गत बुधबार २५ किलोको चामलको बोरा, १ किलो नुन, केही दाल र तेल पाएपछि नन्दकला बिकले आफूलाई खाद्यान्न दिनेलाई घरदेखि वरसम्म आएर दुई हात जोडेर विदाइ गरिन्।
खान नपाइएला कि भन्ने उनको ठूलो पीर खाद्यान्न पाएपछि हराएको थियो।
नातिनातिनासहितको परिवारमा बसेकी नन्दकलालाई लकडाउन लम्बिएसँगै छाक कसरी टार्ने चिन्ता पनि थपिन्छ।
युवा व्यवसायी हरि बिष्टले उनलाई केही दिनसम्म पुग्ने खाद्यान्न दिए र फेरि समस्या पर्यो भने आफूलाई फोन गर्नु भनेर फर्किए।
वीरेन्द्रनगर–४ मा बस्दै आएकी ५९ वर्षीया नन्दकलाको मुटुमा प्वाल परेको छ। नन्दकला परिवार पाल्न त्यही प्वाल परेको मुटु लिएर ज्याला मजदुरी गर्न जान्छिन्। दैनिक मजदुरी गरी कमाएको पैसाले परिवारको लागि हुने खर्चमा केही थप हुन्छ।
वीरेन्द्रनगर-२ मा बस्ने भक्तबहादुर पौडेल वर्षौंदेखि ह्विलचियरमा बसेर साँघुरो आँगनमा आफ्नो दैनिकी बिताइरहेका छन्। भारतमा काम गर्न गएका उनी बन्दै गरेको घरको तीन तलामाथिबाट खसेका थिए। अहिले उनको कम्मरभन्दा मूनिको भाग चल्दैन।
दुई सन्तानसहित अशक्त बनेका श्रीमानलाई पाल्न श्रीमती सरिता गुरूङ पौडेल दैनिक ज्याला मजदुरी गर्छिन्। कोरोनाभाइरसको जोखिम रोकथामका लागि गरिएको लकडाउनका कारण उनले काम गर्न पाएकी छैनन्। बिष्टले भक्तबहादुरको घरमै गएर राहत सामग्री दिए।
मुटुमा प्वाल परेपनि उपचार गराउन नसकेकी नन्दकला र मेरुदण्ड भाँच्चिएर आँगनमै सीमित भएका भक्तबहादुरका घरमा मात्र होइन लकडाउनका कारण छाक टार्ने जोहो गर्न नसकेको कयौंको वासस्थाननमा युवा व्यवसायी बिष्ट खाद्यान्न लिएर पुग्ने गरेका छन्।
लकडाउन भएयता बिष्टले व्यक्तिगत रूपमा नै खाद्यान्न सहयोग गर्ने गरेका छन्। कतिपय बाटोमा अलपत्र परेका नागरिकलाई समेत उनले उद्दार गरी घर पुर्याउने गरेका छन्। बन्दाबन्दीका कारण स्थानीयले भोग्नुपरेको समस्यालाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आफू लागि परेको बिष्टले बताए। उनले खाद्यान्न समस्या परेका व्यक्तिले आफूलाई फोन गर्नसमेत भनेका छन् ।
‘लकडाउनका कारण मजदुर, अपांगता भएका व्यक्तिको परिवार, विद्यार्थीलाई खाद्यान्नको ठूलो समस्या छ,’ बिष्टले सेतोपाटीसँग भने, ‘यस्तो समस्या भएकाहरूले फोन गर्न भनेर मेरो फेसबुकमा फोन नम्बर राखेको छु, यसमा फोन आउँछ। म्योसेजमा ठेगाना पठाउन भन्छु, अनि सहयोग गर्न जान्छु।’
बिष्टले अहिलेसम्म ५० भन्दा बढी परिवारलाई खाद्यान्न सहयोग गरिसकेका छन्।
‘विशेषगरी खाद्यान्न सहयोग गरिरहेको छु, अलपत्र पर्नुभएकाले फोन गर्नुभयो भने उहाँहरूलाई घरसम्म पुर्याइदिने पनि गरेको छु’ उनले भने।
बाहिर जिल्लाबाट आएर डेरा गरी बसेका विद्यार्थी, रिक्सा चलाएर जिविकोपार्जन गरिरहेका, विभिन्न दैनिक ज्यालामा मजदुरी गर्ने मजदुर, दीर्घरोगी, अपांग, विपदबाट पीडित, बेसहारा जस्तालाई लकडाउनका बेला खाद्यान्न सहयोग गर्ने गरेको बिष्टले बताए।