केही दिनअघि रूकुम पश्चिमको चौरजहारीमा ६ जनाको ज्यान गरी भएको घटनाको विरोधमा सोमबार बिहान कीर्तिपुरमा विरोध प्रदर्शन गरेको छ।
दलित महिला सन्जालले बिहान नगाउँ दोबाटोलगायत ठाउँमा सामाजिक दूरी कायम गरी घटनामा मारिएका नवराज बिकलगायतका परिवारलाई न्यायको माग गरेको थियो। प्रदर्शनकारीले घटनामा संलग्न सबै दोषीहरूलाई कडा कानुनी कारबाही हुनुपर्ने बताए।
जेठ १० गते आफ्नी प्रेमिका भगाउन साथीहरूसँग आएका जाजरकोटका नवराज बिकलगायतलाई चौरजहारी ८ सोतीका स्थानीयले कुटपिट गरेका थिए। स्थानीयको कुटपिटबाट ६ जनाको मृत्यु भएको थियो।
दलित युवाले गैरदलितकी छोरीलाई प्रेम गरेकै आधारमा नवराजलगायत उनका साथीहरूको हत्या भएको भन्दै पछिल्ला दिनहरू ठाउँठाउँमा प्रदर्शन भइरहेका छन्। सोही क्रममा आज कीर्तिपुरमा पनि प्रदर्शन गरिएको हो।