भुइँ तलाको भर्याङ, भर्याङमुनि खाट। छउको भित्तामा इँटामाथि ग्यास चुलो जडान गरिएको छ। छेउमा सिलिन्डर पनि छ। अहिले ग्यास भने छैन। घरबेटीसँगको आग्रहमा छतमा चुलो बनाएर दाउरा बालेर खाना पकाउने गरिएको छ।
करिब एक महिनादेखि यही भर्याङमुनि दुर्गा सुनारका आमाछोरीले दिन बिताइरहेका छन्। सुर्खेतको वीरेन्द्रनगर-६ स्थित शान्ति टोलमा स्थानीय इन्द्रजित सुनारको घरको भुइँतलाको भर्याङमुनि दुर्गा र उनकी छोरी आरोसी बस्छन्।
पहिला बस्दै आएको घरमा भाडा तिर्न नसकेपछि घरबेटीले उनलाई निकालिदिएका थिए।
‘कमाइ खासै थिएन, त्यही पनि लकडाउन भएपछि ठप्पै भयो,’ दुर्गाले आइतबार सेतोपाटीसँग भनिन्, ‘कोठाको भाडा तिर्न नसकेपछि दिनदिनै घरबेटीले जाऊ भन्न थाल्नुभयो, यहाँ घरबेटीले दया गरेर भर्याङमुनि भए पनि बस्न दिनुभएको छ।’
२१ वर्षीया दुर्गा र उनकी ६ वर्षकी छोरी आरोसी ६ वर्षदेखि वीरेन्द्रनगरमा बस्दै आएकी छिन्। दुर्गा वीरेन्द्रनगरमा बस्न थालेको सुरूदेखि नै दैनिक ज्यालामजदुरी गर्छिन्।
‘दैनिक मजदुरी गरेर ५-६ सय रुपैयाँ कमाइ हुन्छ, त्यो पनि लकडाउनका कारण रोकियो,’ उनले भनिन्, ‘पैसा नभएका कारण ग्यास किन्न सकेकी छैन। अरूसँगै चामल मागेर खाना जुटाइरहेकी छु।’
आइतबार युवा व्यवसायी हरि बिष्टले उनलाई ग्यास सिलिन्डर सहयोग गरेका छन्। दुर्गाकी छोरी आरोसी युकेजीमा पढ्छिन्। छोरीलाई पढाउन पनि अरूले नै सहयोग गर्ने गरेको उनले बताइन् ।
श्रीमानसँग दुर्गाको लामो समयदेखि सम्पर्क छैन। छोरी ६ महिनाकी हुँदा भारत गएका उनका श्रीमान अझसम्म पनि सम्पर्कमा नआएको उनले बताइन्।
‘कमाउन भनेर भारत जानुभएको हो, त्यसपछि सम्पर्कविहीन हुनुभयो,’ उनले भनिन्।