गत साता दैलेखको गुराँस गाउँपालिका–२ का लखन नेपाली दुर्घटनामा परे। भारतको गढवालमा मजदुरी गरिरहेका उनी ट्रकमा ढुङ्गा लोड गर्ने क्रममा खसे। उनको टाउकोमा गम्भीर चोट लाग्यो।
उनका आफन्तले भारतकै श्रीनगरमा रहेको अस्पतालमा भर्ना गरे। टाउकोमा गम्भीर चोट लागेकाले उनको उपचारका लागि खर्च धेरै लाग्ने भएपछि आफन्तले नै घर ल्याउने निधो गरे। घर ल्याई नपुर्याउँदै उनको बीच बाटोमा मृत्यु भएको छ।
आइतबार बिहान भारतबाट नेपाल ल्याइएका लखनको दैलेख नपुग्दै सुर्खेतको छिन्चुमा मृत्यु भयो। ‘उता उपचार खर्च अभाव भएर होला, घरतर्फ ल्याइएको रहेछ,’ गुराँस गाउँपालिकाकी उपाध्यक्ष दिपा बिसीले भनिन्, ‘यहाँ नपुग्दै उहाँको छिन्चुमा मृत्यु भइसकेछ।’
छिन्चुबाट सुर्खेतसम्म ल्याउने व्यवस्था गुराँस गाउँपालिकाले नै गरिदिएको उपाध्यक्ष बिसीले जानकारी दिइन्। उनका अनुसार नेपालीको टाउकोमा पहिले पनि गम्भीर चोट लागेको थियो।
‘उहाँको त पहिले पनि टाउकोमा गम्भीर चोट लागेको थियो, कहिलेकाहीँ त आफैं बेहोस हुनुहुँदो रहेछ,’ उनले भनिन्, ‘भारतमा ट्रकबाट खस्दा पनि पहिलेकै जस्तो उही ठाउँमा चोट लागेछ।’
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले उनलाई गम्भीर चोट लागेको र बाटोमै मृत्यु भएको बताए।
‘उताबाट ल्याएको एम्बुलेन्सले सुर्खेतमै छोडिदिएछ, उहाँहरुले अर्को एम्बुलेन्स व्यवस्था गर्न लाग्दै गर्दा घाइतेको मृत्यु भएछ,’ उनले भने, ‘यहाँबाट प्रहरीले शव वाहन व्यवस्था गरिदिएर घर पठाएको हो।’