सोमबार रातीदेखि लागु हुनेगरी अस्ट्रेलियन सरकारले दुई जना भन्दा बढी मानिस एकै स्थानमा भेला हुन नपाउने नयाँ नियम लागु गरेको छ।
कोरोना भाइरसबाट १५ जनाको मृत्यु र चार हजार भन्दा बढी व्यक्ति संक्रमित भएपछि सरकारले सोको रोकथामका लागि यस्तो कदम चालेको हो।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले राजधानी क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा कोरोना संक्रमणलाई रोक्न कडा नियम ल्याइएको जानकारी दिएका हुन्।
संघीय सरकारले कोरोनाको महामारी रोक्नका लागि यस्तो कठोर कदम चाल्ने निर्णय लिनु परेको बताएको छ।
यो निर्णय लिनु अघि प्रधानमन्त्री मोरिसनले राज्य र अन्य दलका नेताहरुसँग छलफल गरेका थिए।
अस्ट्रेलियाका मुख्य स्वास्थ्य प्रमुख ब्रेन्डन मर्फीले यो निर्णय कठोर भएपनि भाइरसको संक्रमण रोक्न अत्यावश्यक रहेको बताए।
यसअघि सरकारले १० जना भन्दा बढी भेला हुन रोक लगाएको थियो।
यो नियम एकाघरमा बस्नेको हकमा भने लागु नहुने सरकारले जनाएको छ।
सरकारले विवाहमा ५ र मलामीमा १० जना भन्दा बढी जम्मा हुन पाउने नियम कायमै राख्दै सबैले डेढ मिटरको सामाजिक दुरी कायम राख्नुपर्ने जनाएको छ।
यस्ता नयाँ नियम ल्याएको अस्ट्रेलियाले स्कुल, सार्वजनिक यातायात र व्यापारिक केन्द्रहरु भने अहिलेसम्म बन्द गरेको छैन। जसका कारण यहाँका मानिसहरु धेरै डराइरहेको अवस्था छ।
अस्ट्रेलियामा सोमबारसम्म आठ जना नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
जसमा मेलवर्नबाट ३,सीड्नीबाट ४ र तास्मानियाबाट १ जना रहेका छन्। हाल उनीहरु सेल्फ आइसोलेसनमा रहेको नेपाली दुतावासले जनाएको छ।