गएको मंगलबार दिउँसो जुनीचाँदे गाउँपालिका–२ का वडा अध्यक्ष रामबहादुर नेपाली कार्यालयको काममा व्यस्त थिए।
उनी कार्यालयभित्रै बसेर काम गरिरहेका थिए। एक्कासी बाहिरबाट युवाहरुको समूह भित्र आयो।
त्यो समूह के कामका लागि कार्यालयभित्र पसेको हो, के लिएर आएका थिए भन्ने अध्यक्षले पत्तै पाएनन्।
एक्कासी उनीमाथि लात्ती र मुक्का बर्सिन थाल्यो। कार्यालयभित्रै छिरेर छिमेकीले उनलाई मरनासन्न हुने गरी कुटपिट गरेर भागे।
केही समयसम्म प्रतिकार गर्ने प्रयास गरेपछि धेरैको अगाडि केही लागेन, बेहोस भए।
‘त्यति धेरै मानिस आएर कुटिरहेका थिए, केही समयसम्म भाग्ने प्रयास गरेँ, तर ढोकै लगाइदिएछन्,’ अध्यक्ष नेपालीले भने, ‘म बेहोस भएछु।’
आफूलाई कुटपिट गर्ने व्यक्ति आफ्नै छिमेकी भएको अध्यक्ष नेपालीले बताए। एकाएक कार्यालयभित्र छिरेर केही पनि नभनेर आफूमाथि कुटपिट गरेको उनले बताए।
‘किन कुटपिट गरेका हुन् थाहा भएन,’ उनले भने, ‘एकाएक ढोका थुनेर मलाई कुटे। धन्न आफन्तले अस्पताल ल्याएछन् र बाँचे।’
वडा अध्यक्षमाथि कुटपिट गर्नेहरुलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटले पक्राउ गरिसकेको छ। कुटपीटमा सात जना संलग्न भएको जिप्रका जाजजरकोटका प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले बताए।
जयबहादुर नाथ, उनका भाइहरु मेहन्द्र नाथ, सुरेन्द्र नाथ, धनबहादुर नाथ, उनीहरुका बुवा बिर्खबहादुर नाथ छिमेकी रेशमबहादुर नाथ र नरु नाथलाई पक्राउ गरिएको हो। उनीहरु सबै कुटपिटमा संलग्न भएको श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार खानेपानीको विषयमा भएको पुरानो विवादका कारण अध्यक्षमाथि कुटपिट भएको हो।
‘जय नाथ भन्ने चुनावका बेला अध्यक्षकै प्रतिद्वन्दी रहेछन्, आफ्नो गाउँमा किन पानी नदिएको भनेर उनकै योजनामा कुटपिट गरिएको भन्ने बुझिएको छ,’ उनले भने।
यता पीडित अध्यक्ष नेपालीले भने आफूसँग पहिले कुनै लेनदेन वा विवाद नरहेको बताए। उनले आफूलाई शरीरको सबै भागमा चोट लागेको बताए। छाती र टाउकोमा अन्यत्र भन्दा धेरै चोट रहेको उनले बताए। उनीहरुलाई आफूलाई मार्ने उद्देश्यका साथ त्यहाँ आएको आरोप पनि लगाए।
कुटपिट भएकै दिन अध्यक्ष नेपालीलाई जीपमा राखेर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको थियो। प्रदेश अस्पतालमा उपचार हुन नसकेपछि उनलाई शुक्रबार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा रेफर गरिएको छ। त्यहाँ उनको उपचार भइरहेको छ।
शुक्रबारदेखि मात्र उनी सामान्य बोल्न सक्ने अवस्थामा पुगेको अध्यक्षका आफन्त मानबहादुर विकले जानकारी दिए।