भक्तपुरको मध्यपुर ठिमी वडा नम्बर ८ का ४८ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले सात पटक जीब्रो छेडेका छन्।
०७७ वैशाखमा हुने बिस्केट जात्रामा उनले आठौं पटक जिब्रो छेड्ने तयारी गरिरहेका थिए। तर देशमा कोरोना भाइरस संक्रमण देखा पर्यो, जात्रा हुने टुंगो छैन।
सात वर्षदेखि लगातार जिब्रो छेड्दै आएका श्रेष्ठले यसपटक केही गरी जात्रा भइहाले पनि जिब्रो नछेड्ने बताएका छन्।
किन?
मंगलबार सेतोपाटीसँग कुराकानी गर्दै उनले आठौंपटक जिब्रो नछेड्ने जानकारी दिए।
धेरैलाई थाहा छैन- बुद्धकृष्ण एम्बुलेन्स चालक पनि हुन्।
मंगलबार उनी कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा श्रेष्ठ पिपिई लिन पुगेका थिए। महावीर पुनले काठमाडौंका एम्बुलेन्स चालकलाई सोमबारदेखि नि:शुल्क पिपिई बाँडेका छन्।
उनले पिपिई उपलब्ध गराएकोमा केन्द्रलाई धन्यवाद दिए।
‘यतिखेर पिपिई सेट नपाएर समस्या भइरहेको छ। एम्बुलेन्स सञ्चालन गर्ने संस्थाहरूले उपलब्ध गराउन सकिरहेका छैनन्,’ श्रेष्ठले सेतोपाटीसँग भने, ‘यस्तो संकटका बेला पिपिई दिएकोमा आविष्कार केन्द्रलाई धन्यवाद।’
पिपिई पाएपछि अब ढुक्क भएर बिरामी बोक्न मिल्ने उनले बताए।
‘पिपई नपाएर के गरौं, के गरौं भइरहेको थियो,’ उनले भने, ‘आफ्नो संस्थाले पिपिई दिन सकिरहेका छैनन्।’
उनले सातपटक आफूले जिब्रो छेडिसकेको प्रसंग जोड्दै थपे, ‘यसपटक जिब्रो नछेड्ने, कोरोनाका बिरामी बोक्ने।’
उनले नेपाल-कोरियामैत्री अस्पतालको एम्बुलेन्स १८ वर्षदेखि चलाउँदै आएका छन्।