कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न राउटे समुदायले पनि मास्क प्रयोग गर्न थालेका छन्।
मास्क लगाएपछि महामारीका रूपमा देखिएको कोरोना भाइरसबाट बच्न सकिन्छ भन्ने ठानेर उनीहरूले मास्क लगाउन थालेका हुन्।
राउटे समुदायका महामुखिया मैनबहादुर शाहीले आफ्ना जनतालाई रोगबाट बच्नका लागि मास्क सधैँ लगाउन सुझाएको बताए।
‘कहीँबाट रोग सल्किजाला भनेर हामीले मास्क लगाएका हौं,’ दैलेखको गुराँस गाउँपालिकाले बुधबार उनीहरुलाई मास्क वितरण गर्ने क्रममा महामुखिया शाहीले भने, ‘मास्क लगाएपछि रोग सल्किँदैन, भात खाने समयमा खोल्ने, भात खाएर सकिनेबित्तिकै मास्क लगाइहाल्नु भनेर हाम्रा जनतालाई भनेका छौं।’
महामुखिया मैनबहादुरले आफ्ना जनता (समुदायका सदस्यहरू) लाई विभिन्न खालका रोगबाट बचाउनकै लागि आफूहरू जंगल बस्ने गरेको पनि बताएका छन्।
उनले भने, ‘जनतालाई बचाउनकै लागि हामीले गाउँ छाडेर यो वनमा बसेका छौं, वनमा बसेको हुनाले गाउँबाट, बाहिर देशबाट आएको रोगहरू नसल्कियोस् भनेर धेरै हिँडडुल गरेका छैनौं।’
महामुखिया शाहीले राउटे समुदायमा कोरोना भाइरसको संक्रमण पुग्न नदिन काम गर्न पनि आग्रह गरे।
‘हामीले यो देशभर भएका डाक्टर, इञ्जिनियर, वैज्ञानिक जो भए पनि हाम्रा जनतासम्म रोग नआउने काम गर्नुहोला भनेर अनुरोध गर्दछौं,’ उनले भने।
गुराँस गाउँपालिकाले बुधबार बस्तीमै पुगेर राउटे समुदायलाई मास्क वितरण गरेको छ।
थर्मल गनमार्फत् उनीहरूको ज्वरो पनि जाँच गरिएको छ। ज्वरो जाँच गर्नेक्रममा सबैमा नर्मल देखिएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए।
राउटे समुदायका मानिसले मास्क दिँदा आफूहरूले लगाउँदैनौं भनेर इन्कार नगरेको उनले बताए।
‘राउटेहरू गुराँस गाउँपालिकाकै बासिन्दा हुन्, उनीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै हामीले मास्क उपलब्ध गराएका हौं,’ अध्यक्ष वलीले भने, ‘हामीले सुरूमा कोरोना भाइरसबारे सबै भन्यौं, त्यसपछि मास्क दिँदा लगाउँदैनौं भन्ने कुरा गरेनन्।’
राउटे समुदायलाई गुराँस गाउँपालिकाले आफ्ना नागरिकसरह स्थायी परिचयपत्र नै दिएको छ। यो समुदाय सिजनअनुसार ठाउँ परिवर्तन गर्ने गर्दछ।