गत मार्चको अन्त्य र अप्रिलको मध्यसम्म आइपुग्दा स्वास्थ्य विशेषज्ञहरूले अष्ट्रेलियालाई पनि कोरोना भाइरस (कोभिड–१९) को ‘संकटग्रस्त क्षेत्र’ बन्न सक्ने जोखिम रहेको चेतावनी दिएका थिए।
अष्ट्रेलियाको अवस्था पनि त्यस्तै थियो। संक्रमण फैलिँदो क्रममा थियो। अस्पतालहरूमा बिरामीको संख्या बढ्दै थियो। तर, परीक्षण निकै कम भइरहेको थियो।
फेब्रुअरी २९ मा विदेशबाट आएका दश जनालाई पहिलो पटक कोरोना देखिएपछि ठूला जहाज र बाह्य संसारको सम्पर्कमा रहिरहँदा मार्च महिनामा कोरोनाले निकै सतायो। संख्या ह्वात्तै बढेर पाँच हजारनजिक पुग्यो।
हरेक दिन तीन सय भन्दा माथिको संख्यामा कोरोना देखिएपछि आंशिक लकडाउनसँगै राज्यले नियन्त्रणको नीति तर्जुमा गर्यो। अप्रिलमा पनि केही बढेको कोरोनाको कहर मे महिनाको अन्त्यतिर आइपुग्दा भने नियन्त्रण प्रयास सफल भयो। हाल आंशिक रुपमा दिनहुँ चार–पाँचको संख्यामा कोरोना बढे पनि नियन्त्रणको प्रयास भने धेरै सफल भएको छ।
समाजिक दुरीका साथ आंशिक रुपमा भेला हुने र काम चलाउ खुलापनले विस्तारै अष्ट्रेलिया यतिखेर आर्थिक संकटबाट तंग्रिने प्रयासमा छ।
हालसम्म ७ हजार १३३ जना संक्रमित रहेको अष्ट्रेलियामा १०३ जनाले ज्यान गुमाएका छन्।
सुरुआतमा जहाजका यात्रुलाई स्वदेश फर्कन दिने लचिलो नीतिले अष्ट्रेलिया कोरोना भाइरसको चपेटामा परेको थियो। संक्रमणका कारण मर्नेमा अधिकांश असी वर्ष नाघेका बुढाबुढी छन्। पाका उमेरका बुढाबुढीमा बढी असर पर्नसक्ने विषयलाई ध्यानमा राखेर सरकारले कयैन स्वास्थ नीति समेत अगाडि सारेका कारण धेरै क्षति नभएको हुन सक्ने विशेषज्ञको भनाइ छ।
सिड्नी शहर कोरोनाबाट सबैभन्दा प्रभावित राज्यमध्येको हो। लाखौ मानिस बसोबास गर्ने यो सहरमा मार्च २८ मा एकैदिन २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। तर, पछिल्लो १५ दिनयता यहाँ नयाँ संक्रमितको संख्या दैनिक २० भन्दा कम छ। यस साता लगातार दुई दिनमा नयाँ संक्रमितको संख्या १० भन्दा मुनि नै रह्यो।
मार्चको अन्त्यतिर निकै च्यापेपछि अप्रिलको मध्यसम्मपनि नयाँ संक्रमितको संख्यामा यसरी कमी आउँछ भन्ने पत्याउन मुश्किल थियो। किनकि त्यतिबेला नयाँ संक्रमितको संख्या तीव्र गतिमा बढ्न सुरु गरेको थियो। लकडाउन विश्वका अन्य मुलुकहरूको तुलनामा खुकुलो रहेको अष्ट्रेलियामा अहिले भीडभाड बढ्न थालेको छ।
तर व्यापारिक प्रतिष्ठानहरुले समेत सामाजिक दुरीलाई ध्यानमा राखेर एक पटकमा निश्चित ग्राहकलाई मात्रै किनमेलको अनुमति दिने गरेका छन्।
अष्ट्रेलियाको सुखद पक्ष भनेको कोरोना संक्रमितहरुमध्ये असी प्रतिशत बिरामी निको भएर घर फर्कनु हो। यहाँ अहिले पनि स्वास्थ केन्द्रहरुमा बिरामीको कुनै चाप छैन। अहिलेसम्म आइसियुमा पचास भन्दा मुनिको संख्यामा बिरामी रहेको र धेरै त घरमै व्यवस्थितसँग बसेका छन्।
अहिले पनि अष्ट्रेलियन सरकारले सर्वसाधारणलाई अनावश्यक भ्रमणमा नजान, घरबाट काम गर्न र भौतिक दुरी कायम राख्न आग्रह गरिरहेको छ।
महामारीमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन दिनहुँजस्तो प्रत्यक्ष प्रशारणमा आएर कोरोनासँग लड्न र जुध्न अनि सुरक्षित रहन आग्रह गर्दै नयाँ नयाँ योजना सार्वजनिक गरेका छन्।
कोरोना भाइरस महामारीको चुनौतिपूर्ण अवस्थामा सबै दलहरु एकै ठाउँमा रहेर महत्वपूर्ण परिवर्तन ल्याउन सफल भए।
व्यक्तिगत सफाइको मामलामा अष्ट्रेलियनहरु अगाडि देखिए। हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र सामाजिक दुरी कायम गर्ने कुरामा यहाँका नागरिक निकै सचेत देखिए। यसरी हरेक मानिसले आफ्नो आनीबानीमा उल्लेख्य परिवर्तन गरेका कारण यहाँ कोरोना भाइरस संक्रमितको संख्यामा उल्लेख्य कमी आएको बताउँछन वरिष्ठ चिकित्सक सिताराम जोशी।
सिड्नीस्थित ओलंघन हस्पिटलका विशेषज्ञ चिकित्सक जोशी भन्छन् ‘नागरिकको खानपान, जीवनशैली, स्वास्थ्य स्याहार प्रणालीले पनि कोरोना नियन्त्रणमा अष्ट्रेलियालाई महत्वपूर्ण सहयोग पुगेको हो।’
सरकारको निर्देशन र व्यक्तिगत सरसफाइमा यहाँका नागरिक निकै सचेत देखिएको र सुरक्षित हुन सबै उपायहरु अवलम्बन गरेका कारण यतिखेर विस्तारै संक्रमणमा कमी आएको जोशीले बताए।
‘आम सर्वसाधारणको व्यवहार र स्वाभावमा आएको उल्लेख्य परिवर्तनले कोरोना नियन्त्रणमा निकै ठूलो भूमिका निर्वाह गरेको देखियो, जुन सबैका लागि महत्वपूर्ण पाठ बन्छ’ उनले भने।
अष्ट्रेलियामा बढी भीड हुने म्युजियम, थिएटर, पार्क, जिम, खेलकुद र अन्य आकर्षणका केन्द्रहरू दुई महिनाभन्दा लामो समयदेखि बन्द छन्। विद्यालय विस्तारै खुल्दैछन्। दश जनासम्म जमघट गर्न मिल्ने भैसकेको छ भने रेष्टुरेन्ट तथा पवहरुमा साना जमघट प्रारम्भ भैसकेको छ।
सिड्नीमा कुनै पनि दिन सरकारी यातायातका साधनहरु बन्द भएनन् र हिँडडुल तथा सपिङमा पनि प्रतिवन्ध लगाइएन। तर त्यसका वावजुत पनि राज्यको तयारी, सुविधा र नागरिकको सुझबुझपनले कोरोनालाई विस्तारै नियन्त्रणमा सफलता मिलेको हो।
अहिले पनि रेलका डिब्बाहरु र बसभित्र अनि जुनसुकै सार्वजनिक स्थानमा पनि सामाजिक दुरीको योजना अगाडि सारिएको छ। मानिसहरु त्यसलाई अवलम्बन गर्दै आएका छन्।
यसले अष्ट्रेलियालाई भोलिका दिनमा पनि कोरोनासँग लड्ने शक्ति प्रदान गर्ने विश्वास गरिएको छ। यो मानिसबाट मानिसमा द्रुत गतिमा सर्ने रोग भएकोले यसको रोकथाम र उपचारको पहिलो भ्याक्सिन नै अहिलेको लागि सामाजिक दुरी कायम गर्नु हो भन्छन् विशेषज्ञ।
जतिबेला पनि आफू सुरक्षित रहने र अरुलाई पनि सुरक्षित बन्न अभिप्रेरित गर्ने काम गर्यौं भने केही महिनामा यो सरुवा रोगको महामारीबाट मुक्ति पाइनेछ।