कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि देशभर लकडाउन गरिएसँगै कर्णाली प्रदेश सरकारले लकडाउनका कारण बीच बाटोमा अलपत्र परेका यात्रुहरूका लागि हटलाइन सेवा सुरू गरेको छ।
मंगलबारदेखि १११० नम्बरको हटलाइन सेवा सुरू गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।
मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको निर्देशनमा मंगलबार बसेको कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिले हटलाइन सेवा सुरू गरेको हो।
बीच बाटोमा अलपत्र परेका यात्रुहरूको उद्दारका लागि नि:शुल्क हटलाइन सेवा सुरू गरिएको मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।
विपद् व्यवस्थापन कार्यकारी समितिका संयोजक रहेका सामाजिक विकास मन्त्री दल रावलले नि:शुल्क हुनेगरी सुरू गरिएको हटलाइन सेवामा अलपत्र परेका यात्रुहरूले तुरून्त १११० मा फोन गर्न सक्ने बताए।
‘घर फर्किनका लागि यात्रा सुरू गरेका तर लकडाउनका कारण बीच बाटोमा अलपत्र परेका मानिसले हटलाइनमा फोन गर्नुपर्छ,’ उनले भने, ‘यो सेवाको उपयोग गरी सरकारलाई आफ्नो अवस्थाको बारेमा जानकारी दिएमा सरकारले सहयोग गर्नेछ।’
हटलाइनमा प्राप्त सूचनाका आधारमा सरकारले यातायातको व्यवस्थापन गरी अलपत्र यात्रुको उद्दार गर्ने, उनीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्ने तथा स्वास्थ्य अवस्थाका आधारमा क्वारेन्टाइनमा राख्नु पर्नेलाई राख्ने र बाँकीलाई उनीहरूको गन्तव्यसम्म पुर्याइने मन्त्री रावलले बताए।
रोजगारीका लागि भारत गएका कर्णाली प्रदेशका अधिकांश नागरिक फर्किने क्रममा बीच बाटोमा अलपत्र परेको गुनासो प्राप्त भएपछि प्रदेश सरकारले यस्तो निर्णय लिएको उनले जानकारी दिए।