जाजरकोटको भेरी नगरपालिका–६ का स्थानीयले क्वारेन्टिन बनाउन थालिएको भन्दै नजिकको विद्यालयको छानो भत्काइदिएका छन्।
नजिकमा रहेको विद्यालयमा क्वारेन्टिन बनाएर भारतबाट आएकालाई राख्दा वरपरकालाई कोरोना संक्रमण हुने भन्दै उनीहरुले विद्यालयको छानो भत्काइदिएका हुन्।
स्थानीय टेक मल्लका अनुसार विद्यालयमा क्वारेन्टिन बनाएर भारतबाट आएकालाई राख्नेगरी नगरपालिकाले निर्णय गरेपछि त्यसलाई रोक्न स्थानीयले विद्यालयको छानो भत्काएका हुन्।
उक्त विद्यालय हाल भगवति प्रावि र लक्ष्मी माविसँग गाभिएको पनि उनले बताए। उनका अनुसार उक्त विद्यालय वरपर ६० भन्दा धेरै घरधुरी छन्।
भेरी नगरपालिकाका उपमेयर भावना भण्डारीले विद्यालयको भवन भत्काइएको बारेमा आफूलाई जानकारी नभएको बताइन्। उनका अनुसार उक्त विद्यालयमा क्वारेन्टिन निर्माण गर्ने निर्णय नगर कार्यपालिकाबाटै गरिएको थियो।
‘वडा नम्बर ५, ६ लगायतका ठाउँमा उपयुक्त संरचना रोजेर क्वारेन्टिन बनाउने निर्णय त भएको हो,’ उनले भनिन्, ‘विद्यालयको भवन भत्काएको बारेमा भने जानकारी छैन, यो कार्यले हामीलाई नै समस्या हुन्छ।’