आज अन्तर्राष्ट्रिय मजदुर दिवस। नेपाल मात्रै होइन, विश्वका सबैजसो मुलुकमा यस दिन कुनै ठूला औपचारिक कार्यक्रम भएनन्।
कोरोनाभाइरस महामारीको असरसँगै नेपालसहित विश्वका धेरै मुलुक लकडाउनमा छन्। लकडाउनका कारण उद्योगधन्दा बन्द छन्, निर्माण क्षेत्र ठप्प प्रायः छ। दैनिक ज्यालादारी गर्ने मजदुरको रोजगारी गुमेको छ।
उद्योगधन्दामा काम गर्दै आएका कतिपय नेपाली मजदुर हिँडेरै घर पुगेका छन्।
विगतका वर्षमा मजदुर दिवसका दिन समेत काममा व्यस्त हुनेलाई यतिबेला लकडाउनको बाध्यताले घरमै बन्दी बनाएको छ। तर यसले उनीहरुको दैनिक जीवनमा भने नराम्रो असर पारेको छ, शरीरले आराम पाउँदा पनि मन खुसी छैन।
लकडाउनका कारण ज्यालादारी गर्ने मजदुरलाई यतिबेला राहतको सबैभन्दा जरुरत परेको छ। राज्यले दैनिक ज्यालादारी गर्ने मजदुरलाई पहिलो प्राथमिकता दिएर राहत वितरण गर्नु अहिलेको टड्कारो आवश्यकता हो।
उद्योगकलकारखाना बन्द रहँदा उपत्यकाका केही इँटा भट्टामा भने काम भइरहेको देखिन्थ्यो। काठमाडौं उपत्यकाको होलसेल फलफूल तथा तरकारी बजार भएकाले कालिमाटीमा केही मजदुर तरकारी लोड–अनलोड गरेको देखिन्थ्यो।
त्यस्तै फोहोर संकलनमा संलग्न मजदुर पनि काममै खटिएका देखिन्थे। दैनिक उपभोग्य सामानको उत्पादन तथा वितरणमा संलग्न सीमित मजदुर यस दिन व्यस्त रहे पनि अधिकांश भने बाध्यताले घरमै बन्दी बन्नु पर्यो।
तस्वीरमा हेर्नुस् केही मजदुरको व्यस्त दैनिकी