लकडाउनले दैनिक ज्यालादारी र दिनभरी काम गरेर साँझ, बिहानको छाक टार्नुपर्ने श्रमजीवीहरू मर्कामा छन्। कार्यक्षेत्रमा गाँसबासको टुंगो नभएपछि धेरै मजदुर पोका बोकेर घर हिँडेका छन्। फर्कन नसकेकालाई बिहान के खाऊँ, बेलुका के खाऊँ भइरहेको छ।
यस्तै लकडाउन 'पीडित'मध्ये केहीलाई मात्रै भए पनि कोही मनकारीहरूले सहयोग गरिरहेका छन्। यस्तै मनकारी हुन् बुढानिलकण्ठकी लिली थापा।
'छहारी' संस्थाकी संस्थापक थापाले लकडाउनको मारमा परेर खान नपाएका करिब पाँच सय जनालाई दैनिक एक छाक खाना खुवाइरहेकी छन्। उनको संस्था छहारी विशेषगरी एकल महिला हितमा काम गर्छ। तर थापा सातायता लकडाउनमा अलपत्र परेकालाई खाना व्यवस्था गरिरहेकी छन्।
बुढानिलकण्ठ र आसपास क्षेत्रमा बस्दै आएका ज्यालादारी मजदुर, अशक्त तथा खाना व्यवस्था गर्न नसक्ने विपन्नहरूलाई उनले खाना खुवाएको जानकारी दिइन्।
'एक छाक भए पनि तातो खाना खान पाउँदा राति आनन्दले निदाएँ, खाली पेटमा त निद्रा पनि नलाग्ने रहेछ भन्नुभयो,' खाना खानेको अनुभव सुनाउँदै थापा भन्छिन्, 'बुढाबुढी आमा बा, जो खाना बनाउन सक्दैनन् वा बनाउने व्यवस्थै छैन, उनीहरू पनि हात समाएर, लौरो टेकेर आउँछन्। विद्यार्थी, मजदुर पनि छन्।'
खाना व्यवस्थापन गरेयता ५ सयभन्दा बढिले दैनिक खाना खाइरहेको छहारी संस्थापक थापाले जानकारी दिइन्। संस्थाको अगुवाइमा विपन्न, असक्त र अलपत्रमा परेकालाई हरेक साँझ तातो खाना व्यवस्था भइरहेको छ।
लकडाउनपछि काठमाडौंमा खानै मुश्किल भएपछि गाउँ जानेको लाइन लाग्यो। अहिले पनि जारी छ। तर काठमाडौंलाई नै स्थायी बसोबास बनाएका तर लकडाउनमा गाँसको व्यवस्था गर्न नसक्नेहरू भोकै बस्नुपर्ने स्थिति छ।
संस्थाले वैशाख १ गतेदेखि चिनेजानेका केहीलाई खाना खुवाउन सुरू गरेको थियो। सात दिन बित्दा ५ सय जना बराबर भइसकेको थापा बताउँछिन्।
'छहारीबाट काम गर्दा पनि मैले धेरै त्यस्ता मानिस भेटेकी थिएँ जसलाई बिहान बेलुका छाक टार्न गाह्रो थियो,' खाना खुवाउने योजनाबारे उनले भनिन्, 'अहिले सबैतिर बन्द हुँदा उहाँहरूको अवस्था आकलन गर्न सक्थेँ। त्यसैले खाना खुवाउन सुरू गरेँ।'
पहिले बुढानिलकण्ठ आसपासका असहायलाई मात्रै खुवाउने योजना बनाएको उनी बताउँछिन्। बुझ्दै जाँदा मजदुर, विद्यार्थीको अवस्था पनि उस्तै रहेछ। अनि सबैलाई खानाको व्यवस्था मिलाएको उनले सुनाइन्।
खाना व्यवस्थापनमा बिहानैदेखि १२–१५ जना महिला खटिँदै आएका छन्। भान्छा व्यवस्थापन र मेससम्म पुग्न नसक्नेलाई घरैमा खाना पुर्याउन छहारीले नगरपालिकासँग समन्वय गरेको छ।
'सामाजिक दूरी कायम गरेर मेसमै खाने व्यवस्था पनि छ। यहाँसम्म आउन नसक्नेलाई स्वयमसेवक साथीहरूले उहाँहरूकै घरमा पुर्याइदिनु हुन्छ,' खाना व्यवस्थापनबारे उनले सुनाइन्, 'अहिले अरूले पनि थाहा पाएर होला, टोखा, धापासीतिरबाट पनि खाना अर्डर थपिएको छ।'
'हिजो मागेर वा ज्यालादारीमा काम गरी होटलबाट किनेर छाक टार्नेको स्थिति दयनीय छ। कोठामा दाल, चामल मात्रै भएर पनि गुजारा हुँदैन। मरमसलादेखि इन्धनसम्म जोहो गर्नुपर्छ,' उनी भन्छिन्, 'एउटा व्यवस्था गर्यो, अर्को अभाव हुने, साझा समस्या रहेछ। सबै व्यवस्था नहुँदा, सुख्खा, पत्रु खाना खाइरहेका पाइयो।'
बिहान त्यति धेरै जनालाई खाना व्यवस्था गर्न गाह्रो हुने भएकाले बेलुका व्यवस्था गरेको उनले बताइन्। काम गर्न सक्ने तर खाना जोहो गर्न गाह्रो भएकाहरू आफू पनि खाने र खाना बनाउन सहयोग गर्ने गरेका छन्।
'दाल, भात र हरियो तरकारी पोषण मिलाएर बुढाबुढी, बच्चा र विरामीको अवस्था सुहाउँदो खाना बनाइएको छ,' उनले भनिन्।
संस्थाले सुरू गर्दा केही विपन्न र अशक्तका लागि मात्रै सुरू गरेको भएपछि सहयोगी हात थपिँदै गएपछि आवश्यक सबैलाई खाना व्यवस्था मिलाएको हो। संस्थागत र व्यक्तिगत सहयोग थपिएकै कारण ठूलो संख्यालाई खाना खुवाउन सम्भव भएको थापा बताउँछिन्।
'खाना खुवाएको थाहा पाएर हिजो मात्रै बुढानिलकण्ठ स्कुलले एक ट्रक तरकारी पठायो। दाल चामल, ग्यास, पानी धेरै सहयोग आइरहेको छ,' उनी सहयोगी हातहरूलाई धन्यवाद दिन्छिन्, 'हाम्रो सहयोगी हात यति ठूलो रहेछ कि बारम्बार आइलागेका विकराल समस्यामा कति मज्जाले मन खोलेर एक अर्काको सहयोग गरिरहेका छौं।'
'लकडाउनले चिन्तित बनाएको थियो। बल्ल ढुक्कको सास फेर्न पाएकी छु। हामीले सुरू गरेको सानो अभियानले धेरैलाई खुसी बनाएको छ,' थापाले भनिन्।