कोरोना भाइरसले विदेशमा रहेका दुई जना नेपालीको ज्यान लिएको छ।
पछिल्लो समय अमेरिकाको न्युयोर्कमा कोरोना भाइरसका कारण पाँचथरका अनिल लिम्बुले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्।
पाँचथर कुम्मयाक गाँउपालिका-९का ५० वर्षीय अनिलको मृत्यु भएको उनका दाइ खगेन्द्र सम्बाहाम्फेले पुष्टि गरेका छन्।
अनिलको मृत्युबारे खगेन्द्रलाई पनि उनका माइला भाइले हङकङबाट जानकारी दिएका हुन्।
'माइलाको फोन आएको थियो। ७ दिन अघि अस्पतालको आइसियूमा राखेको थियो,' खगेन्द्रले सेतोपाटीसँग भने,'कोरोनाभाइरसको कारण मृत्यु भएको भनेको छ।'
अनिल १८ वर्षदेखि न्युयोर्कमा ट्याक्सी चलाउने काम गर्थे भने उनका दुई छोरा र एक छोरी पनि उतै बस्छन्।
अनिल मधुमेहका रोगीसमेत रहेको उनका दाइ खगेन्द्रले बताए।
यसअघि बेलायतको लन्डनमा एकजना पूर्व गोर्खा सैनिकको कोरोना भाइरसबाट ज्यान गएको थियो।