ललितपुरस्थित बुङमतीको आदर्श शौला युवक सेकेन्डरी स्कुलमा र्यापिड डाइग्नोस्टिक टेष्टमार्फत कोरोनाको एन्टीबडी परीक्षण गरिएको छ।
नजिकका स्थानीय, शंका लागेका र पछिल्लो समय विदेशबाट आएकाको परिवार सदस्यलाई एन्टीबडी परीक्षण गरिएको छ।
बुधबार साढे २ बजेसम्म ५८ जनाले परीक्षण गरिएकोमा कसैमा पनि एन्टीबडी देखिएको छैन। यसले उनीहरुमा कोरोनाभाइरस नभएको बुझिन्छ।परीक्षणका क्रममा विदेशबाट आएकाको परिवारलाई बढी प्राथमिकता दिइएको छ।
र्यापिड डाइग्नोस्टिक टेष्टले शरीरमा कोरोनाको एन्टीबडी परीक्षण गर्दछ।
यो टेष्टका क्रममा कतिपय अवस्थामा एन्टीबडी देखिए पनि कोरोना भाइरस मरिसकेको हुन सक्छ, जसले गर्दा पिसिआर परीक्षणमा कोरोना नेगेटिभ पनि देखिन सक्छ। र्यापिडमा एन्टीबडी देखिएपछि फेरि पिसिआरमार्फत निश्चित गर्ने गरिएको छ।