भुइँचालोपछि जीर्णोद्धार क्रममा रहेको हनुमानढोका दरबार क्षेत्रमा निःशुल्क गाइडसहित पदप्रदर्शन सुरू भएको छ।
हरेक साता सोमबार, बिहीबार र शनिबार दिउँसो २ बजेपछि गाइडले भ्रमण गराउने हनुमानढोका हेरचाह अड्डाकी निर्देशक अरुणा नकर्मीले जानकारी दिइन्।
‘कुन सम्पदा कसले बनायो, किन बनायो भन्ने सामान्य जानकारी हामी सबैले राख्नुपर्छ, तब पो बाहिरी मानिसलाई सजिलै बुझाउन सकिन्छ,’ नकर्मीले भनिन्, ‘स्थानीयलाई नजिकको कला सम्पदाबारे जानकारी दिन निःशुल्क गाइडसहितको भ्रमण कार्यक्रम बनाएका हौं।’
विश्व सम्पदा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र ६० वटा पुरातात्विक स्थल छन्। यहाँ चौधौं शताब्दीमा राजा रत्न मल्लदेखि, महेन्द्र मल्ल, प्रताप मल्ल हुँदै पृथ्वीनारायण शाह, जंगबहादुर राणा र चन्द्रशमसेरका पालासम्म निर्माण भएका भवन र मन्दिर छन्। भ्रमणमा त्यस्ता ऐतिहासिक दरबार लगायत समयक्रमअनुसार परिवर्तन हुँदै आएको नेपाली कलाकौशलबारे जानकारी दिइनेछ।
श्वेत भैरवबाट संग्रहालय जाँदा सुनौलो ढोकाको बायाँतिर गुनापो छ। समयअन्तरालमा गुनापोलाई नै हनुमान भनिएको इतिहास छ। यसैबाट यो दरबारको नाम हनुमानढोका रहेको मानिन्छ।
राजा प्रताप मल्लले बनाएको अग्लो र पारिवारिक मूर्ति भएको ढुंगे स्तम्भबारे भ्रमणमा जानकारी दिइनेछ। उनले आफूलाई प्रतापी सावित गराउन १५ भाषामा खोपेको शिलालेखले भन्न खोजेका कुरा पनि बताइनेछ।
काजी भिमसेन थापाले निर्माण गरेको दरबार संग्रहालय प्रवेशद्वार, छेउमा राखिएको होचो ढोका र पछि पश्चिमी शैलीमा निर्माण गरिएको ठूलो सुनौलो ढोकाबारे पर्यटकलाई जानकारी दिइनेछ। हिरण्यकश्यपलाई मारेको नरसिंह अवतार, नासल चोक र डबलीहरू पनि भ्रमणको रूटमा पर्छन्।
एउटै डबलीका विभिन्न कुनामा फरक-फरक शैलीका मल्लकालीन, राणकालीन, मुगल लगायत मिश्रित वास्तुकला अवलोकन गराइनेछ। यहाँबाट नेपालमा रहेका दुइटा 'बर्तुलाकार' (वृत्तकार) मन्दिरमध्ये एउटा देख्न सकिन्छ।
यति मात्र होइन, भण्डारखाल पर्वमा मारिएका मानिसलाई गाडेको भनिने लाहा चोक, भण्डारखाल बगैंचा र नागपोखरी पनि घुम्न पाइन्छ। बगैंचा र पोखरीमा राजाहरूले तत्कालीन समय पैसा गाडेर लुकाउने गरेको इतिहासमा छ।
जंगबहादुर राणा युरोप भ्रमणमा गएपछि नेपाली कलाशैलीमा विदेशी प्रभाव भित्रियो। उनीपछि चन्द्रशमसेर राणा पनि बेलायत भ्रमणमा जाँदा त्यहाँको वास्तुकला देखेर प्रभावित भए। फर्किएपछि उनले निर्माण गरेका दरबारमध्ये विदेशी पाहुना भेटघाटका लागि मात्र भनेर गद्दी बैठक बनाइएको हो।
२०७२ को भुइँचालोपछि हालै जीर्णोद्धार गरिएको गद्दी बैठक सन् १९०८ मा चन्द्रशमसेरले निर्माण गराएका हुन्। यो बैठक इतिहासमा पहिलोपटक सर्वसाधारणका लागि खुला गरिएको छ। नौतले दरबार लगायत कतिपय स्मारक जीर्णोद्धारकै क्रममा छन्। भ्रमण क्रममा पुनर्निर्माणको अवस्था पनि देख्न सकिने नकर्मीले जानकारी दिइन्।
संग्रहालयसमेत बन्दै गरेको गद्दी बैठक आगामी वैशाखबाट पूर्ण रूपमा खुला हुने हनुमानढोका हेरचाह अड्डाले जनाएको छ।
‘भूकम्पपछि हनुमानढोका दरबार क्षेत्र केही ओझेलमा परेजस्तो भयो। यहाँ धेरै पर्यटक आउँछन्, जान्छन् तर उनीहरूलाई ऐतिहासिक सम्पदाबारे जानकारी नहुन सक्छ,’ निर्देशक नकर्मीले भनिन्, ‘गाइड लिएर घुम्ने नेपालीको बानी छैन, स्थानीय र आन्तरिक पर्यटकको सहजता र जानकारीका लागि यो कार्यक्रम सुरू गरिएको हो।’
यसअघि हनुमानढोका संग्रहालयमा टिकट लिएर पर्यटक आफैं घुम्न जान्थे। आर्थिक स्रोत हुनेहरूले आफ्नै गाइड लग्थे। सबै पर्यटक गाइडको पहुँचमा पुग्न नसक्ने हुँदा हेरचाह अड्डाले नै निःशुल्क गाइड व्यवस्था गरिदिएको नकर्मीले बताइन्।
‘हामी नेपाल भ्रमण वर्षको अभियानमा छौं। घुम्न घुमाउन त परिहाल्यो,' उनले भनिन्, 'पुग्न सकिने आठ स्थानमा भ्रमण गराइरहेका छौं।’