सरकारले कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरण तथा रोकथामको लागि भन्दै सबै तहका विद्यालय तथा विश्वविद्यालयका परीक्षा स्थगित गरेसँगै काठमाडौं छाड्नेहरूको संख्या बढेको छ।
बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति बैठकले सबै तहका विद्यालय तथा विश्वविद्यालयको परीक्षा चैत मसान्तसम्मका लागि स्थगित गरेको थियो।
स्कुल/कलेज बन्द भएसँगै उपत्यका छाड्नेको संख्या बढेको नेपाल यतायात राष्ट्रिय महासंघका अध्यक्ष योगन्द्र कर्माचार्यले बताएका छन्।
'आजदेखि धेरैको बिदा भएको छ त्यसैले बसपार्कहरूमा घुइँचो लागेको छ,'उनले भने,'बिहानदेखि नै बसपार्कका सबै काउन्टरहरूमा त्यत्तिकै घुइँचो छ।'
अन्य दिनको तुलनामा भन्दा बिहीबार भने संख्या बढेको ट्राफिक प्रहरीको भनाइ छ।
थानकोटका सई जीवनाथ कोइरालाका अनुसार काठमाडौं छाड्नेको संख्या अरू दिनको तुलनामा बढेको छ।
'बच्चाहरूको जाँच पनि सकियो, एसइई पनि सर्यो। त्यसैले होला मान्छे बाहिरिनेको संख्या बढेको छ,' कोइरालाले भने।
त्यस्तै, भक्तपुरको जगाती हुँदै बाहिरिनेको पनि संख्या बढेको छ।
'हिजोभन्दा आज यहाँबाट बाहिरिने संख्या अलि बढी नै छ ,'महानगरीय प्रहरी कार्यालय जगातीका सहायक टंक कँडेलले भने,'कति बाहिरिएका छन् भन्ने संख्या चाहिँ भोलिसम्म मात्रै आउनेछ।'
हेर्नुस् बालाजु बसपार्कमा देखिएका केही दृश्य: