रमजान महिना सकिएको दिन इस्लाम धर्मावलम्बीहरूले आज ईद–उल–फित्र मनाएका छन्।
अरबी पात्रो हिजरी सम्बत अनुसार दशौं महिनाको पहिलो दिन अर्थात् रमजान महिना सकिएको दिन आज मुस्लिम समुदायले विशेष नमाज (प्रार्थना) आदा (समर्पण) गरी ईद–उल–फित्र मनाउने गर्दछन्।
अरबी पात्रो अनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि भोलिपल्ट ईद–उल–फित्र मनाउने गरिन्छ। ईदमा विशेष नमाज आदा गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशिर्वाद लिने र आफूभन्दा सानालाई आशिर्वाद दिने गरिन्छ।
ईदका दिन इस्लाम धर्मावलम्बीहरूले मस्जिद तथा ईदगाहमा भेला भई सामूहिक रूपमा नमाज आदा गर्ने परम्परा रहेको छ।
यसवर्ष भने कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि लकडाउन जारी भएपछि मस्जिदमा सामूहिक रूपमा नमाज आदा नगर्न मुस्लिम आयोगले आग्रह गरेको छ।
मस्जिदमा गई समूहमा नमाज आदा गर्न नपाएपछि घरमै परिवारका सदस्यबीच नमाज आदा गरेर ईद–उल–फित्र मनाएका छन्।
त्यसैले ईदका दिन काठमाडौंमा रहेका दुई मस्जिद पनि सुनसान देखिए। मस्जिदमा रहेका धर्मगुरू र कर्मचारीले मात्र प्रार्थना गरेका छन्।
सरकारले ईदको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ।
तस्बिरहरू :