कोरोना लकडाउनले नियमित पढाइ बन्द भए पनि धेरै निजी स्कुलले अनलाइन कक्षा सुरू गरेका छन्। यसले अभिभावकहरूमाथि नयाँ जिम्मेवारी थपिएको छ। ठूला कक्षाका विद्यार्थी त आफैं व्यवस्थापन गर्न सक्छन्, तर साना केटाकेटी पढाउन आफू सँगसँगै नबसी सुख छैन।
छोराछोरीको लेखाइ-पढाइका लागि आमाबाबुले यति गर्न झिँझो मान्नुपर्ने कुरा छैन। तर, प्रश्न उठ्छ- यसको उपयोगिता के?
अनलाइन कक्षालाई लिएर अनेक प्रश्न छन्।
पहिलो कुरा त, स्कुलहरूले एकअर्काको देखासिकी अनलाइन कक्षा सुरू गरे पनि के पढाउने, कसरी पढाउने र कसरी सबै विद्यार्थी समेट्ने भन्नेमा उनीहरू आफैं प्रस्ट छैनन्।
दोस्रो, हामीले अनलाइन कक्षा सुहाउँदो पाठ्यक्रम तयार पारेका छैनौं। छौं भने पनि त्यसलाई अनलाइनका माध्यमबाट विद्यार्थीसम्म पुर्याउने सीप धेरै शिक्षकसँग छैन। कक्षाकोठामा विद्यार्थीका अगाडि प्रत्यक्ष उभिएर पढाउने बानी परेका शिक्षकले अनलाइनमा दर्जनौं विद्यार्थीसँग अप्रत्यक्ष संवाद कसरी गर्लान्?
तेस्रो, के अनलाइन कक्षा भनेको विद्यार्थीसँग एकाध घन्टा समय बिताएर उनीहरूलाई गृहकार्य थोपर्नु मात्र हो? गृहकार्य नै दिने प्रयोजन हो भने अनलाइन कक्षा किन लिनुपर्यो?
चौथो, केटाकेटीलाई मोबाइल र ट्याबबाट कसरी टाढा राख्ने भनेर बहस भइरहेका बेला अनलाइन कक्षाले अभिभावकलाई थप हैरान पार्ने त होइन?
पाँचौं प्रश्न सबभन्दा महत्वपूर्ण छ- के अनलाइन कक्षाका नाममा हामी निजी र सरकारी स्कुलबीच विभेदको झन् ठूलो खाडल त बनाइरहेका छैनौं?
नेपालको शिक्षा प्रणाली विभेदपूर्ण छ। यहाँ सबै केटाकेटीले उही स्तरको शिक्षा पाउँदैनन्। महँगा निजी स्कुल पढ्नेले स्तरीय शिक्षा पाउँछन्, जसको दाँजोमा सरकारी स्कुल पछाडि छ।
अब सोचौं, कक्षाकोठामै स्तरीय शिक्षा दिन नसक्ने सरकारी स्कुलले अनलाइन कक्षा कसरी चलाउलान्? उनीहरूले चलाउन चाहे पनि के सरकारी स्कुल पढ्ने सबै विद्यार्थीका घरमा अनलाइन कक्षामा भाग लिन मोबाइल, ट्याब, ल्यापटप र इन्टरनेट सुविधा होला?
अहिलेको 'ट्रेन्ड' हेर्दा सरकारी स्कुलहरू कसैले पनि अनलाइन कक्षा चलाएका छैनन्। निजीले मात्र यस्तो सुविधा दिएका छन्। उसो भए के लकडाउनमा पढ्ने अधिकार महँगा निजी स्कुलका विद्यार्थीको मात्र हो?
होइन भने सरकारी स्कुल पढ्ने ठूलो वर्गलाई लकडाउनका नाममा पढाइ-लेखाइबाट टाढा राखेर सहरका सीमित केटाकेटीलाई मात्र यो अधिकार दिनु न्यायोचित होला? यसले त पहिल्यैदेखि पछाडि पर्दै आएका सरकारी स्कुलका केटाकेटी यो लकडाउनमा थप पछाडि छुट्ने डर भएन?
अनलाइन कक्षाको सुरूआतसँगै उठेका यस्ताको प्रश्नको जवाफ कसैसँग छैन। पाठ्यक्रमदेखि पढाउने शैलीसम्म यकिन गरी धमाधम सञ्चालित अनलाइन कक्षाप्रति सम्बन्धित निकायहरूले आँखा चिम्लेका छन्। संघीय संरचनामा स्कुलहरूलाई निगरानी गर्ने अधिकारप्राप्त स्थानीय सरकार पनि यसमा मौन छ।
केही स्थानीय सरकारले सूचना जारी गरी अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएका छन्, तर त्यसको पालना भएको छैन।
यही अन्यौलबीच हामीले अनलाइन कक्षाको उपयोगिताबारे शिक्षाविदहरूसँग कुरा गरेका छौं।
शिक्षाविद् केदारभक्त माथेमा अनलाइन कक्षाबारे दिनहुँ गुनासो सुन्नु परेको बताउँछन्। केटाकेटीलाई लामो समय प्रविधिसँग जोड्नु गलत भएको उनको भनाइ छ। यस्तो दबाबमूलक सिकाइले बाल मस्तिष्कमा नराम्रो असर पार्ने र पढाइलेखाइलाई बोझ ठान्ने सोच बढ्ने उनी बताउँछन्।
'दबाबमूलक सिकाइले कुनै प्रतिफल दिँदैन। बरू बालबालिकामा पढाइप्रति नै वितृष्णा पैदा हुन्छ,' उनले भने।
बिनातयारी र बिनाछलफल सुरू अनलाइन कक्षा विद्यार्थीहरूका लागि मनोरञ्जन मात्र भएको माथेमाको धारणा छ।
'यो कुनै योजनाबिना अपर्झट लागू गरिएको सिकाइ विधि हो। विद्यार्थी र अभिभावक मात्र होइन, शिक्षकहरू पनि यसका लागि तयार छैनन्। कसरी अघि बढ्ने भन्ने कसैलाई थाहा छैन,' शिक्षाविद् माथेमा भन्छन्, 'माध्यमिक र निम्न-माध्यमिक तहका विद्यार्थीलाई त दुई-चार दिन रमाइलो नै भयो, साना बालबालिकालाई भने पाँच–छ घन्टा स्क्रिनमा बस्न गाह्रो भयो।'
शिक्षाविद् विद्यानाथ कोइराला यसमा सहमत छन्। पूर्ण अनलाइनमा निर्भर सिकाइले विद्यार्थीलाई गन्तव्यमा पुर्याउन नसक्ने उनी बताउँछन्।
'सिकाइका विभिन्न विकल्पमा अनलाइनलाई पनि एउटा विकल्पका रूपमा राख्न सकिन्छ। तर, यसलाई मात्र विकल्प मान्नु विद्यार्थीमाथि ठाडै बेइमानी हो,' उनले भने, 'मोबाइल वा कम्प्युटरमा हेरेर मात्र सिकाइ सम्भव छैन। अनलाइन पढाइ सँगसँगै विद्यार्थीलाई नोट र प्रयोगात्मक शिक्षाको पनि आवश्यकता पर्छ।'
अहिले सबै स्कुलमा नयाँ शैक्षिक सत्र सुरू हुने बेला छ। विद्यार्थीहरू अघिल्लो कक्षाको नतिजा कुरेर बसेका छन्। यस्तोमा केही विद्यालयले नयाँ कक्षाको नयाँ पाठ पढाउन थालिसके। नियमित पाठ्यक्रम पढाउँदा कम्तिमा पाँच घन्टा मोबाइल वा कम्प्युटरमा जोडिनुपर्ने अवस्था छ।
यो समय लेखपढमा उपयोग गर्ने हो भने बालबालिकालाई घरैमा उपलब्ध स्रोत-साधनद्वारा पाठ सिकाउन सकिने कोइरालाको भनाइ छ।
'बच्चाले अन्डा खाजा खायो भने उनीहरूलाई सोध्न सकिन्छ- अन्डामा कुन तत्व कति मात्रामा पाइन्छ?' कोइराला सुझाउँछन, 'अन्डा कसरी आउँछ? कति समय उमाल्दा खानयोग्य हुन्छ? अन्डाबाट के-के परिकार बन्छ? आफूले जानेका यस्ता कुरा टिपोट गर भनेर उनीहरूलाई काम दिन सकिन्छ।'
उनले अगाडि भने, 'विद्यार्थीहरू यसरी आफैंले केही बनाउन, देखाउन र सुनाउन पाउँदा खुसी हुन्छन्। यो जीवनोपयोगी शिक्षा पनि हो।'
यस्ता कुरामा विचार नपुर्याउँदा तत्कालको सन्दर्भमा अनलाइन कक्षा सीमित विद्यार्थीको समय कटाउने बाटो मात्र बनेको सरोकारवालाहरू बताउँछन्।
अनलाइन कक्षा प्रभावकारी रूपमा सञ्चालन गर्न मोबाइल, ट्याब वा ल्यापटपजस्ता उपकरणको समस्या पनि छ। धेरै घरमा एउटा मात्र ल्यापटप हुन्छ। लकडाउन बेला आमाबाबु घरैमा बसेर काम गरिरहेका हुन्छन्। त्यही ल्यापटप छोराछोरीलाई प्रयोग गर्न दिनु व्यवहारिक नहुन सक्छ।
मानौं, कुनै घरमा दुई वा दुईभन्दा बढी विद्यार्थी छन् र उनीहरूलाई सँगसँगै अनलाइन कक्षामा बस्नुपर्यो भने अतिरिक्त ल्यापटप, मोबाइल वा ट्याब कसरी जुटाउने? अनलाइन कक्षा सञ्चालन गरिरहेका कुनै पनि स्कुलले यो समस्याबारे सोचेका छैनन्।
'हरेक बच्चालाई एउटा उपकरण चाहिन्छ। राम्रो इन्टरनेट पनि चहियो। क्लास लिने कोठा पनि चाहियो। कसैको हलचलले ध्यान भंग हुनु भएन,' अनलाइन कक्षाको कठिनाइबारे कोइरालाले भने, 'एउटै कोठामा बस्ने परिवारमा यो सम्भव छैन। अहिले धेरैको अवस्था त्यस्तै छ।'
उनले अगाडि थपे, 'यी कठिनाइ हेर्दा विद्यालय शिक्षाको पूर्ति अनलाइन शिक्षाले गर्न सक्दैन। त्यसैले पनि यो नियमित र बाध्यकारी बनाइनु हुँदैन।'
अझ कतिपय घरमा त इन्टरनेट, ल्यापटपै छैन। उनीहरूका बच्चा आफ्ना साथीसंगीले अनलाइन कक्षा लिइरहेको सुन्दा गुनासो गर्छन्। यसले त्यो परिवार र बच्चामा पर्ने मानसिक दबाब बेग्लै छ।
अनलाइन कक्षा सञ्चालन भइरहँदा केही विद्यालय र शिक्षकहरूले मनोविश्लेषकसँग पनि परामर्श गरिरहेका छन्।
मनोरोग विशेषज्ञ डा. अरुण कुँवर आफैंले धेरै शिक्षकलाई परामर्श दिएको बताउँछन्। उनका अनुसार अनलाइन कक्षा सञ्चालनमा शिक्षक-विद्यार्थी दुवै अनुभवी छैनन्। उनीहरूमा एक किसिमको अत्यास छ।
'अकस्मात् आइपरेकाले अहिले जति भइरहेको छ ठिकै छ। तर भविष्यमा यो तयारीले पुग्दैन, शिक्षकलाई तालिम र परामर्श दिनुपर्छ,' मनोविद् कुँवर भन्छन्, 'विद्यार्थीलाई पनि गाली गरेर, बाध्य बनाएर कक्षामा राखिनु हुँदैन।'
समयसीमा निर्धारण गर्नुका साथै बीचबीचमा केही समय दिएर पढाउन सकिने उनको सुझाव छ। बाहिरी देशमा यस किसिमको पढाइ राम्ररी सञ्चालन भइरहेको बताउँदै कुँवर भन्छन्, 'अरू देशमा पनि अनलाइन कक्षा हुन्छ, तर उनीहरूसँग अभ्यास, अनुभव र स्रोतसाधन राम्रो छ। हामीले पनि कार्यविधि बनाएर सञ्चालन गर्न सक्छौं।'
'यो समय कोर्सको पढाइ होइन, केही बनाउन, सिँगार्न, सपार्न, पकाउनजस्ता उपयोगी काम सिकाउन विद्यालय र अभिभावकले जोड दिनुपर्छ,' उनी भन्छन्।
'अनलाइन कक्षा केटाकेटी भुलाउने, सिर्जनात्मक अभ्यास र नितान्तः स्वैच्छिक हुनुपर्छ, उपस्थित हुनैपर्ने बाध्यकारी हुनु हुँदैन।'