खाद्यान्न ढुवानीका लागि लकडाउन खुकुलो पारेको भनिए पनि फुडमारियो कम्पनीको भ्यान आइतबार बिहान १० बजेपछि कमलादी प्रहरीले रोक्यो। उक्त भ्यानले खाद्यान्न, तरकारी लगायत उपभोग्य वस्तु घर-घरमा डेलिभरी गर्दै आएको थियो।
फुडमारियो कम्पनीका प्रमुख रोहित तिवारीका अनुसार प्रहरीले झन्डै दुई घन्टा डेलिभरी भ्यान नियन्त्रणमा राख्यो। यसले आइतबार दिनभरिको अर्डर रद्द गर्नुपरेको उनले बताए।
सरकारले गत साता नै लकडाउन अवधिमा के-कस्ता उद्योग, व्यवसाय र सवारी चल्न पाउने भनी सूचना जारी गरेको थियो। तर, ट्राफिक प्रहरीले आवागमन सहज पार्न भन्दै आइतबारबाट 'टाइम कार्ड' लागू गरेपछि अन्यौल उत्पन्न भएको छ।
टाइम कार्डअनुसार बिहान १० बजेभित्र खाद्यान्न ढुवानी गरिसक्नुपर्छ, जसले घर-घरमा तरकारी, खाद्यान्न लगायत अत्यावश्यक वस्तु डेलिभरी गर्दै आएका कम्पनी अप्ठ्यारोमा परेका छन्।
'तरकारी तथा अत्यावश्यक सामाग्री ढुवानीमा समय तोक्नु व्यवहारिक हुँदैन,' फुडमारियो प्रमुख तिवारीले भने, 'हामीलाई विभिन्न ठाउँबाट अर्डर आएको हुन्छ, बिहान १० भित्र सबैतिर पुर्याउन सम्भव हुँदैन।'
ट्राफिक प्रहरीले आवागमन सहज बनाउन टाइम कार्ड लागू गरेको भने पनि यसले उल्टै असहज स्थिति ल्याउँछ। निश्चित समय मात्र ढुवानी गर्न पाइने भनेपछि त्यो बेला धेरै सवारीको घुइँचो लाग्छ। यो नियम नराख्ने हो भने सम्बन्धित ढुवानी कम्पनीहरूले अनुकूल समय मिलाएर गाडी चलाउने छन्। यसले भीडभाड हुँदैन।
उपत्यकामा ताजा तरकारी तथा फलफूल बिक्री-वितरण गर्दै आएको ग्रिन ग्रोथका सञ्चालक सौरभ ढकाल पनि टाइम कार्डअनुसार काम गर्न सम्भव नभएको बताउँछन्। किसानको बारीबाट तरकारी ल्याएर काठमाडौंमा बिक्री गर्न बिहान १० बजेभित्र नसकिने उनको भनाइ छ।
‘बिहान ७ मात्र काठमाडौं आइपुग्ने तरकारी १० बजेभित्र डेलिभरी गर्न सकिँदैन। उपभोक्ताले आजै अर्डर गरे पनि भोलिका लागि पर्खनुपर्ने हुन्छ,’ उनले सेतोपाटीसँग भने, ‘भोलिपल्टसम्म पर्खँदा तरकारी, फलफूल ओइलाउने, कुहिने डर हुन्छ।’
महानगरीय ट्राफिक महाशाखाको कुरा सुन्दा भने ड्युटीमा खटिएका प्रहरीलाई नै 'टाइम कार्ड' नियमबारे अन्यौल भएको बुझिन्छ।
महाशाखा प्रमुख भीमप्रसाद ढकालले घर-घरमा खाद्यान्न पुर्याउन हिँडेका साना सवारीलाई यो नियम लागू नहुने बताएका छन्।
'ठूलो परिमाणमा खाद्य सामग्री बोकेर बाहिरबाट आउने सवारीलाई मात्र समयसीमा तोकिएको हो,' उनले सेतोपाटीसँग भने, 'सहरभित्रै सानो परिमाणमा खाद्यान्न डेलिभरी गर्न हिँडेका सवारी रोकिने छैन।'
उनले अगाडि भने, ‘एउटा व्यापारीले बाहिरबाट ल्याउने खाद्यान्न १० बजेभित्र गोदाम ल्याइपुर्याउनु पर्यो। त्यसपछि गरिने भित्री डेलिभरी रोकिँदैन।’
आइतबार खाद्यान्न डेलिभरी कम्पनीका केही गाडी समातिएकोबारे सोध्दा ढकालले भने, 'सूचना राम्ररी सम्प्रेषण नभएकाले यो समस्या आएको हुन सक्छ। हामीले ठूला गाडी मात्र रोक्न भनेका हौं। थोरै परिमाणमा खाद्यान्न बोकेकालाई समयसीमा तोकिएको होइन।'
ट्राफिक प्रहरीको सूचनाले सम्बन्धित कम्पनीहरू पनि अलमलिएका छन्।
फुडमान्डुले टाइम कार्डअनुसार चल्न नसक्ने भएपछि डेलिभरी रोकेको छ। ‘हिजोसम्म कुनै अवरोध थिएन। तरकारी-फलफूल डेलिभरी भइरहेको थियो,’ फुडमान्डुका बिक्री प्रमुख श्यामरत्न मालीले भने, ‘अचानक बिहान १० बजेभित्र ढुवानी गर्नुपर्ने सूचना आयो, जुन सम्भव छैन। अन्य कम्पनीको भ्यान रोकिएपछि हामीले पनि रोक्यौं।’
यो नियमले अर्डर लिएर जाँदा जाँदै बीच बाटोमै गाडी रोकिन सक्ने डर भएको उनले बताए।
सिटी कार्गोका सह-संस्थापक अमिगो खड्का पनि नियम प्रस्ट नभएकाले अलमल परेको बताउँछन्।
'बिहान १० बजेसम्म सबै सामान पुर्याउन त सम्भव नै छैन,’ उनले भने, 'यस्तै हुने हो भने खाद्यान्न ढुवानी गर्न सकिँदैन।’