गत २२ गतेदेखि खुलेका न्युरोडका पसल आज प्रहरीले बन्द गराएको छ।
प्रहरीले न्युरोडलगायत काठमाडौंका विभिन्न स्थानका पसल अचानक बन्द गराउन दबाव दिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए।
‘हामीले स्वास्थ्य सुरक्षा अपनाएर बिहान ८ बजेदेखि ११ बजेसम्म पसल खोलेका थियौं। प्रशासन पनि सकारात्मक नै थियो। तर आज अचानक किन बन्द गर्न लगायो हामीले बुझ्न सकेनौं,’ कटुवालले सेतोपाटीसँग भने।
बिहान करिब पौने ९ बजे रन्जना गल्ली आसपास प्रहरीले माइकिङ गर्दै आएको र जबरजस्ती पसल बन्द गर्न लगाएको नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघका अध्यक्ष आनन्द पौडेलले जानकारी दिए।
‘व्यापारीहरूको प्रहरीसँग एकछिन घम्साघम्सी भयो र हामी पसल बन्द गर्न बाध्य भयौं,’ उनले भने।
महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले सिडिओहरूबीच पसल खोल्नेबारे छलफलमात्र भएको तर आदेश आइनसकेको जानकारी दिए।
'खोल्न उपयुक्त हुन्छ भनेर सिडिओहरू बीच छलफलमात्रै भएको हो। अहिले नै खोल्न दिने भन्ने आदेश आइसकेको छैन। सरकारले लकडाउन खुकुलो नबनाउँदै त्यसको उल्लंघन बढ्न थाल्यो। हामीले पनि सरकारको आदेशको पालना गर्ने हो। खुलमखुला उल्लंघन गर्न दिनुभयो भन्ने आरोप लाग्यो। त्यसैले हामीले बन्द गराएका हौं,'उनले भने।
तस्बिरहरू :