जीवनमै पहिलो पटक एक महिनाभन्दा बढी घरबाट टाढा हुँदा समरा जोशीले सबभन्दा बढी छोरालाई 'मिस' गरिन्। २०७३, पुस १ गते छोराको १० औं जन्मदिन थियो। छोराको जन्मदिनमा पहिलो पटक टाढा हुँदा उनलाई केही बिराएझैं ग्लानी भइरह्यो।
'भैरे' सिनेमा छायांकनका लागि मेकअप आर्टिस्टका रूपमा उनी माथिल्लो मुस्ताङ पुगेकी थिइन्।
छोराको जन्मदिनमा मात्रै होइन, छायांकन अवधिभर 'छोराले के सोच्यो होला? कतै मसँग रिसायो कि?' भनेर घरीघरी पिरोलिएकी थिइन्।
चार वर्षअघि म्युजिक भिडिओबाट काम सुरू गरेकी समरा यसअघि एक-दुई दिनभन्दा बढी बाहिर बस्नु परेको थिएन। फिल्म क्षेत्रको अनुभव पहिलो गाँसमै ढुंगा भनेझैं भयो।
निरुत्साहित भएर काठमाडौं फर्केको समय सम्झिँदै भन्छिन्, 'अब फेरि फिल्ममा काम गर्दिनँ, म्युजिक भिडिओ नै ठीक भन्दै फर्केकी थिएँ।'
समराको त्यो सोच लामो समय भने टिकेन। त्यही विचारमा अडिएको भए सायद उनी पछुताउने थिइन्। केही अन्यौल बावजुद निरन्तरता नदिएकी भए 'साइँली', 'कबड्डी कबड्डी कबड्डी', 'गोपी', 'सेन्टी भाइरस' लगायत फिल्मसँग उनको नाम र काम जोडिने थिएन।
काम सिलसिलामा बाहिर हिँडिराख्दा छोरा र आमाबुवालाई समय दिन नपाउने समराको चिन्ता आज पनि उस्तै हो। तर अचेल उनले त्यो चिन्ताको जवाफ भेटिसकेकी छन्।
आमाबुवाकी एकमात्रै सन्तान समराको काँधमा छोराको भविष्य र अभिभावकको स्याहारसुसारको दोहोरो जिम्मेवारी छ।
'परिवारको सुखका लागि मान्छे विदेश जान्छन्। म त केही हप्तामा फर्किहाल्छु भनेर मन बुझाउँछु,' उनी भन्छिन्, 'जे गरिरहेकी छु, सबै बच्चा र परिवारको सुखकै लागि हो।'
आमा, बुबा र छोरा। उनको परिवार भन्नु यत्ति हो। प्रेम विवाह गरेकी उनले सम्बन्ध विच्छेद गरेको केही वर्ष बितिसकेको छ।
१६ वर्षमै बिहे गर्दा समराले भर्खरै एसएलसी सकेकी थिइन्। ०६२ सालको एसएलसीपछिका दुई वर्ष बच्चा हुर्काउनमा खर्चेकी उनी ०६४ सालमा प्लस टु भर्ना भएर पढाइलाई निरन्तरता दिइन्।
डिल्लीबजार कन्या क्याम्पस पढ्ने बेला बागबजारको 'आइटिसी' पार्लरमा ब्युटिसियन तालिम लिएकी थिइन्। त्यही तालिमको जगमा स्नातक पढ्दै गर्दा आफ्नै बसाइँ नजिक पर्ने गरी लाजिम्पाटमा ब्युटी पार्लर खोलिन्।
आम्दानी बढाउनुपर्ने चुनौतीबाहेक नाम राख्ने केही काम गर्नुपर्छ भन्ने सोचले उनलाई सानो पार्लरमै खुम्चिएर बस्न दिएन।
भन्छिन्, 'पार्लर कसरी ठूलो बनाउने र नयाँ काम कसरी सिक्ने भन्नेबारे सधैं सोचिरहन्थेँ।'
जति सोचे पनि के गर्ने, स्पष्ट थिएन। बाटो देखाइदिने पनि कोही थिएन। यसैबीच लाजिम्पाटमा पार्लर चलाइरहेका चन्द्र गुरुङसँग उनले मेकअप कक्षा लिने अवसर पाइन्। चन्द्रकहाँ विज्ञापन र भिडिओमा काम गर्ने कलाकार आइरहन्थे। चन्द्र नै समरालाई पार्लरबाहिरका सम्पर्क जोड्ने माध्यम बने।
स-साना विज्ञापन हुँदै उनलाई म्युजिक भिडिओका लागि मेकअप गर्ने प्रस्ताव आउन थाल्यो।
सानैदेखि नाच्न र फिल्म हेर्न मनपराउने समरामा यो क्षेत्रप्रति आकर्षण त थियो, तर ध्यान कलाकारको फेसन र शृंगारभन्दा अभिनय र नृत्यतिर जान्थ्यो। अझै पनि लाइभ संगीत र क्लबमा साथीहरूसँग नाच्न रमाउने उनी सानोमा आमालाई नाच देखाउन मन पराउँथिन्।
आमाले प्रंशसा गर्दिँदा फुरुंग हुन्थिन्। 'कुछ कुछ होता है' हेरेर फर्केपछि धेरै दिनसम्म उनले काजोलको 'डायलग' बोलेर आमालाई वाक्कै बनाएकी थिइन्।
'तर यही क्षेत्रसँग जोडिन्छु भन्ने सोचेकै थिइनँ,' २९ वर्षीय समराले भनिन्।
सोचेका भन्दा नसोचेका कुरा नै बढी हुन्छन्। चन्द्रसँग तालिम लिएपछि उनका पाइला नसोचेकै दिशा मोडिए।
निकेश खड्काको निर्देशन र प्रियंका कार्की अभिनित गीतका लागि मेकअप आर्टिस्ट बन्ने दिन उनमा उत्साह र डर बराबर थियो। आफूले लगेको शृंगार सामग्री कस्तो लाग्ला? काम कस्तो होला? भन्ने सोच्दासोच्दै उनी लाजिम्पाटबाट मह स्टुडियो, बुढानिलकण्ठ पुगिसकेकी थिइन्।
समरा सम्झिन्छिन्, 'पहिलो काम प्रियंका कार्कीसँग गर्नु चुनौती र अवसर दुवै थियो। अर्को काम नपाइएला कि भनेर पनि तयारी राम्रो गरेकी थिएँ।'
त्यो नृत्य भएको गीत थियो। पसिनाले प्रियंकाको मेकअप नबिगारोस् भनेर उनी 'टिस्यु पेपर' बोकेर दिनभर 'स्ट्यान्ड-बाइ' उभिएकी थिइन्। त्यही बेला उनले थाहा पाइन्- काम कति मुश्किल छ।
यसका बावजुद उनले हार मानिनन्। मिहिनेत बढ्यो। विस्तारै केकी अधिकारी, सुरक्षा पन्त, वर्षा राउत, वर्षा सिवाकोटी, बेनिसा हमाल, रिमा विश्वकर्माजस्ता कलाकारले खेल्ने म्युजिक भिडिओमा समराले काम गर्ने मौका पाउन थालिन्।
कलाकार सिँगार्ने कलाकारको खबर उनका वरिपरिका मान्छेसम्म पुग्ने नै भयो। प्रभाव उनको ब्युटी पार्लरमा पनि पर्यो।
'तपाईं हिरोइनसँग काम गर्ने मेकअप आर्टिस्ट है भन्दै आउने ग्राहक बढ्न थाले,' उनी भन्छिन्।
मान्छेसँग बोल्न र घुलमिल हुन रूचाउने समराको बानीले उनलाई महिला कलाकारसँग बढी नजिक बनायो। कलाकारकै छनौटमा पर्न थालेपछि उनलाई फिल्मबाट प्रस्ताव आउन थाल्यो।
'भैरे' देखि 'माछामाछा' हुँदै सार्वजनिक हुन बाँकी 'जारी' सम्म आइपुग्दा संख्यात्मकभन्दा गुणात्मक काममा जोड दिएको उनी बताउँछिन्। हाल उनी रामबाबु गुरुङको 'सिनेमा आर्ट्स' कम्पनीनजिक रहेर काम गरिरहेकी छन्।
राम्रो समूहमा जोडिएर काम सिक्न पाएकाले उनी रमाएकी छन्।
'कतिले मेकअप आर्टिस्ट भनेको लिपिस्टक, पाउडर दलेर अनुहार राम्रो बनाइदिने काम त हो भन्ठान्छन्। पात्रलाई चरित्रअनुसार ढाल्ने काम हो यो।'
बिरामीलाई बिरामी नै कसरी देखाउने, तन्नेरीलाई बुढी कसरी देखाउनेदेखि घाउचोट कसरी वास्तविक देखाउनेसम्मका काम मेकअप आर्टिस्टले गर्नुपर्ने उनी बताउँछिन्।
यसका लागि छायांकन स्थलमा आवश्वयक पर्ने सामग्री उनले पहिल्यै लिएर हिँडेकी हुन्छिन्। तर स्क्रिप्टमा के छ भन्ने सुरूमै थाहा नहुँदा कहिलेकाहीँ अप्ठ्यारो पर्छ।
'सेन्टी भाइरसमा एउटा पात्रलाई खुकुरीको चोट लागेको पुरानो घाउ देखाउनुपर्ने रहेछ। थाहा थिएन। त्यो बेला दिमागले जे भ्यायो, त्यही गरेर काम चलाइयो,' उनले अनुभव साटिन्।
हालै छायांकन सकिएको उपेन्द्र सुब्बा निर्देशित 'जारी'मा भने सुरूमै कथा सुनाइएकाले काम सजिलो भएको उनको अनुभव छ।
एउटा फिल्म औसतमा ३५ दिनदेखि दुई महिनासम्म छायांकन हुन्छ। समराका अनुसार ३५ दिनको पारिश्रमिक उनले डेढ लाख तोकेकी छन्। अत्यधिक महँगो सामानबाहेक नियमित चाहिने लाली-पाउडरदेखि टिस्यु र 'हेयर एक्स्टेन्सन' आदि त्यही पैसाबाट किन्नुपर्छ।
भिडिओमा एक दिनमै औसत पाँच हजार रूपैयाँ कमाइ भए पनि उनी भन्छिन्, 'फिल्ममा काम गर्नुको सन्तुष्टि अलग छ।'
उनलाई घुम्न असाध्यै मनपर्छ। कामकै सिलसिलामा पूर्व-पश्चिम, हिमाल-तराई पुगेकी छन्। छायांकन स्थलमा साठी-सत्तरी जना लाम लागेर खाना खान्छन्। समूहमा खाने बानी बसेकाले काठमाडौंमा एक्लै खाना नरुच्ने बताउँछिन्।
आफूलाई चञ्चल तर ज्ञानी भन्ने समरा तीन-चार वर्षमै फिल्म क्षेत्रकी प्यारी बनिसकेकी छन्। तर यही क्षेत्रका केहीले उनी र उनीजस्ता पर्दा पछाडि बसेर दिनरात खट्नेलाई कलाकारको दर्जा दिन आनाकानी गर्दा उनलाई बिझाउँछ।
उनी थप्छिन्, 'म छुच्ची छु। मन नपरेको कुरा प्याच्च भन्न सक्छु। तै पनि अझै शब्दको ह्यारेसमेन्ट भोग्नुपर्छ। टेक्निसियन भएकाले हो कि?'
आफ्ना केही साथीले यस्तो कुरा सामना गर्ने झमेला बेहोर्न नसकेरै यो क्षेत्र छाडेका उनी बताउँछिन्।
'अझै पनि महिला र प्राविधिक कलाकारका लागि फिल्म क्षेत्र फ्रेन्ड्ली बनिसकेको छैन।'
'एकल आमा' भन्ने बित्तिकै धेरैले आफूलाई नकारात्मक रूपमा हेर्ने उनको तीतो अनुभव छ।
'ए अनि पो फ्रि भएर हिँडेको रहेछौ' भन्दै नगरकोट-धुलिखेल चिया खान जाम् भन्छन्,' उनी गुनासो पोख्छिन्, 'तर म यहाँ घुम्न आएको हो र? काम गर्न आएको हो नि!'
प्राविधिक कलाकार आफू 'गुमनाम' रहेर पनि फिल्मका हरेक पक्ष राम्रो बनाउन खट्ने समूह हुन्। कलाकार फेरिँदा पनि समरा प्रायः उही प्राविधिक समूहसँग काम गरिरहेकी हुन्छिन्। यो सम्बन्धले उनलाई कसको के कुरामा मन दुखेको छ, भन्न सक्ने बनाएको छ।
उनी भन्छिन्, 'प्राविधिक कलाकारलाई पैसा दिए पुगिहाल्यो भनेजसरी व्यवहार गर्ने पनि छन्। तर उहाँहरूलाई पैसाबाहेक नाम र आत्मसम्मान पनि उत्तिकै खाँचो छ। पर्दा पछाडि खट्ने लाइट, किचन, स्पटका धेरैले सम्मान नपाएको भन्दै चित्त दुखाउनुहुन्छ। नरमाइलो लाग्छ।'
समाजमा शृंगारपटारका कुरालाई महिलासँग जोडेर हेरिने भए पनि फिल्म क्षेत्रमा महिलाभन्दा पुरुष मेकअप आर्टिस्ट बढी छन्। पुरुष बढी भएको समूहमा काम गर्दा आफू पनि धेरै टिकाटिप्पणी सहँदै, हिम्मत बटुलेर यहाँसम्म आइपुगेको समरा बताउँछिन्। अब त उनी मान्छेका कुरा 'एउटा कानबाट सुनेर अर्कोबाट उडाउन' पोख्त भइसकेकी छन्।
सानो उमेरमै उतारचढाव भोगेकी समरा आमाबुवाको साथलाई नै यो क्षेत्रमा संघर्ष गर्ने आँट मान्छिन्।
सुरूसुरूमा उनले 'मैले काम गरेको फिल्म हो यो' भन्दा आमाबुवाले सोध्थे, 'छोरी तिमी खै?'
अचेल छोरीको काम बुझिसकेका उनीहरू भन्न थालेका छन्, 'राम्रो काम गरिछौ।'
एउटा समय थियो, उनका साथीहरू कठैको भावमा भन्थे– सानैमा बिहे गर्यौ, बच्चा पायौ, झन् डिभोर्स पनि गर्यौ। दुःख पाउने भयौ।
अचेल सामाजिक सञ्जालमा 'सेलिब्रेटी'हरूसँगका फोटो देखेर तिनै साथी भन्छन्, 'वेल डन् (राम्रो गर्यौ) समरा!'
सबै तस्बिर सौजन्यः समरा जोशी