तनहुँ दमौलीकी रविया बेगम पढ्न काठमाडौं आएको एक वर्ष भयो। मुश्लिम परिवारमा हुर्किएकी रवियालाई घरबाहिर आएर पढ्नु चुनौतीपूर्ण थियो। उनको परिवार र आफन्तमा कोही पनि युवती पढ्नै भनेर घर छाडेर निस्किएका थिएनन्।
सानैदेखि मेसिन र पाटपूर्जा देखेर रोमाञ्चित हुने रविया इञ्जिनियर बन्न चाहन्थिन्। उडान भरिरहेको सपना पूरा गर्न उनले घरको चौघेरा नाघिन्। राजधानी आएर एड्भान्स इञ्जिनियरिङ कलेज भर्ना भइन्, कम्प्युटर इञ्जिनियरिङमा। त्यसयता उनको जीवनमा रोमाञ्चकता थपिएको थपिएकै छ।
स्कुल पढ्दासम्म कुनै मेसिनसम्म बनाउन नपाएकी २० वर्षीया रविया अहिले साथीसँग मिलेर आफ्नै मिहिनेतले बनाएको रोबोटबाट फुटबल खेल्न सक्ने भएकी छिन्।
जनवरी २४ देखि फ्रेब्रुअरी ५ सम्म 'रोबोटिक्स एसोसिएसन अफ नेपाल'द्वारा आयोजित यन्त्र 'रोबो सकर' प्रतियोगितामा पहिलोपटक महिला टोली सहभागी भयो। एड्भान्स रोबोटिक्स क्लबको महिला टोलीबाट उनले रोबोटमार्फत् फुटबल खेलिन्। टिममा रवियासँगै, श्वेता दास, सौरी घिमिरे र प्राश्ना अधिकारी थिए।
महिलाको छुट्टै टोली बनाउने आइडिया भने प्राज्ञी श्रेष्ठको थियो। एड्भान्स कलेजमै तेश्रो वर्षमा अध्ययनरत पोखराकी प्राज्ञीलाई रोबोटिक्स प्रतिस्पर्धामा महिला सहभागिता कम देखेर मन कुँडिएको थियो। क्लबबाट प्रतियोगितामा जाँदा एक-दुई मात्र महिला हुन्थे। त्यसपछि नै हो उनलाई महिला मात्रको टिम बनाउने इच्छा जागेको। प्राज्ञीकै पहलमा महिला टिम बन्यो।
छानिएका चार जनालाई क्लबका तर्फबाट २० दिन प्रशिक्षण भयो। रोबोटको डिजाइनदेखि प्रोगामिङसम्म विद्यार्थीले सिके। पढेका कुरा व्यावहारिक रूपम गर्न पाउदाँ विद्यार्थी पनि रमाए।
रोबोट बनाउँदा रवियाको जस्तै वीरगञ्जकी श्वेता दासको पनि आत्मविश्वास बढेको छ।
'बट(रोबोट) बनाउँदा कहिले भनेजस्तो मोटर भेटिँदैन थियो। खोज्दा खोज्दा हैरान भइयो,' श्वेता रोबोट बनाउँदाको दुःख सम्झँदै भन्छिन्, 'प्रतिस्पर्धामा हामीबाहेक सबै पुरुष टोली थिए। तर पनि हाम्रो र उनीहरूको खेल र रोबोटमा कुनै भिन्नता थिएन। मौका पायौं भने हामीले पनि केही गर्न सक्छौं जस्तो लाग्यो।'
काठमाडौंकी सौरी घिमिरे पनि प्रतियोगितामा भाग लिन पाउदाँ निकै खुसी छन्। उनी पनि एड्न्भास रोबोटिक्स क्लबबाटै अन्तर्वार्ता र खेलमा छानिएर आएकी हुन्। पढेका कुरा रोबोट बनाउँदा प्रयोग भएपछि पढाइको महत्व बुझ्न थालेकी छिन् उनले।
'ड्रइङ र फिजिक्स किन पाठ्यक्रममा राखेको होला जस्तो लाग्थ्यो। रोबोट बनाउन सुरू गरेपछि सबैथोक काम लाग्न थाल्यो,' सौरी भन्छिन्, 'यो बट बनाउँदा पहिला डिजाइन गरियो। 'मास' कहाँ राख्ने भन्ने कुराले पनि धेरै फरक पार्दो रहेछ।'
प्रतिस्पर्धापछि भने उनलाई अझै राम्रो गर्न सकिने रहेछ भन्ने लागेको छ।
'अहिले हामीले राम्रोसँग रोबोट बनाउन पाएनौं। समय पनि कम थियो। अर्को पटक योभन्दा शक्तिशाली, राम्रो डिजाइन र फिनिसिङ भएको रोबोट बनाउने छौं।'
रोबोट बनाए पनि त्यसैबाट फुटबल खेल्नु कम्ति चुनौतीपूर्ण थिएन। झापाकी प्राश्ना अधिकारी रोबो सकर लिगको पहिलो खेलमै 'किपर बट'मा नै समस्या आएको सम्झन्छिन्।
'एउटा टिममा तीन वटा रोबोट थियो,' प्राश्ना भन्छिन्, 'तर हाम्रो किपर नै चलेन,' प्राश्नाले भनिन्।
पहिलो खेलको हारले उनीहरूलाई 'नर्भस' बनाए पनि पछिका खेलमा भाग लिन छाडेनन्।
उनी सुनाउँछिन्,'पछि सबै आएर हाम्रा लागि हुटिङ गर्न थाले। अनि बल्ल मज्जा भयो,'
प्राश्ना आफूहरूले बनाएको रोबोट पुरुष साथीहरूले बनाएको तुलनामा कमजोर नभएको बताउँछिन्।
'रोबोट कमजोर थिएन। तर अर्को पटक अझै सुधार्छौं,' उनले अठोट लिएकी छिन्।
रोबोटबाट फुटबल खेलेपछि उनीहरूमा ऊर्जा थपिएको छ। आफैं केही गर्न सक्ने सोच बढेको छ।
'अब त आर्टिफिसियल इन्टेलिजेन्समै केही गर्ने इच्छा छ,' उनीहरू भन्छन्।