गत मंसिर १४ गते ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले कुपन्डोल–पुल्चोक साइकल लेन उद्घाटन गरे। अन्य सवारी साधनसँग साझेदारीमा प्रयोग गर्नुपर्ने उक्त लेन त्यति प्रभावकारी भएन। ठूला सवारी साधनले साइकललाई प्राथमिकता नदिएको अध्ययनमा देखियो।
साइकल यात्रीको सुरक्षा र अधिकार प्रत्याभूत हुनेगरी महानगरले साइकल लेन सम्बन्धी ऐन नै जारी गर्ने निर्णय गर्यो।
साइकल यात्रीको अधिकार सुनिश्चित गर्दै नेपाल साइकल सोसाइटीले ऐनको प्रारम्भिक ढाँचा महानगरलाई बुझाएको थियो। पुसको अन्तिम साता महानगरलाई ऐनको प्रारम्भिक ढाँचा बुझाइएको भए पनि फागुनको अन्तिम सातासम्म ऐन कार्यान्वनमा आउन सकेको छैन।
'पुस अन्तिम साता साइकल सोसाइटीले ललितपुर महानगरलाई ऐनको ढाँचा दिएको हो र माघमा नै पारित गर्ने कुरा पनि थियो,' साइकल अभियन्ता तथा साइकल ऐन निर्माण संयोजक निभेष दुगडले भने, 'सडक, यातायात र ट्राफिक विभागसँग दुई पटक बसेको बैठकले ऐन अघि बढाउन मौखिक सहमति दिएको थियो।'
विभिन्न निकायसँगको सहकार्यबाट ऐन पास हुने भनिएको थियो। तर अहिलेसम्म ट्राफिक विभागले मात्रै लिखित सहकार्य गरेको संयोजक दुगडले बताए।
मौखिक साझेदारी देखाए पनि सम्बन्धित निकायले लिखित सम्झौतामा तत्परता नदेखाएको बताउँदै उनले थपे, 'हामीले सडक, यातायात र ट्राफिकको नियम-कानुन हेरेर, बुझेर नबाझिने हिसाबले ऐनको मस्यौदा तयार गरेका थियौं। तै पनि सजिलै पास हुन सकिरहेको छैन।'
सेतोपाटीसँको पछिल्लो कुराकानीमा मेयर महर्जनले हिउँदे (पुसमा हुनपर्ने) अधिवेशनबाट साइकल लेन पारित गरी माघको पहिलो साताबाटै कार्यान्वयनमा ल्याइने बताएका थिए। तर फागुन अन्तिम हुन लाग्दासम्म ऐनको अत्तोपत्तो छैन।
ललितपुर वडा नं ३ का अध्यक्ष तथा साइकल ऐन विधायन समिति संयोजक श्रीगोपाल महर्जनले अहिलेसम्म ऐनमाथि कुनै कार्यवाही नभएको जानकारी दिए। यतायात विभाग, सडक विभाग र ट्राफिक महाशाखासँग विस्तृत छलफल बैठक नबस्दासम्म केही भन्न नसक्ने उनले बताए।
'भन्नलाई त सजिलो छ, नेपाललाई जापान भने पनि हुन्छ, तर काम गर्न गाह्रो छ,' मेयर महर्जनको माघमा ऐन ल्याउने भनाई स्मरण गराउँदा संयोजक महर्जनले भने, 'व्यवहारमा लागू हुनेगरी ऐन बनाउन पर्छ। आजको आजै कसरी हुन्छ? संसदमा पनि कति कानुन पास हुन सकेको छैन। ऐन-कानुन जस्तो कुरा भन्नासाथ बन्दैन।'
२० गते मंगलबार मात्रै पुनः बैठक बस्ने र ऐनका बारेमा केही बोल्न मिल्ने उनले बताए। उनले थपे, 'भोलि तीनै निकायमा समन्वय भयो भने महानगरपालिकाको बोर्ड बैठकमा पेश गरिने छ। त्यसपछि छिट्टै नगरसभाबाट पास हुनेछ।'
महानगरपालिकाले लगनखेल मंगलबजार, पुल्चोक हुँदै कुपन्डोलसम्म साइकल लेन निर्माण गरिरहेको छ। सोही लेनमा साइकल चलाउन यात्रीका लागि ऐन लागू गर्न लागिएको हो।
साझोदारी साइकल लेन भएकाले लेनमा साइकल चालकलाई प्राथमिकता नदिई अन्य सवारी चलाएको अवस्थामा एक हजार रूपैयाँ र चालकलाई बाधा पुग्ने गरी लेनमा पार्किङ गरे एक हजार पाँच सय रूपैयाँ जरिवाना हुने प्रस्तावित ऐनमा उल्लेख छ। त्यस्तै साइकल चालकले पनि क्षमता (२ जना) भन्दा धेरै यात्रा गर्न नहुने, साइकलमा अगाडि-पछाडि चम्किलो, टल्किने स्टिकर टाँस्नु पर्ने जस्ता नियम पालना गर्नुपर्नेछ।
ललितपुर महानगरपालिका अन्तर्गत करिब ५ किलो मिटर सडकमा साइकल लेन साथै विभिन्न ठाउँमा साइकल स्ट्यान्ड निर्माण भइरहेको छ।
काठमाडौंका सडकमा गाडी र मोटरसाइकलको चाप बढ्दै गएपछि पछिल्ला वर्षमा 'साइकल सहर' बनाउनुपर्ने आवाज उठिरहेको छ।
सहरी विज्ञहरूले पनि काठमाडौंलाई साइकल सहरै बनाउनुपर्नेमा जोड दिइरहेका छन्। विज्ञहरूका अनुसार यहाँको वातावरण साइकलमैत्री छ। भारतको दिल्लीजस्तो गर्मीमा पनि ४० डिग्री तापक्रम पुग्दैन। हदै भए ३०-३५ डिग्री छुन्छ। बर्खामा पनि चार महिनाभन्दा धेरै पानी पर्दैन। जाडो सधैं एकनास छैन। यहाँको मौसमले नै साइकल चलाउन साथ दिएको छ।
त्यस्तै काठमाडौंमा औसत कामकाजी मान्छेले दिनको ५ किलोमिटरभन्दा बढी यात्रा गर्नु नपर्ने अध्ययनले देखाएको छ। सातदोबाटोबाट सिधै महाराजगन्ज गए पनि १० किलोमिटर मात्र हो। सामान्यतया योभन्दा बढी दुरी पार गर्नुपर्ने अवस्था विरलै हुन्छ। यति दुरी साइकलमा यात्रा गर्दा स्वास्थ्यलाई त फाइदा छँदै छ, मानसिक रूपमा पनि ताजा अनुभूति गराउँछ।
यसको आर्थिक कारण पनि छ। यहाँका अधिकांशको गाडी वा मोटरसाइकल किन्ने हैसियत छैन। धेरैले धान्न सक्ने भनेको साइकल नै हो।
यति सम्भावना हुँदाहुँदै काठमाडौंका सडक साइकलमैत्री बनाउन सम्बन्धित निकायहरूले धेरै चासो दिइरहेका छैनन्। सडक गाडीकेन्द्रित छन्। आठ लेन सडक बनाउँदा एउटा साइकल अटाउन चाहिने न्यूनतम १.२ मिटर ठाउँ छाड्न निकायहरू नमानेको अभियन्ताहरू बताउँछन्।
विश्वमा 'साइकल संस्कार' बढ्दै गएका बेला हामीकहाँ भएका पनि हराउँदै गएका छन्।