कोरोना भाइरस महामारीले विश्व संकटमा छ। नेपालमा पनि समस्या नआउला भन्न सकिन्न। यस्तो बेला केही मनकारीले आफ्ना घर, होटललाई क्वारेन्टाइन बनाएर सहयोग गर्ने भएका छन्। केही घरबेटीले २–४ महिनाको डेराभाडा नलिने निर्णय गरिसके।
सबैले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेका बेला नमोबुद्ध नगरपालिका निवासी मंगलाल श्रेष्ठले नगद नै सहयोग गर्ने बताएका छन्।
दैनिक ज्यालादारीमा काम गरी छाक टार्ने भरिया र नाङ्ले व्यापारीलाई इञ्जिनियर मंगलालले तीन लाख रूपैयाँ सहयोग गर्ने भएका हुन्। यो कुरा उनले आइतबार आफ्नो फेसबुक स्टाटस मार्फत् जानकारी गराएका छन्।
'कोरोना भाइसर माहामारीले दिनभरी ज्यालादारी गरी छाक टार्ने मजदुर, नाङ्ले पसलेलाई समस्या परेको छ। मजदुर र अति नै विपन्न नेपाली दाजुभाइ तथा दिदीबहिनीका लागि सहयोग गर्ने भएको छु,' श्रेष्ठले आफ्नो स्टाटसमै लेखिएका कुरा सेतोपाटीसँग भने, '५० परिवारलाई करिब ३ लाख रूपैयाँ सहयोग गर्ने इच्छा छ।'
उनका अनुसार सहयोग पाउन घरबेटीले 'यो विपन्न हो, भरिया वा नाङ्लो पसले हो' भनेर सिफारिस दिनुपर्छ। यसका साथै नेपाली नागरिकताको प्रतिलिपि पनि मंगलाललाई उपलब्ध गराउनुपर्नेछ। जो कोहीले 'म विपन्न हुँ' भनेर रकम दावी गर्ने सम्भावना भएकाले मंगलालले यो शर्त राखेका हुन्।
विपन्न कोटामा अन्य मान्छे पर्न नदिन उनले घरबेटीको सिफारिस अनिर्वाय गरेका हुन्।
कोही भरिया वा नाङ्ले व्यवसायी नागरिकता र घरधनीको सिफारिस लिएर गए उनले बिना हिचकिचाहट आर्थिक सहयोग गर्ने बताएका छन्।
'घरबेटीले नै सिफारिस गरेपछि अलि भरपर्दो हुन्छ। वडाको सिफारिस भए अझै राम्रो हुन्थ्यो तर उनीहरूलाई वडा पुग्नै समस्या देखेपछि घरबेटी रोजेको हुँ,' उनले भने।
केही दिनयता स्कुल, कलेज, सरकारी कार्यालय, व्यापार, व्यवसाय, होटल, रेस्टुरेन्ट ठप्प छ। यस्तै मध्यम व्यापार-व्यवसायसँग दैनिकी जोडिएका मजदुरको दैनिकी पनि ठप्पै छ। न्युरोड, असन, बौद्ध जस्ता मुख्य व्यापारिक स्थानमा भारी बोकेर गुजारा गर्ने मजदुर आर्थिक संकटमा छन्। उनीहरूको जीवनयापनमा कोरोनाले मुख्य प्रभाव पारेको छ।
बुद्धनगर बस्दै आएका मंगलाल श्रेष्ठले शनिबार असन र बौद्धका गल्लीमा केही मजदुर भेटेका थिए। काठमाडौंमै डेरागरी बस्ने मजदुरहरूसँग कुराकानी गरे। थाहा भयो, भारी बोक्ने काम नपाउँदा उनीहरू चिन्तित छन्। काम नभएपछि बिहान-बेलुका के खाने भन्ने समस्या विकराल बन्दै छ।
'शनिबार बिहान भरियाहरूसँग कुराकानी गरेको थिएँ। काम नभएपछि भोकै बस्नु परेको रहेछ। उनीहरूको समस्या सुनेपछि साह्रै छटपटी भयो। राती निदाउन पनि सकिनँ,' सहयोग गर्ने निर्णयबारे उनी बताउँछन्, 'बिहान कुनै पूर्वतयारी बिनै सहयोग गर्ने घोषणा गरेँ। समस्या परेका बेला सोचेर बसेर किन समय खेर फाल्नू।'
उनी सिभिल इञ्नजिनियर हुन्। आफ्नै 'कन्सलट्यान्सी' चलाउँदै आएका श्रेष्ठ नेपाली सेनामा समेत कार्यरत थिए। सेनाको जागिरले नागरिकको सेवामा लाग्न प्ररित गरेको उनी बताउँछन्। आफूले सुरू गरेको सहयोग अभियानमा अन्य दातालाई पनि जोडिन श्रेष्ठले आह्वान गरेका छन्।
'सेनामा काम गर्दा यस्ता थुप्रै विपदमा काम गरियो। नागरिकको सहयोग गर्ने बानी नै लागेको छ। दुःख देख्नै सक्दिनँ,' उनले भने, 'हामीलाई सामान्य लाग्ने समस्या समाजको अर्को एउटा वर्गलाई विकराल लाग्न सक्छ। त्यसैले यस्तो समयमा सबैले मिलेर काम गरौं, सेवाभाव राखौं।'
सबैलाई पायक पर्ने स्थान छनोट गरेर आगामी शुक्रबार प्रमाणसहित आएका विपन्नलाई रकम वितरण गरिने उनले बताए। पहिलो चरणमा आफूले घोषणा गरेको रकम प्रतिपरिवार ६ हजार रुपैयाँ दरले ५० परिवारलाई दिइने उनको योजना छ। अन्य दाताले पनि आर्थिक सहयोग गरे समस्यामा परेका परिवारलाई पनि सहयोग गर्ने उनले सोचेका छन्।
साथै आर्थिक अवस्था कमजोर भएका, भोकै बस्नु परेका कोही भए ९८५१०६१८३७ र ९८५११२२९५५ मा फोन गरी जानकारी दिन अनुरोध गरेका छन्। यी नम्बर मंगलाल र उनकी श्रीमती रूक्मिणी श्रेष्ठको हो।