पाटन संग्रहालयभित्र मूलचोकबाट सुन्दरीचोक जाँदै गर्दा कानमा कुनै आवाज ठोक्किन्छ, टाकटाक-टुकटुक। केही खोपेजस्तो, केही ठोकेजस्तो, केही कुँदेजस्तो त्यो एकनासे आवाज पछ्याउँदा एउटा कोठामा पुगिन्छ।
कोठाभित्र ठूलो टिभी चलिरहेको छ। टिभीमा केही मानिस काठको काम गरिरहेका देखिन्छन्। काठमा बुट्टा कुँदिरहेका छन्।
१८ औं शताब्दीमा निर्मित हरिशंकर मन्दिर ०७२ को भुइँचालोमा भत्किएको थियो। त्यही मन्दिर पुनर्निर्माण सिलसिलामा काष्ठकर्मीहरूले काठमा बुट्टा कुँद्दाको आवाजसहित दृश्य टिभीमा देखाइएको हो।
पुनर्निर्माण क्रममा पाटन दरबारभित्र अस्थायी टहरामा काष्ठकलाको काम भइरहेको थियो। यही काम हेर्न पर्यटकको भिड लाग्न थालेपछि दृश्य कैद गरेर पछिसम्म देखाउने योजना बनेको संग्रहालयका क्युरेटर सुनील पाण्डे बताउँछन्।
'कालिगढले काठमा विभिन्न आकृति कुँद्थे, हामी नेपालीले त देखिरहेको कुरा भयो, विदेशी पर्यटकलाई यसले धेरै आकर्षण गरेको देखियो,' क्युरेटर पाण्डेले भने, 'उनीहरू धेरै बेरसम्म उभिएर हेरिरहन्थे। भिडिओ बनाउँथे। काठ कुँदेको टाकटाक-टुकटुक आवाजमा मुग्ध हुन्थे।'
पाटन क्षेत्र घुम्न आएका पर्यटकलाई यो गतिविधिले पनि यति तान्ला भन्ने सोचिएकै थिएन।
'हामीले उनीहरूबाट त्यसको महत्व बुझ्यौं। र, त्यो दृश्य कसरी जीवन्त राख्न सकिन्छ भनेर छलफल गर्यौं। अनि श्रव्यदृश्य कैद गरेर देखाउने निष्कर्षमा पुग्यौं,' उनले भने।
काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्ट र गेर्डा हेकेन फाउन्डेसनको सहयोगमा पाटन दरबार संग्रहालयले यो श्रव्यदृश्य बनाएको हो। यो भिडिओ ७ मिनेट ४५ सेकेन्ड छ।
भिडिओ प्रदर्शन हुने कोठा पर्यटकलाई देखाउन भनेर सफा गरेजस्तो 'कृत्रिम' चिटिक्क छैन। काम गर्दागर्दै छाडेजस्तो देखिन्छ। केही पुराना काष्ठकला, केही नयाँ। भुइँमा काठको धूलो जस्ताको तस्तै। पुरानो रेडियो र काठका काम गर्ने औजार, ज्यावल, छ्याकन पनि असरल्लै। दुरुस्तै सिकर्मी नभएका काष्ठउद्योग जस्तै, अर्गानिक कार्यक्षेत्र।
'कतिपय पर्यटकले यो ठाउँ फोहोर किन राखेको भनेर सोध्नुहुन्छ। तर यो लाइभ अनुभूति गराउन राखिएको हो,' काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टका निर्देशक रोहित रञ्जितले भने, 'पर्यटकलाई पनि बनिसकेको कला हेर्नभन्दा काम गरिरहेको हेर्न मनपर्दो रहेछ। सधैंभरी काठको काम देखाउन सकिन्न। तर त्यस्तै महशुस दिन सक्छौं कि भनेर यस्तो डिजाइन गरियो।'
उनले थपे, 'सफा-चिटिक्क पारेर राख्दा त यो कार्यस्थल जस्तो नै देखिँदैन। बनावटी नदेखाउन काम गर्दागर्दैको स्वरूप दिइएको हो।'
रञ्जितका अनुसार काष्ठकलामा औजार प्रयोग गर्ने तरिका र बनाइने शैलीमा धेरैको जिज्ञासा हुन्छ। विदेशी पर्यटकलाई हामीसँग भएको परम्परागत कला, आकृति र कलाकार देखाउने-चिनाउने अवसर पनि हो।
'यहाँ आउने पर्यटक र हामी काम गर्ने समूह दुवैलाई प्रत्यक्ष हेर्ने र देखाउने अवसर थियो,' रञ्जित भन्छन्, 'उनीहरू आफूले कहिल्यै पनि यस्तो नदेखेको बताएका थिए। बाहिरी मुलुकमा मेसिनले नै सबै काम हुन्छ। नेपालमा जस्तो काठको काम पनि हुँदैन।'
पाटन घुमाउने गाइडहरूसँगको कुराकानीमा आफूले यस्तो दृश्य हेर्न पाउने कल्पना नगरेको पर्यटकहरूले बताएका थिए। मान्छेले हातैले काम गर्ने चलन हट्दै गइसक्यो। हामीकहाँ अझै छ। यसको प्रमाण प्रदर्शन गरिएको भिडिओ नै हो। जसबाट निस्किएको आवाजले नै पर्यटक तानिरहेको छ।
'यस्तो महत्वपूर्ण दृश्य हेर्न पाउँदा निकै खुसी भएका थिए पर्यटक। हामी यहीँकाले पनि जसले हेर्न पाएन, अब छुटिसक्यो,' क्युरेटर पाण्डे भन्छन्, 'त्यही छुटेका दृश्य कैद गरेर भए पनि अहिले देखाउने प्रयास गरिएको हो।'
क्युरेटर पाण्डेका अनुसार पाटन दरबार स्क्वायर काष्ठकलाको अद्वितीय नमूनास्थल हो। भ्रमण वर्ष चलिरहँदा काष्ठकलाको काम भइरहेको यो श्रव्यदृश्य यहाँ आउने पर्यटकका निम्ति नौलो र रमाइलो हुने उनी बताउँछन्।
सबै तस्बिरः समिक्षा अधिकारी/सेतोपाटी