सुदूरपश्चिम प्रदेशको कैलालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सीमा जोडिएका सुर्खेतका स्थानीय तहरूले उक्त जिल्लाबाट आवागमन बन्द गराएका छन्।
पश्चिम सुर्खेतका चौकुने, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाले कैलालीसँग आवातजावत बन्द गर्न झोलुंगे पुल र डुंगासमेत बन्द गरेका छन्।
कैलालीसँग धेरै जोडिएको चौकुने गाउँपालिका हो। चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीका अनुसार गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गराइएको छ।
कैलालीसँग जोडिएको भेरी नदीको पुल, चौकुनेबाट कैलालीतर्फको बडीगाउँ जोड्ने कर्णाली नदीको फेरी र डुंगा बन्द गराइएको अध्यक्ष शाहीले जानकारी दिए। यस्तै चौकुनेको कुमालाबाट कैलालीको सोल्टा जोड्ने पुल पनि बन्द गराइएको छ।
सुर्खेत र कैलाली जोड्ने सीमा नाका केउडी–रागामलेखा, मौरीवन–ताम्चा, सोवानचौर–सावा, बगेला–पुण्डन बन्द गरिएको अध्यक्ष शाहीले बताए।
यस्तै कैलालीसँग जोडिएको कोलीमार, माटुमोल, टटाली, तुकेबलाटा, तालगाउँमा रहेका झोलुंगे पुलहरु पनि बन्द गरिएको उनले जानकारी दिए।
झोलुंगे पुलमा गाउँपालिकाको टोली नै पुगेर तारबार गरिएको गाउँपालिकाका अध्यक्ष शाहीले बताए।
‘सुदूरपश्चिममा कोरोनाको संक्रमण भेटिएको छ, सीमाना भएकाले यताबाट र त्यताबाट आवतजावत गर्नेहरू धेरै हुन्छ,’ अध्यक्ष शाहीले भने, ‘ती व्यक्तिका कारण कोरोना नभित्रियोस् भनेर हामीले सबै नाका बन्द गरिदिएका छौं।’
चौकुने गाउँपालिकाले कर्णाली नदीमा डुंगाबाट पनि वारपार गर्न बन्देज लगाएको छ भने पौडेर पनि वारिपारि जान नपाइने निर्णय गरेको छ।
यस्तै पञ्चपुरी नगरपालिकासँग पनि कैलालीसँग जोडिएको छ। पञ्चपुरीले पनि आफ्नो स्थानीय तहसँग जोडिएका सबै नाका बन्द गरेको छ।
पञ्चपुरीबाट कैलाली जोड्ने कुइने र जंगलाघाटमा रहेका झोलुंगे पुलहरू बन्द गरिएको पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाले बताए।
कैलालीका प्रमुख जिल्ला अधिकारीसँग वार्ता गरेर सीमानामा पाँच जना प्रहरी राख्ने व्यवस्था पनि मिलाइएको उनले बताए।
सुर्खेतको पश्चिम क्षेत्रका भारतबाट आउने मानिससमेत सुदूरपश्चिम हुँदै गाउँ भित्रिने हुँदा कोरोनाको जोखिमलाई मध्यनजर गरी नाका बन्द गरिएको थापाले बताए।
बराहताल गाउँपालिकासँग कैलालीको चिसापानी जोडिन्छ। गाउँपालिकाका उपाध्यक्ष शोभा शर्माका अनुसार कैलालीसँग जोडिएको गाउँपालिकाको वडा नम्बर ३ को सीमा बन्द गर्न छलफल छ।
बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले सीमाना जोडिएको ठाउँमा गाउँपालिकाको तर्फबाट स्वंयसेवक खटाएर यताबाट जानेलाई यतै र उताबाट आउनेलाई उतै रोक्ने योजना बनाइएको बताए।
यसअघि शनिबार कैलालीमा दुई संक्रमित थपिएका थिए।
शनिबार नै बसेको मन्त्रिपरिषद् बैठकले आइतबारदेखि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाउने निर्णय गरेको थियो।