सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन महानगरले निस्संक्रामक औषधि छर्किने कामलाई तीव्र दिएको छ।
यस क्रममा आज बिहान ३ वटा जेटले औषधि छरे। तीन वटामध्ये एउटाले बबरमहल-बानेश्वर-तीनकुने -सिनामंगल क्षेत्रमा छरेको थियो भने अर्कोले जमल-लाजिम्पाट- पानीपोखरी हुँदै महाराजगञ्ज क्षेत्रसम्म छरेको थियो। अर्कोले भने बसन्तपुर आसपास क्षेत्रमा किटनाशक औषधि छरेको थियो।
नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायब उपरीक्षक धनपति सापकोटाका अनुसार आज दिउँसोबाट महानगरका उपकरणसहित निजी क्षेत्रले सञ्चालनमा ल्याएका ट्याकंर परिचालन गरिनेछन्। ४० हजार लिटर पानीमा १४० लिटर क्लोरिन राखेर सार्वजनिक स्थलमा छर्किने आजको योजना रहेको नायव उपरीक्षक सापकोटाको भनाइ छ।
बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई सहरभरि पुर्याउने रणनीतिका आधारमा काम भइरहेको उनको भनाइ छ।
हिजो वीर अस्पताल, टेकु अस्पतालसहित भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटाणुशोधन/निस्संक्रामक औषधि छर्किएको थियो।
यससँगै ब्रुमरको प्रयोगले सडक सफा गर्ने र पानीले पखाल्ने काम पनि भइरहेको छ।
हेर्नुस् तस्बिर :