वीरेन्द्रनगर नगरपालिकाले लकडाउनका कारण खाद्यान्न समस्या भए फोन गर्न निःशुल्क टेलिफोन नम्बर उपलब्ध गराएको छ।
सोमबारदेखि नगरपालिकाले १०१ नम्बर सञ्चालनमा ल्याएको छ। यो नम्बरमा खाद्यान्न समस्या भएकाले फोन गर्न सक्नेछन्। यो नम्बरमा फोन गरेवापट पैसा लाग्दैन।
यो नम्बरमा फोन गरेर जानकारी दिएमा वीरेन्द्रनगरले घरमै खाद्यान्न पु¥याइदिन्छ। लकडाउनका कारण भोकै बस्नुपर्ने अवस्था आएकाहरुका लागि आपतकालीन नम्बरका रुपमा नगरपालिकाले टेलिफोन उपलब्ध गराएको वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले बताइन्।
यो नम्बरमा फोन गरेर लकडाउनका कारण भोग्नुपरेका समस्याका बारेमा पनि नगरपालिकासँग राख्न सकिनेछ।
‘संकटमा नगरभित्र बस्ने नागरिक भोकै बस्नु नपरोस् भनेर यो नम्बर सञ्चालन गरिएको हो,’ उपमेयर ढकालले भनिन्, ‘यसमा फोन गरी नगरभित्रका नागरिकले आफ्नो अवस्थाबारे जानकारी गराउनुहुन्छ, त्यसकै आधारमा हामीले परिवारको मूल्यांकन गरी खाद्यान्न दिन्छौं।’
उपमेयर ढकालका अनुसार चाहेमा व्यक्तिहरुले नगरपालिकामै आएर खाद्यान्न बुझ्न सक्छन् भने अपांगता भएका, ज्येष्ठ नागरिक लगायतका समस्या भएका परिवारका लागि नगरपालिकाका कर्मचारी आफैं घरमा गएर खाद्यान्न पुर्याइदिन्छन्।
‘विद्यार्थी रहेछन् भने वा अरु पनि सक्ने खालको परिवारमा व्यक्ति हुनुहुन्छ भने उहाँहरुले फोन गरिसकेपछि नगरमै आएर राहत लिन सक्नुहुन्छ,’ उनले भनिन्, ‘अशक्त, ज्येष्ठ नागरिक लगायतको वर्गका लागि हामीले घरमै पुगेर खाद्यान्न दिन्छौं।’
उपमेयर ढकालका अनुसार यो फोन सञ्चालन गरेयता १०० भन्दा धेरैले आफ्ना समस्याबारे जानकारी गराएका छन्।