मार्टिन चौतारीमा गत वर्ष 'फिलोसोफिकल रिडिङ अन फेमिनिजम' कार्यशाला भएको थियो। त्यहाँ सहभागीमध्ये एक मात्र पुरुष थिए बिकिल स्थापित। हरेक सेसनमा उनलाई सहभागी महिला साथीहरूले सोध्थे रे, 'यहाँ तपाईं एक्लो केटा हुनुहुन्छ। यसमा तपाईंको विचार के छ?'
कार्याशाला सक्काएर हरेक दिन घर फर्कँदा बिकिलको दिमागमा फेमिनिजमकै कुरा खेलिरहन्थ्यो। त्यति बेला उनले ती कुरा विद्यालय जाने उमेर समूहका केटाकेटीले बुझ्नुपर्ने महशुस गरे।
नयाँ पुस्ताले नारीवादबारे बेलैमा बुझे यो विषयमा रहेको साँघुरो बुझाइ फराकिलो हुने उनको विश्वास थियो। त्यही सोच कार्यान्वयन गर्न बिकिल केही महिनादेखि एउटा फरक अवधारणासहितको पुस्तकालय स्थापना गर्ने अभियानमा थिए।
'जुनकिरीः द फेमिनिस्ट लाइब्रेरी' स्थापनासँगै उनले नेतृत्व गरेको अभियानले औपचारिक रूप लिएको छ। काठमाडौं, मखनस्थित महादेव प्लाजाको पाँचौं तलामा स्थापना भएको पुस्तकालय हो, जुनकिरीः द फेमिनिस्ट लाइब्रेरी।
लेखक, अभियन्ता, पत्रकार र पाठकहरुको सहभागितामा बिहीबार पुस्तकालय उद्घाटन गरिएको हो। सार्वजनिक क्षेत्रमा सक्रिय पुष्पा बस्नेत, प्रनिका कोयू, आन्विका गिरी, आभा लाल, रुक्साना कपाली र देउराली चाम्लिङ राईले उद्घाटन गरेको पुस्तकालयमा महिलाकेन्द्रित विषयका किताब संकलित छन्।
'जुनकिरी' पुस्तकालय 'भ्वाइसेज अफ वुमन मिडिया'को मातहतमा सञ्चालनमा भएको हो। भ्वाइसेज अफ वुमनको काम तस्बिर र श्रव्यदृश्यमार्फत् द्वन्द्वपीडित तथा विपन्न समुदायका महिला र बालबालिकाका कथा सार्वजनिक गर्नु हो।
'जुनकिरी'ले पनि महिलाका कथा बाहिर ल्याउन नयाँ सार्वजनिक स्थान सिर्जना गर्ने भ्वाइसेज अफ वुमन संस्थामा आबद्ध बिकिल बताउँछन्। संस्थाका लागि सार्वजनिक-सामुदायिक स्कुलका केटाकेटीसँग नजिक रहेर काम गर्ने बिकिलका अनुसार हाल जुनकिरीमा पाँच सय किताब संकलित छन्।
संकलित किताब सबै सहयोगबाट जुटाइएको हो। सरकारले किताबमा लगाएको करका कारण मगाइएका किताब सीमापारि नै अड्किएका बिकिल बताउँछन्।
जुनकिरी पुस्तकालयले केटाकेटी र सर्वसाधारण गरी दुईखाले प्रयोगकर्ता परिकल्पना गरेको छ। स्कुले विद्यार्थी सदस्य बन्न स्कुलसँगै सहकार्य गरिनेछ। बाहिरका पाठकले भने सय रूपैयाँ तिरेर सदस्य बन्न सक्नेछन्।
पुस्तकालय उपयोग गर्न सहज होस् भनेर धेरै नियम बनाइएको छैन। सदस्य बन्न एउटा फारम भर्नुपर्छ। फारमसँगै परिचय पत्रका रुपमा लाइसेन्स वा नागरिकताको फोटोकपी र एउटा फोटो चाहिन्छ। त्यो फोटो सदस्यता-पत्रमै राखिनेछ। बिकिलका अनुसार यो सय रूपैयाँ पनि प्रयोगकर्ताका नाममा बन्ने कार्डकै लागि लिइने हो।
एउटा सदस्यले एक पटकमा एउटा मात्रै किताब लिन पाउनेछ। जारी अवधि १५ दिन हुनेछ र समय थप्न परे सात दिनका निम्ति नवीकरण गर्न पाइनेछ। त्यसपछि पनि किताब चाहिए एक दिनको छाडेर फेरि लिन पाइन्छ।
ढिलो फिर्ता गर्दा पाँच रूपैयाँ जरिवाना भएको जुनकिरीमा किताब च्यातिएको भए त्यसको दोब्बर रकम तिर्नुपर्नेछ। पुस्तकालयमा भविष्यमा अनलाइन पढ्ने व्यवस्था गरिने बिकिल बताउँछन्।
पुस्तकालयले प्राथमिक प्रयोगकर्ता भनेर विद्यार्थीलाई लक्ष्य गरेको छ। यसनिम्ति स्कुल गएर क्लब बनाई किताब पढ्ने, छलफल र वाचनलगायत गतिविधिहरू गर्ने योजना रहेको उनले बताए।
'हामी सातवटा स्कुलसँग काम गरिरहेका छौं, जसमा दुइटा केटीहरू मात्र पढ्ने छन्। तीमध्ये धेरैको आफैं किताब किनेर पढ्न सक्ने आर्थिक अवस्था छैन,' उनले भने, 'स्कुलमा क्लब बनाउँछौं, सदस्यता लिन्छौं। क्लबमा बाहिरका श्रोत-व्यक्ति लगरे किताबसँग सम्बन्धित गतिविधि गर्छौं। विषय फेमिनिजम नै हुनेछ।'
संस्थागत सम्बद्धता र सिकाइ मात्रै नभई दैनिक निजी भोगाइले पनि आफूलाई फेमिनिस्ट बनाएको बिकिल बताउँछन्।
'मेरो आमा, दिदी, श्रीमती र छोरीको दैनिक भोगाइमा लैंगिक विभेदका धेरै कुरा देखेको छु। त्यसमा मैले सकेको हस्तक्षेप गर्नुपर्छ भनेर निरन्तर मेरा काम महिलाका मुद्दासँग जोडिँदै आयो,' उनी भन्छन्, 'तर हामीकहाँ फेमिनिजम विवादित भयो। अन्तर्राष्ट्रिय मानवअधिकार अन्तर्गतका धेरै कुरा फेमिनिस्टले भनेकै कुरा हुन्। महिलावादको जरा मानवतावादसँग जोडेर हेर्नुपर्छ।'
गत नोभेम्बरदेखि तयारी गरेर खोलिएको पुस्तकालय सञ्चालक समूहमा बिकिलबाहेक लाइब्रेरियन मन्जु जिसी र प्रशासनमा अनिता कर्माचार्य छन्। यसबाहेक पुष्पा बस्नेत, देउराली चाम्लिङ, रोजिता बुद्धाचार्यलगायतको 'एम्बेसडर' समूह पनि छ। यो समूहले प्रचारप्रसार, अर्थ र किताब संकलनसम्म सघाउने उनी बताउँछन्।
धेरैमा जिज्ञासा हुनसक्छ, फेमिनिस्ट लाइब्रेरी भनिएकाले जुनकिरीमा पुरुषका किताब पर्छन् कि पर्दैनन्?
'महिलाका बारेमा, महिलाका निम्ति महिलाले नै लेखेका किताब संकलन नै जुनकिरीको मुख्य प्राथमिकता हो,' ३३ वर्षीय बिकिल हाँस्दै भन्छन्, 'मजस्तै फेमिनिस्ट पुरुष भयो भने अवश्य पर्छ।'
बिकिल जुनकिरी पुस्तकालय अवस्थित मखनटोल नजिकै भोटेटोलमा जन्मे–हुर्केका हुन्। आठ कक्षा पढ्दै गर्दा मेट्रो एफएममा काम गरेका उनी आफू पनि कुनै बेला पुस्तकालय धाउँथे।
किताब पढ्नेबाहेक संकलन गरेर राख्नु उनको सोख हो। सिनेमा पनि संकलन गर्न रूचाउने उनी जुनकिरीमा पनि सिनेमा उपलब्ध गराउने सोचमा छन्। किताब होस् या सिनेमा, धेरैभन्दा धेरैले सहज रूपमा त्यसको उपयोग गरून् भन्ने लाग्छ उनलाई।
त्यसैले जुनकिरी प्रयोगकर्ताले यहाँका सामग्री उपयोग गर्न झन्झटिलो प्रक्रियामा अल्झिनु पर्दैन।
'अनावश्यक नियमले मान्छेलाई बाँध्छ। हाम्रो अभियान समाजले थोपरेका बन्धन तोड्नु हो,' बिकिल भन्छन्।
उनी थप्छन्, 'हामीले घरमा सरसफाइमा ध्यान दिएजस्तै जुनकिरीमा पनि फोहोर, हल्ला गर्नुभएन। किताब कोर्न वा च्यात्न भएन।'
जुनकिरीमै बसेर पढ्न चाहने पाठकका लागि चिया र कफी व्यवस्था पनि छ।
काठमाडौंको बाक्लो कोलाहलमा पिलपिल गर्ने जुनकिरी भेटिन मुश्किल भइसक्यो। पुस्तकालयको नामबारे छलफल गरिएको बताउने बिकिल भन्छन्, 'भुँइचालोमा धेरै पुस्तकालय भत्केका छन्। यसको अवस्था पनि जुनकिरीजस्तै नहोस् भनेर यही नाम राखेका हौं।'