कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि सल्यानको कपुरकोटमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ। प्रदेश ५ र कर्णाली प्रदेशको दक्षिण पूर्वी सिमानाका रुपमा रहेको कपुरकोटमा शुक्रबारदेखि स्वास्थ्य सहयता कक्ष स्थापना गरिएको हो।
शुक्रबार कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीसहितको टोली कपुरकोट पुगेर स्वास्थ्य सहायता कक्ष स्थापना गरेको हो। कपुरकोटस्थित प्रहरी चेक पोइन्ट नजिकै हेल्थ डेस्क स्थापना गरिएको छ।
हाललाई स्थानीय तहका स्वास्थ्यकर्मीहरुको रहनेगरी हेल्थ डेस्क स्थापना गरिएको स्वास्थ्य निर्देशक जोशीले जानकारी दिइन्। उनका अनुसार उक्त हेल्थ डेस्कमा ३ जना कर्मचारी खटिने छन्। केही दिनभित्रै प्रदेशबाट पनि थप जनशक्तिको व्यवस्थापन गरिने निर्देशक जोशीले बताइन्।
यस्तै, कर्णाली प्रदेशमा प्रवेश गर्ने छिमेकी देशसँग जोडिएको हिल्सा नाका र प्रदेश ५ सँग जोडिएको अर्को नाका बबईमा हेल्थ डेस्क स्थापना यसअघि नै गरिएको छ।
सुर्खेतस्थित विमानस्थलमा पनि डेस्क स्थापना गरिएको छ। कर्णाली प्रदेश सरकारले मन्त्रिपरिषद्को बैठकबाटै कर्णालीसँग जोडिएका सीमा नाकासहित पाँच ठाउँमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको थियो।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको जोखिम भएको देशका रुपमा राखेको छ। चीनबाट सुरु भएको कोरोना भाइरस हाल विश्वका विभिन्न राष्ट्रमा फैलिएको छ। चीनसँग कर्णाली प्रदेशको दक्षिणी नाका तिब्बतसँग जोडिन्छ।
हेल्थ डेस्कमा आवतजागत गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्नुका साथै सचेतना फैलाइने सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। महाशाखाका अनुसार डोल्पा, मुगु, दैलेख, कालिकोट लागायतका ठाउँमा पनि आवश्यकता अनुसार हेल्थ डेस्क स्थापना गरिनेछ।