जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश सरकारले कोरोना भाइरसको नमुना परीक्षण गर्ने पिसिआर (पोलिमरेज चेन रियाक्सन) मेसिन खरिद गरेका छन्। योसँगै अब कर्णाली प्रदेशका तीन ठाउँबाट स्वाब नमुना परीक्षण हुने भएको छ।
यसअघि कर्णाली प्रदेश अस्पतालको प्रयोगशालामा रहेको मेसिनबाट मात्र नमुना परीक्षण हुने गरेको थियो। उक्त मेसिनको क्षमता कम भएका कारण ठूला क्षमताका दुई पिसिआर मेसिन ल्याइएको हो।
कर्णाली प्रदेश सरकारले त्रिभुवन विश्वविद्यालयसँग रहेको नयाँ पिसिआर मेसिन ल्याएको हो। हाललाई प्रदेश सरकारले रकम भने नतिरेको सामाजिक विकास मन्त्री दल रावलले बताए। ‘यसको मूल्य २८ लाख पर्ने रहेछ,’ उनले भने, ‘सञ्चालन हुँदै गर्छ बाँकी प्रक्रिया पनि हुँदै गर्छ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने चीनबाट मेसिन खरिद गरेको हो। ठेक्का प्रक्रियामार्फत २७ लाख रुपैयाँमा मेसिन खरिद गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जानकारी दिए।
प्रदेश अस्पतालमा रहेको मेसिनबाट दैनिक २० वटासम्म नमुना परीक्षण गर्न सकिन्थ्यो। अहिले प्रदेश सरकार र प्रतिष्ठानले ल्याएका मेसिनबाट भने दैनिक एक सय वटासम्म परीक्षण गर्न सकिने अनुमान गरिएको डा. रावलले बताए।
‘अहिले ल्याइएका मेसिनको क्षमता त ३५ मिनेटमा ९६ वटा परीक्षण गर्न सकिने भनिएको हुन्छ, तर प्रोसेसिङमा जाँदा त्यति सम्भावना हुँदैन,’ डा. रावलले भने, ‘यी मेसिनबाट दैनिक एक÷एक सय वटा स्वाब परीक्षण गर्न सकिएला भन्ने आँकडा गरिएको छ।’
यहाँ गरिएको नमुना परीक्षणको भेरिफिकेशन भने काठमाडौं वा नेपालगञ्जबाट नै गर्नुपर्ने उनले बताए। उनका अनुसार यी मेसिन भने छिटोमा सोमबारदेखि सञ्चालनमा आउनेछन्।
प्रदेश सरकारले ल्याएको पिसिआर मेसिर वीरेन्द्रनगरमा रहेको भेटेनरी कार्यालयको प्रयोगशालामा जडान गरिने छ भने प्रतिष्ठानले ल्याएको मेसिन जुम्लामै जडान गरिने छ।
यसअघि नेपाल सरकारले कर्णाली प्रदेशका लागि भनेर दिएको पिसिआर मेसिन चैत २० गतेदेखि सञ्चालन ल्याइएको थियो।