लकडाउनमा सञ्चालन भएका सवारीसाधनको पास जाँचमा ट्राफिक प्रहरीलाई भ्याइनभ्याई भएको छ।
राजधानीका मुख्य चोकमा खटिएर ट्राफिक प्रहरीले सबै सवारीसाधनको पास जाँच गरिरहेका छन्। यसरी पास जाँच गर्ने क्रममा कतिपय ठाउँमा ट्राफिक जाम नै हुने गरेको छ।
जिल्ला प्रशासन कार्यालयबाट पास लिएका र अत्यावश्यक सवारीसाधन मात्रै सञ्चालन गर्न पाइने भए पनि पछिल्लो समय राजधानीका सडकमा सवारीसाधनको संख्या बाक्लो देखिन थालेको छ।
सवारीसाधनको संख्या बाक्लिएसँगै ट्राफिक प्रहरीलाई पास जाँचमा भ्याइनभ्याई भएको छ।
पास जाँच गर्ने क्रममा काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट एक हजार बढी सवारीसाधन नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ। साँझसम्म यो संख्या अझै बढ्न सक्नेछ।
पछिल्ला दिनमा लकडाउन उल्लंघन बढ्न थालेसँगै सोमबारदेखि लकडाउनमा कडाई गरिएको हो।
कोरोना संक्रमणको त्रासले चैत ११ गतेबाट मुलुकमा लकडाउन गरिएको हो।
पटक पटक लकडाउनको अवधि थपिँदै आएकोमा गत आइतबारको मन्त्रिपरिषद बैठकले आगामी वैशाख २५ सम्म लकडाउन कायम गरेको छ।