पोखराका अक्रिम मियाँलाई केही दिनदेखि छटपटी बढेको छ। लक डाउनमा घरभित्र बस्नु परेकाले होइन, दिल्लीमा रहेका छोरा, भतिजा र भान्जालाई के भयो होला भनेर उनलाई चैन छैन।
कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै उनका बच्चाहरू पढ्ने नयाँदिल्लीस्थित मदरसाभित्र रहेका मानिसलाई अधिकारीहरूले धमाधम बाहिर निकाल्न थालेका छन्।
उनका १६-१७ वर्षका छोरा, भतिजा र भान्जा पनि सोही मदरसामा थिए।
अक्रिमले सोमबार छोरासँग कुरा गरेका थिए।
‘बुवा हामीलाई यहाँबाट टेस्ट गर्न लैजाने भनेको छ भन्थ्यो,’ अक्रमले मंगलबार सेतोपाटीसँग भने,‘मैले ठीकै छ जता लगे पनि नेपालीहरू एकै ठाउँमा बस्नु, अनि राजदूतावासमा फोन गरिरहनु भनेको छु।’
अक्रमका अनुसार निजामुद्दिनस्थित बंगलेवाले मस्जिदको उक्त मदरसामा पोखरा, गोरखा, काठमाडौं र बाराका गरी झन्डै १५ जना नेपाली विद्यार्थी छन्।
‘मैले आइतबार पैसा पठाइदिएको थिएँ। भारतमा कर्फ्यू रैछ निकाल्न पाएनन्। मंगलबार नेपाल-भारत मैत्री बस चढेर आउँछु भन्थे। लक डाउन भइहाल्यो,’ अक्रिमले भने,‘अहिले फेरि पूरै मानिसलाई बाहिर निकालिरहेको छ रे। के होला भनेर चिन्ता लागिरहेको छ।’
भारतीय सञ्चारमाध्यममा आइरहेका पछिल्ला समाचारले उनको चिन्ता थप बढेको छ। एनडिटिभी टेलिभिजनले मंगलबार उक्त मस्जिदको धार्मिक प्रार्थनामा सहभागी भएर फर्किएका ६ जनाको तेलंगानामा मृत्यु भएको जनाएको छ। उनीहरू सबैमा कोरोना भाइरसको संक्रमण भएको थियो।
टाइम्स अफ इन्डियाका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लक डाउन घोषणा गरेपछि मस्जिदभित्र १४ सय बढी मानिस बसिरहेको थिए।
मस्जिदबाट फर्किएकाहरूलाई कोरोना भाइरस देखिएपछि अहिले अधिकारीहरूले उक्त क्षेत्र नै सिल गरेका छन् भने मस्जिदमा डिसइन्फेक्सन औषधि छर्किएका छन्।
भित्र रहेकाहरूलाई विभिन्न अस्पतालमा पठाइएको छ। उनीहरूमध्ये केहीलाई कोरोनाका लक्षणहरू देखिएका छन्।
कसरी आइपुग्यो मस्जिदभित्र कोरोना?
मार्च पहिलो साता ताबलिवी जमातले नयाँदिल्लीको निजामुद्दिनमा रहेको आफ्नो केन्द्रीय कार्यालयमा धार्मिक प्रार्थना आयोजना गरेको थियो।
वर्षभरि मुस्लिम धर्मालम्बीहरूले आउजाउ गरिरहने सय वर्ष पूरानो उक्त मस्जिदमा संसारभरिबाट श्रद्धालु आएका थिए। तीमध्ये केही साउदी अरेबिया, इन्डोनेसिया, मलेससियालगायत देशका पनि थिए। जतिबेला उनीहरू भारत आए त्यतिन्जेल उनीहरूको देशमा कोरोना भाइरसको संक्रमण फैलिन थालिसकेको थियो।
भारतका विभिन्न राज्यबाट पनि मानिसहरू प्रार्थनामा आए। प्रार्थना सकेर आ-आफ्नो घर फर्किए।
गत बिहीबार उक्त प्रार्थनामा सहभागी भएर फर्किएका जम्मु कस्मिरका एक जना तीर्थयात्रीको मृत्यु भयो। उनको मृत्युलाई कसैले वास्ता गरेन। ६५ वर्ष पुगिसकेका उनको मृत्यु स्वभाविक ठानियो।
तर पछि निजामुद्दिनबाट फर्किएकाहरू तमिलनाडु, तेलंगना, केरला, पश्चिम बंगालमा बिरामी पर्न थाले। जाँच्दा उनीहरूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो।
त्यसपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मस्जिद सिल गर्न निर्देशन दिएका थिए।
उक्त प्रार्थनामा गएका नेपालीहरू फर्किएर नेपाल आए कि आएनन् भन्ने खुलेको छैन।
घन्टाघरस्थित जामे मस्जिदका धर्मगुरू अबुबकर सिद्धिकले काठमाडौं उपत्यकाबाट उक्त प्रार्थनामा कोही नगएको भए पनि बाहिरबाट गए/नगएको बारे आफूलाई थाहा नभएको बताए।
‘त्यहाँ प्राय: वर्षभरि नै मानिसहरू गइरहन्छन्। एक-दुई दिन बसेर पनि आउँछन्। तर यसपालि काठमाडौंबाट गएको त मलाई थाहा छैन,’ सिद्धिकले भने,‘वीरगञ्ज, विराटनगरतिरबाट गएका पनि हुन सक्छन्।’