आज शनिबार फुर्सदिलो हुनुहुन्छ र सारंगीको धून मन पर्छ भने भने 'सारंगी भेला' उपयुक्त गन्तव्य हुन सक्छ। झम्सिखेल, अरुण थापा चोकको 'बेसक्याम्प: आउटडोर लाइफस्टाइल'मा ११ बजेदेखि करिब २ बजेसम्म हुने भेलामा ५० जनाभन्दा बढी सारंगीवादकको जमघट हुँदैछ। 'सारंगी भेला'को यो आठौं संस्करणमा उनीहरूले सारंगी सिकाइका अनुभव र संगीत सुनाउने छन्।
'प्रोजेक्ट सारंगी' ले हरेक तीन महिनामा गर्ने यो भेला सारंगी दुनियाँमा भइरहेका गतिविधि र सारंगीवादकका अनुभव साट्ने ठाउँ हो। प्रोजेक्ट सारंगीमा कक्षा लिइरहेका सिकारूदेखि अनुभवी सारंगीवादक सहभागी हुने भेलालाई अभियान रूपमा अघि बढाइएको किरण नेपाली बताउँछन्।
सारंगी उत्पादन, प्रशिक्षण, सांगीतिक प्रस्तुतिमार्फत् प्रचार र प्रवर्द्धन गरिरहेको प्रोजेक्ट सारंगीका संस्थापक किरण संगीत समूह 'कुटुम्ब' का सदस्य पनि हुन्। 'यो भेला नयाँ पुस्ताका सारंगीवादकको आत्मविश्वास बढाउने थलो हो,' उनी भन्छन्।
उनका अनुसार, दुई-चार जनाका अगाडि राम्ररी बजाउनेदेखि अनुभवी कलाकार पनि ठूलो स्रोतामाझ बजाउँदा आत्तिन सक्छन्। 'नयाँ सारंगीवादक मात्र होइन, पुराना कलाकार पनि आफूभन्दा जान्नेका अगाडि बजाउँदा नर्भस हुन्छन्,' उनी आफ्नै अनुभव साट्छन्, 'ठूला कलाकारको अगाडि बजाउँदा बेलाबेला मै चिप्लिन्छु।'
सारंगी भेलाले त्यो संकोच र डर हटाई एकअर्काबाट प्रेरणा दिन्छ। सारंगी दुनियाँमा के भइरहेको छ भनेर जानकारी र अनुभव साट्दा नयाँ विचार र अवसर पनि सिर्जना हुने उनको भनाइ छ।
प्रोजेक्ट सारंगीमा हालसम्म दुई सयभन्दा बढीले सारंगी सिकिसकेका छन्। अनौपचारिक शैलीमा फरक पृष्ठभूमिका धेरै जना एकै ठाउँ जम्मा हुने भेलाले सारंगीलाई 'कूल' बनाउन सघाएको उनी बताउँछन्।
वर्षभरिमा दसभन्दा बढी यस्तै भेला, प्रस्तुति र प्रशिक्षणमार्फत् सारंगी प्रचार र संरक्षणमा लागिरहेको छ प्रोजेक्ट सारंगी। भेलाबाहेक जमर्को, सारंगी महिना, विद्यालय र क्याम्पसमा सारंगीको प्रशिक्षण र प्रचारजस्ता गतिविधि भइरहेका छन्।
'यी सबै काम सारंगीलाई 'कूल' बनाउने अभियानकै हिस्सा हुन्,' किरणको भनाइ छ, 'अब करले होइन, रहरले सारंगी बजाउने युवा पुस्ता तयार पार्नुछ, जसले सारंगी र नेपाली संगीतलाई विश्व बजारमा पुर्याऊन्।'
हाल सारंगी प्रोजेक्टमा ८ वर्षदेखि ६६ वर्षसम्मकाले सिकिरहेका छन्। लक्षित वर्ग भने युवा समूह नै हो।
'हाम्रो बाजा र संगीतलाई नयाँ पुस्ताले रुचाउने र अपनाउने शैलीमा प्रस्तुत गर्न सकिएको छैन। त्यसैले जेनेरेसन ग्यापको समस्या भोग्नुपरेको छ, पुरानो पुस्ताबाट नयाँ पुस्तामा सरेन,' किरण भन्छन्।
उनको अध्ययनले भन्छ, नेपालमा १ हजार ३ सय २५ थरि बाजा छन्। तीमध्ये निकै कम मात्र एउटा पुस्ताबाट अर्को पुस्ता सरेको छ। पञ्चेबाजा बिहेमा, धिमे पर्व र जात्रामा, टुंगना हिमालमा मात्र छ। हामीलाई धेरै जानकारी नभएका ती बाजा संग्रहालयमा हेर्न जानुपर्छ। ज्याज ब्लुज ठूल्ठूला ठाउँमा सुनिन्छ, सारंगी कहाँ बज्छ?
केही समयअघिसम्म दोहोरीमा साथ दिने र पर्यटकका अगाडि बाटामा बजाएर दुई-चार पैसा कमाउने बाजाका रूपमा खुम्चिएको थियो सारंगी। सधैं उही ढर्रामा 'रेशम फिरिरी' को धूनमै रमाउने सारंगीको अभ्यास पनि उनलाई खड्केको हो।
उनी भन्छन्, 'हामीले त्यही बाटोको सारंगीलाई भव्य लाइट्स, साउन्डसहितको स्टेजमा राखिदियौं। पश्चिमा बाजामा चलाइदियौं, गितारजस्तै देखियो।'
प्रोजेक्ट सारंगीले डबली, रेस्टुरेन्टदेखि सांस्कृतिक मञ्चमा सारंगी प्रस्तुत गर्दै आएको छ। धेरै अन्य बाजासँग सारंगीलाई जोड्दै साँघुरो घेरा तोड्ने प्रयास गर्दैछ।
'सारंगीलाई नयाँपनसहित विश्व बजारमा नलगी यसको भविष्य छैन। आर्थिक रूपमा टिक्न पनि विश्व बजारमा पुर्याउनै पर्छ,' उनले भने, 'चार वर्षदेखि हामी यही भिजनमा लागिपरेका छौं।'
सारंगीलाई समयसापेक्ष र 'कूल' बनाउन उनले यसको परम्परागत वाद्य शैली मोड्दै पश्चिमा संगीत सिद्धान्तसँग जोड्ने प्रयास गरे। यही प्रयासका कारण उनले आलोचना पनि झेलेका छन्। आलोचकको भनाइ छ– किरणले सारंगीलाई 'मोडर्न' बनायो।
किरणको यो प्रयोग र उनको सांगीतिक यात्रा क्रमिक रूपमा हेर्दा स्वाभाविकै लाग्छ।
इतिहासले भन्छ, किरण नेपालीका पुर्खा पृथ्वीनारायण शाहको प्रवेश क्रममै गोरखाबाट काठमाडौं पसेको हो। उनका पूर्वज बराजू, बाजे दरबारमा सारंगी बजाउँथे। कर्खा गाउँथे। उनका बुबा हरिशरण नेपाली ख्यातीप्राप्त सारंगीवादक भए पनि किरणलाई बजाउन प्रेरित गरेनन्।
'सारंगी बजाउँदा जातीय विभेदको पीडा भोगेकाले होला, बुबाले नबजाऊ, राम्ररी पढेर जागिर खाऊ भन्नेमा जोड दिनुभयो,' किरणले सुनाए।
सारंगी नसमाए पनि उनको संगीतमा झुकाव थियो। पुर्ख्यौली परम्परा तोड्दै उनले 'विदेशी बाजा' गितार समाए। कक्षा छ पढ्दै गर्दा गितार बजाउन थालेका उनी यसमा डुबेरै लागे। कुनै बेला 'रुद्र ब्यान्ड' का सदस्य उनले क्लासिकल र फ्युजन संगीत बजाए।
गितार समातेको झन्डै सत्र वर्षपछि उनमा सारंगी मोह जाग्यो। बजाउन थालेको छ महिना नबित्दै सन् २००८ मा कुटुम्बसँग जोडिए। सोझै नभए पनि उनी घुमाउरो बाटोबाट आफ्ना पूर्वज हिँडेकै ठाउँ आइपुगे।
२५ वर्ष नपुग्दै उनले नाम कमाए। सारंगी रेट्दै संसारका धेरै देश घुम्ने अवसर पाए।
किरण प्रस्तुति सिलसिलामा चार वर्षअघि फ्रान्सको कोर्सिका टापू पुगेका थिए। त्यहाँ समुद्रका छाल हेर्दै सारंगी रेटिरहेका बेला उनको मनमा एउटा प्रश्न जन्मियो– सारंगीले मलाई यति धेरै दियो, मैले सारंगीलाई के फिर्ता दिने?
उनले आफैंलाई प्रश्न मात्र गरेनन्, फर्कंदा त्यसको जवाफ पनि बोकेर आए। सारंगी प्रोजेक्ट उनले त्यही जवाफ खोज्ने क्रममा जन्मेको सोच हो।
उनीसँग पश्चिमी र नेपाली दुवै संगीतको ज्ञान थियो। संसारका ठूला संगीत महोत्सवमा सहभागी भएर संगालेको अनुभव र आत्मविश्वास थियो। साथै, अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र नेपाली संगीतको पहिचान शून्य रहेको नमिठो भोगाइ थियो। प्रोजेक्ट सारंगीमा उनी निरन्तर त्यही अनुभव, ज्ञान र भोगाइ खन्याइरहेका छन्।
किरण सारंगी भेलालाई प्रारम्भिक पाइला मान्छन्। यसमा सहभागी भएर बोल्न र बजाउने आत्मविश्वास बटुलेपछि सारंगीवादकलाई लाइभ शो, पप गिग लगायत ठूला कार्यक्रममा सहभागी हुने बाटो खुल्छ।
उनको दाबी छ, 'त्यो बाटो अब पहिलेजस्तो साँघुरो गल्लीजत्रो होइन, फराकिलो लोकमार्ग हुनेछ। जहाँ सारंगीले अपमान नभई सुनिश्चितता र सम्मान पाउनेछ।'
प्रोजेक्ट सारंगीले चार वर्ष अवधिमा समाजमा सकारात्मक छवि बनाएको उनको अनुभव छ। भन्छन्, 'सोसल मिडियामा हाम्रो प्रस्तुति हेरेर सिक्न आएको भन्नेहरू भेट्दा सबभन्दा सन्तुष्टि मिल्छ। सोच्छु, केही त असर परिरहेको छ।'
यो अभियान चलाउन सहज भने नभएको बताउँछन् उनी। ठूलो चुनौती सारंगीको 'स्टान्डर्डाइजेसन' मा थियो। गन्धर्वले बजाउँदै आएको सारंगी बुबाबाजेले बजाएको हेरेरै तिनका सन्ततिले सिक्थे। सिक्ने विधि लिखित थिएन।
'हामीले स्टेप, हात राख्ने तरिका, बसाइ, 'बो' कसरी समात्ने, बोइङ गर्दा हात चलाउने तरिकाजस्ता सबै क्रमैसँग बुझ्नेगरी लिपिबद्ध गर्यौं,' उनले भने।
बजारमा पाइने सारंगीको स्तरबाट उनी सन्तुष्ट थिएनन्। कहाँ किन्नेदेखि 'पोस्ट सर्भिस' को समस्या थियो। लामो दौडधुप र अध्ययन गरेर सारंगी कारखाना खोले, जुन हाल उनकै घर कीर्तिपुरमा छ।
प्रोजेक्ट सारंगीमार्फत् औपचारिक कक्षा सुरू भएपछि सिक्नेहरूले सबभन्दा बढी उनलाई सोधेको प्रश्न यही हो, 'कहाँ बजाउने?'
यही कारण प्रोजेक्ट सारंगीका गतिविधिमा सारंगीवादकका लागि प्ल्याटफर्म र स्टेज तयार पार्ने कुरा केन्द्रमा राखिएको हो। सारंगी भेला त्यस्तै एउटा स्टेज हो। नयाँ पुस्तालाई मौलिक संगीतमा आकर्षित गर्न यस्ता धेरै स्टेज खाँचो भएको उनको भनाइ छ।
'संगीत जीवित अमूर्त सम्पदा हो। सगरमाथा र बुद्धको फोटो मात्र देखाएर नेपाली हुने जमाना गयो,' उनी भन्छन्, 'हामीलाई विश्वमा चिनाउन संगीत जति प्रभावकारी र सजिलो माध्यम अर्को हुन सक्दैन।'
यस्ता सारंगी भेला धेरै भए मासिन लागेका हाम्रा धेरै लोक-परम्परा ब्युँतिने उनी बताउँछन्। यसका लागि नयाँ पुस्ताले अपनाउने भाषा र विश्व बजारमा पुग्ने हिसाबले भने सोच्नुपर्छ।
जति धेरै सारंगी गतिविधि हुन्छन्, उति यसबारे चासो र बढ्छ। सारंगीसँग जोडिएको इतिहास पनि खोजिँदै आउँछ।
आफ्ना प्राय: प्रस्तुतिअघि सारंगी र गन्धर्वबारे जानकारी दिने गरेको बताउने उनी भन्छन्, 'अहिले र्याप लोकप्रिय छ। र्याप स्टोरी टेलिङ भएजस्तै सारंगीसँग गाइने कर्खा पनि स्टोरी टेलिङ नै हो।'
सबै तस्बिर सौजन्यः किरण नेपाली