भारतबाट आएका रूकुम पश्चिमका दुई युवाको स्वाब काठमाडौंको केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ।
यसअघि धनगढीमा र्यापिड परीक्षण गर्दा उनीहरूको एन्टिबडी पोजेटिभ देखिएको थियो। त्यसपछि उनीहरूको स्वाब पुनः परीक्षणका लागि बिहीबार काठमाडौं पठाइएको थियो।
केन्द्रीय प्रयोगशालामा शुक्रबार बिहान गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए।
‘रुकुम पश्चिमका दुई जना युवाको रिपोर्ट नेगेटिभ देखिएको छ,’ मन्त्री रावलले भने, ‘यसले हालसम्म कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमण नदेखिएको प्रस्ट भएको छ, यो खुसीको कुरा हो।’
ती दुई जनालाई चौरजहारीमा रहेको कोरोना अस्पतालको आइसोलेसनमा राखिएको छ।
कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्मर खड्काले पनि पुनः परीक्षण रिपोर्ट नेगेटिभ आएकोमा खुसी व्यक्त गरे।