सुर्खेतस्थित क्वारेन्टिनमा रहेकाहरूलाई आ-आफ्नो घर पठाउन थालिएको छ। विभिन्न ठाउँबाट आएर क्वारेन्टिनमा बसेका एक सय ८३ जनालाई शनिबार घर पठाइएको हो। सुर्खेतस्थित खुलामञ्चमा बनाइएको क्वारेन्टिनमा उनीहरूलाई राखिएको थियो।
उक्त क्वारेन्टिनमा राखिएका एक सय ८८ जनामध्ये एक सय ८३ जनाको कोरोनाभाइरस जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको उत्तर पश्चिम पृतनाका सहसेनानी दयाराम ढकालले जानकारी दिए।
उनका अनुसार पाँच जनाको भने रिपोर्ट आउन बाँकी छ।
पाँच जनाको नमूना नपुगेपछि पुनः संकलन गरी पठाउने तयारी गरिएको छ। बाँकी परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको ढकालले बताए।
सुर्खेतका १७ जनालाई शुक्रबार नै घर पठाइसकिएको उनले जानकारी दिए। बाँकीलाई शनिबार पठाइएको छ।
नेपालगञ्जस्थित जमुनाह र सुदूरपश्चिममा पर्ने गौरीफन्टा नाका हुँदै भारतबाट नेपाल फर्किएका र नेपालका पनि प्रदेश बाहिरबाट आएकाहरूलाई चैत १५ गतेदेखि क्वारेन्टिनमा राखिएको थियो।
कर्णाली प्रदेश सरकारसँगको समन्वयमा नेपाली सेनाले चार सय बेडसहितको क्वारेन्टिन वीरेन्द्रनगरमा बनाएको थियो।
क्वारेन्टिनबाट बाहिर निस्किएकाहरूले भने आफूहरू ढुक्क भएर घर फर्किन पाएको भन्दै खुसी व्यक्त गरेका छन्।
भारतबाट फर्किएकी दैलेखको दुल्लु नगरपालिकाकी विष्णा विष्टले आफूले क्वारेन्टिनमा रहँदा सहज र ढुक्क महशुस गरेको बताइन्।
‘हामीले यहाँ रहँदा सहजै रूपमा खान र बस्न पायौं, अब घर पनि कोरोना नलागेको भन्ने ढुक्क भएर जान पाउँदैछौं। खुसी लागेको छ,’ उनले भनिन्।
वीरेन्द्रनगरस्थित क्वारेन्टिनमा रहेकामध्ये सुर्खेतका ५७ जना, दैलेखका ८७ जना, कालीकोटका ७ जना, जाजरकोटका २० जना, जुम्लाका १६ र अछामका एक जना थिए।