिताएको उनी सुनाउँछन्। फिल्ममा काम गर्न थालेपछि पनि उनले निर्माताको होटलमा भाँडा माझ्ने काम गरे।
'स्पट ब्वाइ होस् वा अरू पर्दा पछाडिका कलाकार, काम गर्न सजिलो छैन। हामी प्राविधिक कलाकारको भागमा त झनै धेरै काम हुन्छ। आराम गर्ने समय कम हुन्छ', उनी भन्छन्।
छायांकन बेला ईश्वर सधैं ढिलो सुतेर छिटो उठ्छन्। नियमितबाहेक भइपरी आउने जुनसुकै कामका लागि स्ट्यान्ड-बाइ बस्छन्। तर यति गर्दा पनि हाम्रो आत्मसम्मान र सुरक्षाका लागि सोचिदिने कमै छन्।
'मलाई भविष्यमा अभिनय गर्ने रहर छ,' उनी भन्छन्। पाँच-सात सेकेन्डमात्रै भए पनि पर्दामा देखिने उनको रहर भने पूरा भइसकेको छ। उनी 'पण्डित बाजेको लौरी' फिल्ममा कलाकार गणेश मुनालसँग एउटा दृश्यमा सँगै देखिएका थिए। उनलाई केही महिना अभिनय तालिम लिएर यो अनुभव अझै बढाउने मन छ।
दाङ छँदा 'पिँजडा' फिल्म हेरेर निखिल उप्रेतीका प्रशंसक बनेका उनको मनमा यो क्षेत्रप्रति नजाँनिदो आकर्षण थियो। तर घरको नाजुक आर्थिक अवस्था र गाउँघरका युवाको देखासिकीमा उनको प्राथमिकता विदेश गएर पैसा कमाउनु भयो। यही प्राथमिकता पछ्याउँदै चार वर्षअघि उनी मलेसिया पुगेका थिए। डेढ लाख ऋण काढेर त्यहाँ पुगेको केही घन्टामै आफू ठगिएको महशुस गरे। कम्पनीले यहाँको दलालले भनेभन्दा आधा तलब पनि दिएन। काम पनि उनले सोचेभन्दा निकै गाह्रो थियो।
'ठूलो मेसिनले फर्निचर काट्ने काम गर्नुपर्थ्यो। म सानै थिएँ, आत्तिएँ,' २४ वर्षीय ईश्वरले भने।
पासपोर्टसमेत माया मारेर त्यो कम्पनी छोडी उनी सेक्युरिटी गार्डको काम गर्न थाले। यो काम दाङकै एउटा दाइले लगाइदिएका रहेछन्। उनी सम्झन्छन्, 'पैसा पनि राम्रो, काम पनि सजिलो भएपछि चिन्ता कम भएको थियो। तर मेरा दुःखका दिन भर्खरै सुरू भएका रहेछन्।'
उनलाई केही महिनामै डेंगी भयो र नेपाल फर्किन बाध्य भए। फर्केर के गर्ने निश्चित नभएको अवस्थामा उनले भारत, गोआको एउटा होटलमा छ महिना वेटरको काम गरे। त्यो मौसमी काम थियो। त्यसपछि भने उनको जीवनमा नाटकीय घटना भयो। ईश्वरलाई फेसबुकमा चिनेका एक जना दाइले प्रस्ताव राखेछन्, 'निखिल उप्रेतीको असिस्टेन्टको काम मिलाइदिन्छु। २० हजार बोकेर काठमाडौं आऊ।'
त्यति बेलासम्म मलेसिया जाँदाको ऋण तिरिसकेका थिएनन्। तर आफूलाई मनपर्ने हिरोसँगै काम गर्ने अवसर उनी गुमाउन चाहन्थेनन्। 'बीस हजार ऋण खोजेर काठमाडौं आए। तर मलेसियामा मात्रै हैन, नेपालमै ठगिएँ। ती दाइले पैसा मात्रै लिए, काम दिएनन्,' उनी भन्छन्।
नाम ईश्वर भए पनि पटकपटक मान्छे र नियतिबाट ठगिएका उनले आफ्नो जीवनमा के भइरहेको भेउ पाइरहेका थिएनन्। तर समय होस् वा मान्छे, सधैं सबै खराब हुँदैन।
दुई वर्षअघि ईश्वरको समय आयो। ईश्वरले मान्छे भेट्टाए।
उनी ठगिएको खबर फिल्म क्षेत्रमा स्थापित उनकै गाउँका कुलदीप अधिकारीसम्म पुग्यो। कुलदीप स्थापित ड्रेसम्यान हुन्। तिनैले ईश्वरलाई सम्पर्क गरे र काठमाडौं बोलाए। त्यसयता उनी निरन्तर काठमाडौंमै छन्। निखिलसँग काम गर्ने अवसर नपाए पनि उनले दयाहाङ राई, सुरक्षा पन्त, अनमोल केसी, वर्षा राउत, सुहाना थापा, गौरव पहाडीजस्ता कलाकारका फिल्ममा काम गर्ने अवसर पाएका छन्। उनीहरूलाई चिया, पानी र खाना बाँडेका छन्। उनीहरूको माया पनि पाएका छन्।
'साइँली' छायांकनका बेला उनी पहिलो पटक दयाहाङ राईलाई देखेर उत्साहित भएका थिए रे! सुरक्षा पन्त, वर्षा राउत, गौरव पहाडीसँगको पहिलो देखादेख उनलाई 'वाउ' लागेको क्षण थियो। विपीन कार्कीलाई भेट्दा चाहिँ उनी चकितै खाएछन्।
'भस्मे डन भनेर चिनेको विपीन कार्की कडा, डनजस्तो हुनुहोला भन्ने सोचेको थिएँ। तर बोली सुन्दा ठीक उल्टो, नरम।'
धेरै कलाकार भेटिसक्दा पनि उनले आजसम्म आफ्नो प्रिय हिरो निखिललाई देख्ने अवसर पाएका छैनन्। भन्छन्, 'उहाँसँग कहिले भेट होला भनेर कुरिरहेको छु। भेट भए पनि म धेरै बोल्न सक्दिनँ होला। तर सेल्फीचाहिँ अवश्य खिच्नेछु।'