अवस्था सामान्य हुन्थ्यो भने गायक प्रकाश सपूत यति बेला फिल्म 'परदेशी –२' को सुटिङमा व्यस्त हुन्थे। लकडाउनले उनलाई परदेशी होइन, घरदेशी बनाएको छ। अर्थात्, लगभग दुई महिने लकडाउनमा उनी आफ्नो पुर्ख्यौली थलो बागलुङ, धम्जामा परिवारसँग छन्।
व्यस्त दैनिकीले पारिवारिक भेटघाट कम भएको थियो। लकडाउनले परिवारसँग पुनःमिलन गराइदियो। यो अवधिमा उनी बुवाको सामीप्यमा हराएको बताउँछन्।
बुढ्यौली अवस्थामा पुगिसकेका बुवाको कपाल हलक्कै बढेको थियो। प्रकाशले बुवाको कपाल आफैं काटिदिए। अनि यही कपाल काट्ने सम्झनासँगै बुवा साउदी अरब बस्दाको क्षण पनि सामाजिक सञ्जालमा बाँडे।
बाबु साउदी छँदा कहिले पनि सलुनमा कपाल काट्न जान्थेनन्। पूर्वेली साथीको हातबाट कपाल कटाउँथे। त्यो देखेर अरू साथीले गिल्ला गर्थे रे- लोभी भन्दै। तर, उनका बाबु भन्थे- सलुनमा तिर्ने एक–डेढ सय रुपैयाँले छोराछोरीलाई कापी कलम किन्न हुन्छ।
'बुवाले लामो समय घरबाहिर बिताउनुभयो। कहिले भारत, कहिले मलेसिया, कहिले साउदी बुवाको कर्मभूमि बन्यो,' प्रकाशले सेतोपाटीसँगको टेलिफोन वार्तामा भने, 'गाउँका प्रायः बुवाहरूको कथा–व्यथा एउटै थियो।'
प्रकाशले परदेशमा काम गर्न गएका बुवा र छोरा' हरूका तिनै कथा सम्झेर कविता पनि कोरेका छन्ः
हरेक ३–४ सालमा एकपटक
आउँथे एक जोर गहिरा आँखा
र चुपचाप प्रश्न गर्थे मलाई
छोरा,
कहिले हुन्छस् ठूलो?
कहिले बाँड्छस् दुःख?
कहिले सक्छस् साहुको साँवा?
कहिले ठोक्काउँछस् मसँग गिलास
र बन्छस् बाउको साथी?
उत्तरमा अर्का एक जोर निर्दोष आँखाहरू
प्रश्नै फर्काउँथे।
बा,
कति पोल्दो हो अरबको घामले?
कति पोल्दो हो हाम्रो यादले?
कति पोल्दो हो साहुको साँवाले?
कति पोल्दो हो आफ्नै अधुरा रहर
र कहिल्यै नसकिने दुःखले?
३–४ सालमा एकपटक आउँथ्यो
एउटा खँदिलो ज्यानको गम्भीर अनुहार
र बनाउँथ्यो घरै उजेलो
थपिन्थ्यो, आमाको सिन्दुर, टीका र पोतेमा नयाँ चमक
भिजाउँथ्यो, भाइहरूको मुख गुलियो थुकले
सजिन्थ्यो, सबैको हरमा एक एक जोर नयाँ लुगा
पाक्थ्यो अँगेनामा, बडो प्यारले पालेको रातो भाले
बस्थ्यो, पुरानो बाक्सामा केही हजार नयाँ नोटहरू
त्यो दिन,
दिन दसैं हुँदैनथ्यो,
मन दसैं हुन्थ्यो,
किनकी,
बा आएको साल
आएकै दिन दसैं आउँथ्यो,
बा नआएको साल
दसैंको दिन पनि दसैं आउँदैनथ्यो...
कवितामा उनी आफ्ना बुवासँग बस्न नपाएको पीडा पोख्छन्। यसपालि लकडाउनले यो नियति थोरै भए पनि बदलिदियो। यति बेला लामो समयसम्म आमाबाबु-छोराछोरीसँगै बस्न पाएका छन्। घरबाहिर बसेका आमाबुवा फर्किँदा छोराछोरी जसरी खुसी हुन्थे, अहिले छोराछोरी आउँदा आमाबुवालाई त्यस्तै खुसी मिलेको प्रकाशको बुझाइ छ।
'पहिले बुवा कहिलेकाहीँ गाउँ आउनुहुन्थ्यो। अहिले छोराछोरी कहिलेकाहीँ गाउँ जान्छन्। घरका सदस्य टाढा भएका परिवारका लागि लकडाउन कुनै चाडभन्दा कम छैन,' उनी आफ्नै कविताको हरफ सम्झाउँछन्, 'हामी दाजुभाइलाई बुवा घर आएका दिन दसैंजस्तो लाग्थ्यो। अहिले छोराछोरी आउँदा आमाबुवालाई दसैंझैं लागेको होला।'
कामकाजले परिवारसँगको भावनात्मक लय विथोलिएजस्तो लागेको थियो प्रकाशलाई। अहिले त्यो लय फर्काउने मौका मिलेको छ। आमाबुवाका पुराना दिनमा फर्किन पाउँदा उनले आफूलाई भाग्यमानी महशुस गरिरहेका छन्।
'यस्तो अवस्थामा म आफूलाई सबभन्दा राम्ररी लकडाउन समय कटाइरहेको छु भन्न पछि हट्दिनँ,' उनी भन्छन्।
सहरमा जस्तो गाउँमा एक्कासि समय परिवर्तन हुँदैन। परिवर्तन भएका चिजबिजले मानिसलाई थाहै नदिई रूप फेरिसक्छन्। प्रकाश छक्क पर्दै गाउँको व्याख्या गर्छन्, '४५ दिनअघि गाउँ आउँदा र अहिले धेरै परिवर्तन भएको छ। गहुँ काटेर छरेको मकै पनि हलक्क भइसक्यो। तर कति बेला भयो, म यहीँ भएर पनि पत्तो पाइनँ।'
प्रकाशलाई प्रकृतिसँग रमाउन मन पर्छ। खेतबारीमा काम गर्न, पसिना बगाउन उत्तिकै चाख पर्छ। माटोको गन्ध सुँघेर हुर्किएकाले होला, रमाइलो महशुस गरिरहेको बताउँछन्।
'केही दिन अघिसम्म समय टक्क अडिएजस्तो लाग्थ्यो। अहिले त पछाडि फर्किएजस्तो लागेको छ,' उनी लकडाउन अनुभूति सुनाउँछन्, 'किनकि, म आफैं पहिले गाउँमा जे–जे काम गर्थेँ, त्यही काम गरिरहेको छु। गाउँमा संघर्ष गरेका दिन ताजा भएका छन्।'
लकडाउन सुरू हुँदा उनी पोखरा थिए। काठमाडौं आउनुभन्दा गाउँ जान उपयुक्त ठाने, 'जीवनकै व्यस्त समयमा छु। तर समयले यसरी परिवारसँग रमाउने मौका देलाजस्तो लागेको थिएन।'
करिअरको उत्कर्षमा रहेका प्रकाशले श्रीमतीसँग पनि खुलेर कुरा गर्न पाएका थिएनन्। छोरीसँग पुग्नेगरी खेल्न पाएका थिएनन्। पारिवारिक सुख–दुःख साट्न पाएका थिएनन्। लकडाउनले यी सबै अवसर दिएको छ।
'श्रीमतीसँगै खुलेर कुरा गरेको रहेनछु। अहिले बल्ल हामीबीच साटासाट गर्न धेरै घटना रहेछन् भन्ने थाहा भयो,' प्रकाश दंग पर्दै सुनाउँछन्।
समय कटाउन उनी बिहानै डाँडातिर उक्लिन्छन्। हाइकिङ गर्छन्। बिहान बेलुका भाइहरूसँग ब्याडमिन्टन र क्यारमबोर्डमा रमाउँछन्।
यहीबीच उनले भागवत गीता पाठ गर्न थालेका छन्। जीवनको तत्वबोधका लागि गीता उपयोगी बनेको बताउँछन्। फिल्म हेर्ने बानी पनि छुटेको थियो। अहिले फर्किएको छ। यस अवधिमा करिब ४० फिल्म हेरिभ्याए।
उनी सुनाउँछन्, 'राम्रो फिल्म हेर्दा होस् वा राम्रो पुस्तक पढ्दा, घन्टौं ह्याङओभरमा हुन्छु। केही समय यसरी पनि बित्यो।'
गाउँमा इन्टरनेट राम्रो नभएकाले सामाजिक सञ्जालले त्यति अल्झाएको छैन। सामाजिक सञ्जालको जञ्जालबाट मुक्त हुँदा पनि उनले एक किसिमको खुला अनुभव गरिरहेकै छन्।
'नेट भएको भए काठमाडौं बस्दा र गाउँमा आउँदा खासै फरक हुँदैन थियो होला। त्यसैले पनि नेट नहुनाले समय रसिलो बनिरहेको छ,' उनी इन्टरनेटको संसारबाट बाहिर हुँदाको मजा साट्दै भन्छन्, 'यो समयलाई यसैगरी बिताएको छु, कुनै किसिमको दबाव महशुस गरेको छैन।'
यसबीच उनले भ्लग भने बनाएका छन्। देवेन्द्र बब्लुसँग मिलेर बनाएको उक्त भ्लगलाई उनले 'आउँछ दिन फर्केर' नाम दिएका छन्। भिडिओमा आफ्नो गाउँघर र परिवार समेट्ने प्रयास गरेका छन्।
सिर्जना गर्ने लतमा उनले डायरी पनि लेख्न सुरू गरेका थिए। आठ वर्ष अघिदेखि लेख्न थालेको कथा-व्यथाले निचोड पाउन सकेको थिएन। लकडाउनले त्यसलाई परिस्कृत बनाइदिएको छ। अहिले पाण्डुलिपि तयार भइसक्यो। डायरी किताबका रूपमा निस्कन्छ वा फिल्म नै तयार हुन्छ, यसै भन्न सक्दैनन् उनी।
'परदेशी–२' ले प्रकाशलाई अभिनय गर्ने मौका दिँदै थियो। यो सपनामा कोरोना लागे पनि के थाहा, भाग्य अर्को ढोकाबाट छिर्छ कि?
त्यसैको प्रतीक्षामा छन् प्रकाश।