प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणपछि उनलाई भेट्न नेकपाका नेता,मन्त्री तथा शुभेच्छुक शिक्षण अस्पतालमा पुगेका छन्।
पार्टीका महासचिव विष्णु पौडेल, संसदीय दलको उपनेता देव गुरुङ, गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, वन तथा भू-संरक्षणमन्त्री शक्तिबहादुर बस्नेत, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायत प्रधानमन्त्रीलाई भेट्न शिक्षण अस्पताल पुगेका थिए।
उनीहरूले डाक्टरहरूसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
सोमबार अस्पताल भर्ना भएका ओलीको बुधबार सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ।
उनलाई समिक्षा संग्रौलाले आफ्नो मिर्गौला प्रदान गरेकी थिइन्। प्रधामन्त्री र संग्रौलाको स्वास्थ्य अवस्था सामान्य रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
चिकित्सकका अनुसार प्रधानमन्त्रीको नयाँ मिर्गौलाले काम गरिरहेको छ।
अब अरू कुनै समस्या नदेखिए भोलि बिहानदेखि उनलाई मुखबाट तरल खानेकुरा दिइनेछ।
‘भोलि बिहान उहाँलाई कालो चिया दिन्छौं। अरू कुनै समस्या देखिएन भने सोमबारसम्म डिस्चार्ज गर्ने योजना छ,’ उपचारमा संलग्न एक चिकित्सकले सेतोपाटीसँग भने,‘अवस्था धेरै राम्रो भयो भने आइतबार पनि डिस्चार्ज गर्न सकिन्छ।’
हेर्नुस् तस्बिर :