उपेन्द्र सुब्बाको हुलिया- कालो, सेतो र कैलो दाह्री-जुँगा र कपाल। हुलियाजस्तै उनको रूचि पनि बहुरंगी छ।
'कबड्डी' शृंखला, 'तान्द्रो', 'देश खोज्दै जाँदा', 'पुरानो डुंगा' लगायत फिल्मका पटकथा लेख्नुअघि उनी कथाकार थिए। त्यसअघि कवि र अझअघि गीतकार।
जसरी चिनिए पनि उनको परिचयको केन्द्रमा लेखक थियो। अब अर्को कदममा निर्देशक बन्ने पालो आएको छ। उनको निर्देशनको पहिलो फिल्म 'जारी' आगामी जेठमा सार्वजनिक हुँदैछ।
छायांकन सकेर सम्पादन, ध्वनि, संगीत, पार्श्व संगीत जस्ता कामका लागि उनको धेरै समय स्टुडियोमा बितिरहेको छ।
'चौपट छ। निद्रा हराएको छ,' सेवा रेकर्डिङ स्टुडियो, अनामनगरमा भेटिएका उपेन्द्र खबर सुनाउँछन्।
फिल्मका लागि रातदिनको चटारो, पैसा खोज्ने दौडधूप र अनेक काममा अल्झिएका उनी अस्तव्यस्त छन्, दुःखी भने छैनन्। प्रेममा पर्दा निद्रा हराए पनि तारा गनेर रमाउने प्रेमीको हालमा छन्।
उनी भन्छन्, 'सिर्जनात्मक काममा प्रक्रियाको विशेष अर्थ हुन्छ। भनूँ, म प्रक्रियामा रमाइरहेको छु।'
प्रक्रियामा रमाइरहेका उपेन्द्रलाई फिल्मको परिणामबारे सोच्दा भने तनाव भइहाल्छ। यसको कारण छ– चियागफ, भट्टीगफ वा अन्य अनौपचारिक जमघटमा उपेन्द्रले नेपाली फिल्मबारे साथीहरूलाई मज्जैले 'गफ' दिएका छन्। केही फिल्मको स्तरबारे 'कुरा काटेका' छन्।
'अब अरूले पालाको पैंचो तिर्ने दिन आउने पो हो कि!,' सदाबहार हाँसो हाँस्दै डर पोख्छन्, 'पाठकको मनमा बसेको लेखकले फिल्म बनाउनु जोखिम हो। फिल्म मेरा साथीले अपेक्षा गरेजस्तो भइदिएन भने हावातालको गफ दिने मान्छे भन्लान् भन्ने पीर छ।'
यो जोखिम कम गर्न उनले आफ्नो 'कम्फर्ट जोन'मा बसेर काम गरेका छन्। आफू जन्मे-हुर्केको पूर्वी पहाडको लिम्बू समाज र संस्कृति उनको 'कम्फर्ट जोन' हो। 'जारी'मा उनले आफ्नै ठाउँ आङसाराङ, पाँचथरको कथा भनेका छन्।
'जारी' प्रेम कथा हो।
'निर्देशन गर्ने रहर थाहा पाएपछि साथीहरूले प्रेम कथामा सिनेमा बनाऊ भने,' उनी बताउँछन्, 'लिम्बू समुदायमा बिहेवारीमा चल्ने कुरा हो, जारी। हाम्रोमा मागी बिहा भनेजस्तै जारी बिहे पनि हुन्छ। फिल्मको कथामा प्रेम र जारी प्रथा जोडिएर आएछ।'
छ-सात वर्षअघि नै लेखेको 'जारी' उनी आफैंलाई मनपर्ने कथा हो। यसमा झन्डै सम्बत् चालीस दशकको परिवेश उतार्ने प्रयास गरेका छन्। अचेल हामीकहाँ पनि फिल्मलाई 'अथेन्टिक' बनाउन मिहेनत गर्न थालिएको छ। उपेन्द्र पनि सक्दो मिहेनत गरेको दाबी गर्छन्।
आफ्नै गाउँमा छायांकन गरे पनि गाउँमा बजार र 'विकास' पसिसकेकाले उनले पाँचथर, ताप्लेजुङ, तेह्रथुम लगायत धेरै ठाउँ चहार्नु परेको थियो।
फिल्मका लागि गरेको तयारी सुनाउँछन्, 'एक वर्षसम्म पनि खोजेजस्तो ठाउँ नभेटेपछि, खोज्दाखोज्दा थाकेपछि भुइँचालाले भत्काएको आफ्नै पुरानो घर मर्मत गरेँ।'
भनिन्छ, राम्रो पात्र छान्न सके पात्रको आधा तयारी आफैं हुन्छ। उनको दाबी छ, 'मेरो फिल्ममा लायकको कास्टिङ छ।'
दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने 'जारी'मा विजय बरालले निर्वाह गर्ने भूमिकाका लागि विशेष तयारी गर्नुपरेको बताउँछन्।
'विजयले साह्रै मिहेनत गरेर लिम्बू भाषा सिकेको छ,' उनी भन्छन्।
फिल्ममा तिहारको बेला लाग्ने मेला खिच्नुपर्ने थियो। मेलाकै समय कुरेर छायांकन गर्दा पनि सन्तुष्टि मिलेन।
'कथा अलि पुरानो समयको हो जहाँ बिजुली, गाडीको बाटो नपुग्दाको गाउँ देखाउनुपर्ने थियो। तर पहिला जस्तो छैन नि त। जतासुकै बाटो, घर र बिजुलीका तार। मेलाको दृश्यका लागि नयाँ सेट बनाउनुपर्यो,' उनले भने।
कात्तिक र मंसिरका बेला छायांकन गर्दा आङसाराङका डाँडामा कुहिरोले लुकामारी खेल्न थालिसकेको थियो। घाम चाहिएको बेला कुहिरो लाग्ने, कुहिरो कुर्दा घाम लाग्दिने। घाम-कुहिरोको लुकामारीसँगै घाम चाँडै डाँडापारि गएर छेकिँदा छायांकनका लागि अर्को दिन कुर्नुपर्थ्यो।
पहिलो पटक निर्देशक बने पनि यस्ता मोटा, मसिना समस्याबारे 'सिनेमा आर्ट'मा आबद्ध उपेन्द्र मानसिक रूपमा तयार थिए। त्यसैले धेरै घटनाक्रम नौलो लागेन। बरू भन्छन्, 'के-के गरियो भन्दा पनि आउने कामको चिन्ता बढी छ हौ।'
छायांकन सकिएपछि 'इन्ड क्ल्याप'को क्षण अझै उनको आँखैमा अल्झिएको छ।
'इन्ड क्ल्यापमा म धेरै भावुक भएँ। झन्डै रोएँ। अहिले पनि त्यो क्षण सम्झेर घाँटी रोकिन्छ। त्यो भयंकर अनुभव थियो,' मुसुक्क नहाँसी नबोल्ने उपेन्द्र भावुक हुँदै भन्छन्।
दवाब र थकान हुँदा बेला-बेला उनी छायांकन स्थलमा कलाकारसँग कड्केका रहेछन्। कामको झोंकमा कड्किँदा कसैको चित्त दुखाइयो कि भनेर उनलाई ग्लानी भएको रहेछ।
'काम गर्दागर्दै, झन्डै दुई महिनाजति भाइबहिनी, साथीलाई कति हप्काएँ, कराएँ, चिच्याएँ। गाली बर्साएँ। धत्!,' आफैंसँग रिसाएझैं गर्छन्, 'मलाई कड्किने, बम्किने उपेन्द्र सुब्बा मन पर्दैन।'
गाउँबाट नुन-तेलका लागि दुई दिन हिँडेर दमक झर्थे उपेन्द्र। फिल्म उनका लागि विरानो संसार थियो। काठमाडौं आइपुग्दा उनका साथ केही थान गीत मात्रै थिए। उनलाई काठमाडौं छिर्नुअघिको अवोध उपेन्द्र सुब्बा सम्झँदा मात्रै पनि आनन्द आउँछ रे!
२०५७ सालताका दीप श्रेष्ठको स्वरमा उनको पहिलो गीत 'जीवन आखिर के नै हो र' रेकर्ड भएको थियो। रेडियो नेपालको वार्षिक प्रतियोगितामा पुरस्कृत पनि। त्यही गीतको श्रष्टा नाताले उनी राजन मुकारुङ र हाङयुग अज्ञातसँग नजिकिए र 'सिर्जनशील अराजक'का अभियन्ता बने।
'काठमाडौं आएपछि यही सहरले सपना देखाउन थाल्यो। सपनाले मान्छेको मन बिथोल्छ, भड्काउँछ। म भड्किएँ। फिल्म बनाउनु, दस दुनियाँ भड्किनु त हो नि,' उनी भन्छन्, 'एउटा जिन्दगीलाई कथा-कहानी आवश्यक छ र? जिन्दगी कटाउन त आनन्द चाहिन्छ। आनन्द त त्यतिखेरै थियो, अहिले त कहाँ हुनु!'
काठमाडौं आएर आफूजस्तै सपना देख्नेसँग ठोक्किने क्रममा उनको भेट निर्देशक-निर्माता रामबाबु गुरुङसँग भयो। निर्देशक रामबाबु गुरुङको संगतमा उपेन्द्रले फिल्म हेर्न, फिल्मका अनेक पक्षबारे अध्ययन र छलफल गर्न मात्रै सिकेनन्, उनकै 'उक्साहट'मा पटकथाकार भए।
'रामबाबुसँग ठोक्किएपछि म बिग्रिएँ।'
यो आरोप पुष्टि गर्न भन्छन्, 'रामबाबुलाई लेखक चाहिएको थियो। कविता लेख्ने समय कहानीलाई दिनुपर्यो।'
एकसरो टिप्पणी गरिसकेपछि उनी यथार्थवादी बन्दै थप्छन्, 'कवितामात्रै लेख्दा भात खाने चिन्ता बढी हुन्थ्यो होला। कहानी लेख्नु बाँच्ने उपक्रम बन्नुमा आर्थिक कारण पनि त होला।'
पछिल्ला पाँच-सात वर्षमा उनले पटकथा लेखनसँगै छायांकन र फिल्म प्रदर्शनपछिका गतिविधिसम्मको राम्रै अवलोकन गर्ने मौका पाए। रामबाबु, दयाहाङ राई लगायतको संगत गरेका उनमा सधैं केही नयाँ गर्ने धून चल्दोरहेछ।
भन्छन्, 'अरूले काम गरेको हेर्दाहेर्दै दिमागमा इमेज बन्न थाल्यो। आफू निर्देशक भएको भए यसो गर्थें, उसो गर्थें भन्ने भयो। तर अरूकोमा हस्तक्षेप गर्न नमिल्ने।'
'देश खोज्दै जाँदा' को छायांकनमा सहभागी हुँदा 'आफैं फिल्म बनाउनुपर्छ कि क्या हो' भन्ने सोच दिमागमा झिलिकमिलिक भएको रहेछ। निर्देशक बन्ने रहरले मात्रै नभई एउटा सुन्दर कथा भन्न सक्छु भन्ने आत्मविश्वास भएपछि 'जारी' बनाउने निधो गरेको उनको दाबी छ।
फिल्म तयारीका आधाजति काम सकिसकेका उनी भन्छन्, 'अन्तिम चरणमै त पुगिसकेको छैन। र पनि 'जारी'मा दर्शकले 'लाटो पहाड'माजस्तै लिम्बू समुदाय र संस्कृतिको जीवन्त अनुहार देख्नेछन्।'
आत्मविश्वास भए पनि उनी आफ्नो संकोच लुकाउँदैनन्। भन्छन्, 'उत्साह र संकोच मिसिएको बेग्लै मनोदशामा छु।'
आगामी जेठमा उनी निर्देशकको दौडमा हुनेछन्। यो दौडलाई एउटै निर्देशनमा सीमित नराख्ने संकेत गर्दै भन्छन्, 'अहिले उमेर नै के भएको छ र, पचास त हो नि, हाहा...।'
सधैं नयाँ काम गर्न रूचाउने उनको तन्नेरी जोश गजबकै छ, 'अरू मान्छेलाई के लाग्छ कुन्नि, मलाई पटक्कै बुढो अनुभव भएको छैन।'
'साँल्दीज्यू, एक ट्वाँक चढाऊँ कि' जस्तो रसिलो कविता लेख्ने हाँस्यचेतका धनी उपेन्द्र भन्छन्, 'लाप्पा (झगडा) परूम् भन्यो भने जोसँग पनि भिड्न तयार। कुदूँ वा हिमाल चढूँ भन्यो भने पनि तयार। म केमा कमजोर छु त हाम्रो युवाभन्दा? कुद्दा गति उत्तिको नहोला, तर बाजी राखूँ भने राख्छु।'
गीत वा कवितामै अडिएको भए सायद उपेन्द्रले कथा लेख्ने थिएनन्। कथा नलेखेको भए उनी पटकथाकार हुन्थेनन्। पटकथाकार नबनेको भए उनी निर्देशक हुन्थेनन्।
एउटै कामकुरोमा नअडिनू असन्तुष्टि हो। केही नयाँ सिकौं, गरौं भन्ने तिर्सना हो।उपे अझ, आफ्नै खोज पनि होला यो।
'यही खोजले मान्छेलाई भड्काउँदो हो,' उपेन्द्र भन्छन्, 'अहिले नै यो जिन्दगीलाई अर्थ दिने कोसिस नगरम्। भोलि–पर्सि मेरो कामको पनि कुनै अर्थ लाग्ला। या, म आफैं पनि मेरो जिन्दगीबारे अर्थ खोजूँला।'