गायक दीपक बज्राचार्य र उनको 'रिदम' ब्यान्डका सदस्यहरू गत बुधबारदेखि क्वारेन्टाइनमा बसेका छन्। अस्ट्रेलिया र न्युजिल्यान्डको दुई महिना लामो सांगीतिक भ्रमण गर्ने उद्देश्य लिएर गएको ब्यान्ड कोरोना भाइरस जोखिम बढेपछि दुई सातामै स्वदेश फर्केको थियो।
दीपक बज्राचार्य, ब्यान्डका सबै सदस्यका साथै लाखे र झाँक्रीका रूपमा अन्य दुई कलाकार पनि उता गएका थिए। दीपक, ब्यान्डका सदस्य र यी दुई कलाकारसहित छ जनै अहिले ललितपुर, भैंसेपाटीनजिकैको एउटा घरमा अरूबाट बेग्लै बसेका छन्।
रिदम ब्यान्डमा दीपकबाहेक रिकी शाक्य, रोजन कायस्थ, विकी शाक्य, राजीव बज्राचार्य (लाखे) र लिजेन्द्र महर्जन (झाँक्री) छन्।
उनीहरू सबै फर्केर विमानस्थलबाट सिधै 'मेरो घर' नामको होमस्टेमा बसेका छन्। यो घर भ्रमण वर्ग २०२० लाई लक्षित गरी दीपककै साथीहरूले बनाएका थिए। यसमा दीपककै पनि लगानी छ।
'घर बनिसकेपछि हेर्न आउँला भन्दाभन्दै सेल्फ क्वारेन्टाइनमा बस्ने गरी आउनुपर्यो,' उनले शुक्रबार सेतोपाटीसँग फोनवार्तामा भने।
उनले व्यक्तिगत रूपमा आफ्नै घर गएर बस्न सक्ने भए पनि पूर्वसतर्कताका लागि आफूहरू सेल्फ क्वारेन्टाइनमा बसेको बताए।
भने, 'हामी सुरक्षित छौं भन्नेमा ढुक्क छौं। तर यो अरूको स्वास्थ्यसँग पनि जोडिएकाले हाम्रोतर्फबाट सक्ने सतर्कता अपनाएका हौं। अलिकति दुःख गर्दा जोखिम कम हुन्छ भने किन नगर्ने भनेर हामी सोझै यहाँ आएका हौं।'
'मेरो घर'मा उनीहरू छ जनै अलग-अलग कोठामा बसिरहेका छन्। मास्क, स्यानिटाइजर लगाइरहेको र दूरी कायम गरिरहेको बताउने उनीहरू खाना भने एकै ठाउँमा पकाउँछन्। धेरैजसो एकपटक प्रयोग गरेर फ्याँक्न मिल्ने प्लेट-कचौरामा खाइरहेका छन्।
दीपकका अनुसार उनीहरू आवश्यक कुरा ख्याल राखेर अनुशासनमा बसिरहेका छन्।
अस्ट्रेलियाबाट फर्कनेनिश्चित भएलगत्तै उनीहरूले आफ्ना साथी-परिवारलाई खबर गरेका थिए। 'मेरो घर'मा खानेकुरा र आवश्यक सामान बन्दोबस्त गरिदिन भनेका थिए। खाना आफैंले बनाएर खाइरहेका उनीहरुलाई अहिले पनि आवश्यक सामान र खानेकुरा साथीहरूले नै ल्याएर बाहिर छाडिदिन्छन्।
उनीहरू यसरी बसेको तीन दिन भयो। चौध दिनसम्म यहाँ बस्दा नयाँ गीत-संगीत सिर्जना गर्नुपर्ला भन्ने सोचेका दीपक र साथीहरू बाध्यतावश् निष्क्रिय बस्नुपर्दा 'बोर' भइसकेका छन्।
दीपक भन्छन्, 'यस्तो माहोलमा केही गर्न नसकिने रहेछ। खाली दिमाग कोरोनाका घर नहोस् भनेर अब जाँगर चलाउनुपर्ने भएको छ।'
सबै सदस्यसँगै भएकाले उनीहरू बीच नयाँ सिर्जनाबारे सल्लाह पनि भइसकेको छ। व्यक्तिगत रूपमा चाहिँ आफूलाई व्यस्त राख्न दीपकले अस्ट्रेलिया भ्रमणको भ्लग राख्ने तयारी गरिरहेका छन्।
'ती भ्लग आफैं सम्पादन गर्दै अपलोड गर्ने तयारीमा छु,' उनले भने।
सेल्फ क्वारेन्टाइन बसाइँका केही भिडिओ दीपकले फेसबुकमा पोस्ट गरिसकेका छन्। भिडिओमा उनले त्रिभुवन विमानस्थलमा सुरक्षा र सतर्कताको अवस्था कमजोर रहेको गुनासो पनि पोखेका छन्।
अस्ट्रेलियाबाट सतर्कता अपनाउँदै आए पनि विमानस्थलबाट ओर्लनेबित्तिकै आफूहरू झस्किएको उनले बताए।
अस्ट्रेलियाबाट फर्किँदासम्म जति सतर्कता र सावधानी अपनाए पनि युरोप, मलेसिया र अन्तबाट आएका सबैलाई एउटै हुलमा मिसाइएकोमा उनले गुनासो पोखे।
भने, 'प्लेनबाट झरेर पैदल आउन सक्ने दूरीमा पनि सबैलाई कोचेर एउटै गाडीमा बसाइयो।'
आफूसँगै यात्रा गरेर आउने धेरै मान्छेलाई दीपक र उनका साथीले सोधेका रहेछन्, 'काठमाडौं पुगेपछि कहाँ जानुहुन्छ?'
तीमध्ये ९० प्रतिशतले घर जाने भनेको सुन्दा आफूहरू झस्किएको उनले बताए।
'सरकारले सेल्फ क्वारेन्टाइनमा बस्नु भनिरहेको छ। सरकारले नभनेको अवस्थामा पनि आफू खुसी गर्ने समय होइन भनेर क्वारेन्टाइमा बस्ने निर्णय लियौं,' उनले भने, 'धेरैले यसबारे गम्भीर भएर ध्यान नदिइएको पायौं।'
कार्यक्रमका लागि सुरूमा अस्ट्रेलिया पुगेका दीपक र रिदम ब्यान्डले जम्मा तीन वटा शो मात्रै गरेर नेपाल फर्केका थिए। महत्वपूर्ण ठूला शो बाँकी नै थिए। अस्ट्रेलियामा राज्य र नागरिक दुवै पक्षले कोरोना संक्रमणबाट बच्न आ-आफ्नो तर्फबाट पहल गरेको महशुस गरेका दीपक काठमाडौं विमानस्थल झर्नेबित्तिकै खिन्न भएको बताउँछन्।
उनले भने, 'हामी स्वस्थ छौं भन्नेमा ढुक्क छौं। हामी मात्रै ढुक्क भएर पुग्दैन। घरपरिवार र साथीभाइसँगै राज्यलाई शंका र त्रास घटाउन सबैले सावधानी अपनाउँदै सहयोग गर्नुपर्छ।'
त्यसैले जति नै समस्या भए पनि आफूहरूले सेल्फ क्वारेन्टाइन रोजेको उनको भनाइ छ।
संगीत कन्सर्टका लागि धेरै पटक दीपक र ब्यान्डका सदस्यहरू लामो समय सँगै बसिसकेका छन्। उनीहरू कसलाई के मनपर्छ, के पर्दैन थाहा छ।
उनीहरूमध्ये गितारिस्ट रोजन शाक्य खाना बनाउन रूचाउँछन्। शुक्रबार मःमः खाने तयारी भइरहेको उनले बताए। भाँडा भने मिलेर माझ्छन् रे।
'लाखे' राजीव बज्राचार्य भने सरसफाईको काममा रमाउँछन्।
संगीत सबैको मन बहलाउने माध्यम भइहाल्यो।
मन भुले पनि नेपालमै हुँदा यसरी घरबाट धेरै दिन टाढा बस्नु अनौठो लाग्ने उनी बताउँछन्।
'घरका मान्छेमा पनि हामीलाई कोरोना नै लाग्यो कि भन्ने चिन्ता छ। हामीलाई भेट्न आउने जिद्दी गरिरहेका छन् घरबाट। हामीले नआउनू, नत्र क्वारेन्टाइनमा बसेको के अर्थ भनिरहेका छौं,' उनले भने, 'क्वारेन्टाइनमा बस्नु नै कोरोना लाग्नु हैन भनेर बुझाउन गाह्रो भइरहेको छ। हामीले सतर्कता अपनाउन सबैको भूमिका छ भनेर सकारात्मक सन्देश दिन खोजेका हौं।'
संकट बेला एकअर्काबाट टाढा बस्नु पर्दा, नकारात्मक खबर हेर्नु-सुन्नु पर्दा निराश भइने हो कि भन्ने डरबाट बच्न सकेसम्म रमाइलो माहोल बनाउन सबै सदस्यले प्रयास गरिरहेको उनले जानकारी दिए।