केही महिला कैंचीले सेतो कपडा काटिरहेका छन्। केही सिलाई मेसिन खटखट पार्दैछन्। कोही सिलाइएका कपडामा आइरन लगाइरहेका।
यो दृश्य ललितपुर महानगरपालिका, समाज कल्याण महाशाखाको हो।
बुधबार हामी पुग्दा त्यहाँ सबैलाई भ्याइनभ्याइ थियो, मान्छे पनि धेरै। महानगरले २९ वटै वडाबाट सिलाइ तालिम लिएका महिलालाई यहाँ बोलाएको हो।
उनीहरूलाई यहीँ बोलाएर मास्क बनाउने तालिम दिइएको महानगरले जनाएको छ। हरेक वडाबाट २ जनालाई यो तालिम दिइएको हो। संसारभर कोरोना भाइरसको त्रास फैलिएसँगै हामीकहाँ पनि मास्क अभाव भइसक्यो। बजारमा धेरै मूल्य तिरे मात्रै यदाकदा पाइन्छ।
यस्तोमा केही दिनअघि ललितपुर महानगरले मास्क आफैं उत्पादन गर्ने घोषणा गरेको थियो। यहीअनुसार बुधबार तालिम दिइएको मेयर चिरिबाबु महर्जनका स्वकीय तथा मास्क निर्माण संयोजक राजु महर्जनले बताए।
उनका अनुसार बुधबार यहाँ मास्क बनाउन भेला भएका सबै महिलाले २-२ वटा मास्क बनाए।
पाटनकी गीता महर्जन आफूले बनाएको मास्क लगाउँदै दंग थिइन्। सिलाइ जानिरहे पनि मास्क बनाउन उनलाई आउँदैन थियो।
'कसरी बनाउने होला जस्तो लाग्थ्यो, सजिलो रहेछ। आज दुइटा बनाएँ,' उनले सुनाइन्, 'लगाउँदा पनि सजिलो छ। अब घरमै बसेर पनि बनाउन सक्छु।'
उनीसँगै आएकी विना महर्जनले पनि दुइटै मास्क बनाइन्। आफैंले जानेपछि घरमा सबैका लागि आकारअनुसार बनाउन सक्ने उनी बताउँछिन्।
'राम्रो मास्क बनाउन जानियो। अब आफैं सिलाउँछु, टोलका अरू महिलालाई पनि सिकाउनेछु,' उनले भनिन्, 'अहिले मास्क कतै पाइँदैन। आफैंले बनाउन जानेपछि आत्तिनै परेन।'
'बनाउन सजिलो रहेछ। आफैंले बनाएपछि सस्तो पनि भयो, राम्रो पनि। धोएर फेरि प्रयोग गर्न सकियो,' उनले थपिन्।
ललितपुर महानगरको सामाजिक विकास समिति तथा विपद् व्यवस्थापन समितिको पहलमा मास्क उत्पादन सुरू भएको हो। समुदायको पहलमा उत्पादन हुने मास्क बजार मूल्यभन्दा आधा सस्तोमा किन्न सकिने महानगरपालिकाले जानकारी दिएको छ।
सुती कपडाबाट उत्पादित मास्क प्रतिगोटा १५ रुपैयाँ पर्ने हिसाब महानगरले निकालेको छ। उत्पादकको यो लगानीमा ५० प्रतिशत महानगरले नै व्यहोर्नेछ। महानगरको लागतबाट उपभोक्तालाई छुट दिई करिब दस रूपैयाँ हाराहारीमा मास्क किन्न पाइने छ।
विपद बेला नहुनुभन्दा केही हुनु राम्रो सोचेर मास्क बनाइएको राजु महर्जन बताउँछन्।
'कालोबजारी बढिरहेको छ। बजारमा कतै कुनै किसिमको मास्क भेटिन्न,' उनले भने, 'हामीले आफ्नो तर्फबाट सानो पहल गर्दा ठूलो जोखिम टर्न सक्छ। त्यसैले मास्क उत्पादन गर्ने भएका हौं।'
स्थानीय बजारमा उपलब्ध हुने सुती कपडा मास्क उत्पादनका लागि प्रयोग गरिएको छ। यी मास्क उत्पादकबाट संकलन गरी वडाको समन्वयमा नजिकका औषधि पसल वा अन्य कुनै केन्द्रबाट सर्वसाधारणको पहुँचमा पुर्याइने उनले बताए।
'महानगर आफैंले त बेच्न मिल्दैन। मास्क उत्पादन गर्ने व्यक्तिलाई सहुलियत दिएर बजार व्यवस्थापनमा सहजीकरण गर्न सक्छौं,' उनले भने।
सबै स्थानीय तहले आफ्नो तर्फबाट नागरिकको सुरक्षा प्रयासमा लाग्दा समस्या सुल्झाउन सकिने उनी बताउँछन्।
'ललितपुरले जस्तै सबै स्थानीय तहले आफ्नो तर्फबाट सकेको कोशिश गर्नुपर्छ,' उनले भने, 'स्थानीय कच्चा पदार्थ प्रयोग गरेर स्यानिटाइजर उत्पादन पहल समेत गरिरहेका छौं। धेरै हदसम्म प्रभावकारी बन्न सक्छ।'
साथै जनघनत्व बढी भएको ठाउँमा तुलनात्मक रूपमा धेरै मास्क उत्पादन गरिनेछ। तर यति संख्या उत्पादन गर्ने भन्नेबारे निर्णय भएको छैन।
महानगरले पालिका भवनबाट कोरोना भाइरसबारे विभिन्न किसिमका सूचना पनि प्रवाह गरिरहेको छ। स्थानीय रेडियोमा सतर्कता सूचना प्रसारणका साथै कोरोना शंका लागे उपचार हुने अस्पतालको नाम र ठेगाना भएको पर्चा-पम्प्लेट छपाई स्थानीयलाई वितरण गरिरहेको छ।